नैऋत्य
रुसी कुलीन समाजमा गरिने अनावश्यक तडकभडक, रवाफिलो जीवनशैली र आर्थिक अवस्था कमजोर भए पनि ऋण काढेर गरिने फजुल खर्चलाई लेखकले देखाएका छन् । कुलीन समाजको यो देखावटीपन टोल्सटायको अर्को अमर कृति ‘अन्ना क्यारिनिना’ मा पनि देखिन्छ ।
सहरमा भए गर–गहनाले भरिभराउ भएर, महँगा लुगा लगाएर हर साँझ र रात भोज भतेरमा जानु, पार्टी दिनु, मद्यपान र मोजमस्ती गर्नु त सामन्तहरूको दैनिकी थियो भनी गाउँमा वा ग्रामीण इलाकामा एक हुल नोकरचाकर, घोडा र शिकारी कुकुरहरूसाथ लगाएर शिकार खेल्नु तिनीहरूको सोख थियो ।
यी भए सामाजिक स्थितिका कुरा । ‘युद्ध र शान्ति’ मा व्यक्ति–व्यक्तिको मनस्थिति केलाइएको छ, उनीहरूको सोच, भावना, विचारलाई राम्रोसँग प्रस्तुत गरिएको छ । पियरे, एन्ड्रयु, नताशा, निकोल्स, मेरी, एन्ड्रयुका पिता प्रिन्स बोल्कोन्स्की, सोन्या, काउन्ट इल्या रोस्टोभ आदिको मनस्थितिलाई राम्ररी व्यक्त गरिएको छ । राम्रो काम गर्ने पियरे, एन्ड्रयुका साथसाथै सधैँ मोजमस्ती गर्ने, जुवा खेल्ने, व्यभिचार गर्ने आनाटोल (Anatole), दोलोखोभ (Dolakhov) जस्ता पात्रहरूको सिर्जना गरेर लेखकले समाजमा रहने विभिन्न चरित्रहरू देखाउन खोजेका छन् ।
के इलम गर्ने भनेर चिन्तित रहेको पियरे आफ्नी श्रीमती हेलेनको अनैतिक कार्यबाट रिसाएर पिटरसवर्गबाट मस्को आउन लाग्दा उसको भेट बाजदिभ (Bazdeev) भन्ने वृद्धसँग हुन्छ । पियरेलाई धर्म, भगवान् र नीतिका कुराहरू गरेर बाजदिभले नै समाजसेवी संस्था (Freemason Society) मा लाग्न प्ररेणा दिन्छ । पियरेको जीवनको एउटा महत्वपूर्ण मोड थियो यो ।
युद्धबन्दीको रूपमा रहँदा भेटेका साधारण किसान सैनिक प्लाटोभ काराटेभ (Platov Karatev) को सङ्गतले गर्दा पियरे जीवनलाई अझ नजिकबाट बुझ्न पुग्छ । अभाव भन्ने चालै नपाएको, आफ्नो कपडासमेत नोकरले लाइदिने वातावरणमा हुर्केको पियरे एकसरो लुगामा र खाली खुट्टा हिउँमा हिँड्दा, अभावग्रस्त बन्दी जीवन जिउँदा र प्लाटोभका कथाहरू सुन्दा जीवनले नयाँ मोड लिएको अनुभूति गर्छ । अशक्त भएर हिँड्न नसकेपछि फ्रान्सेली सेनाद्वारा प्लाटोभ मारिन्छ र रुसी सेनाद्वारा आक्रमण गरी अरू युद्धबन्दीहरू छुट्छन् । बन्दी जीवनबाट मुक्तिपछि पियरे थला पर्छ र बिरामी निको भएपछि उसले आफूमा नयाँ शक्तिको अनुभव गर्छ । राम्रो–नराम्रो छुट्याउन सक्ने, उचित निर्णय गर्नसक्ने खुबीको आफूमा विकास भएको ऊ पाउँछ । यी नयाँ खुबीका कारणले सबैद्वारा आफू रुचाइएको पाउँछ ।
‘युद्ध र शान्ति’ पुस्तकको रुसी भाषाको संस्करण
त्यस्तै सन् १८०७ को अस्टरलिजको लडाइँमा घाइते भएर मुत्युको धेरै नजिक पुगेको एन्ड्रयुले जीवनमा नयाँ बाटो पाउँछ । शङ्कालु र हक्की स्वभावका एन्ड्रयु बाहिर उस्तै देखिए पनि भित्रबाट परिवर्तित भइसकेको हुन्छ । त्यसैले ऊ गाउँमा जान्छ र त्यहाँको दास र खेतालाहरूको हितमा कार्म गर्छ तर अरूलाई ऊ त्यो कार्य आफ्नै फाइदाको लागि गरेको बताउँछ । बोरोडिनोको लडाइँमा फेरि घाइते भएपछि उसमा धेरै परिवर्तन आउँछ । ती कडा प्रिन्स बोल्कोन्स्की नरम एन्ड्रयु बन्छ । मृत्युको केही महिनाअगाडि उसमा एकाएक आएको परिवर्तनले नताशा र मेरी आश्चर्य चकित र भयभित हुन्छन् । एक्कासि व्यवहारमा परिवर्तन घाइते मानिसको लागि मृत्युको सूचक हो भनी डराएका ती दुबैको डर आखिर सत्य हुन्छ र एन्ड्रयुको मृत्यु हुन्छ ।
यी दुई मित्रको जीवनमा परिवर्तनका मोड आएका छन् तर भिन्न रूपमा पियरेमा बन्दी र अभावको जीवन र दुई व्यक्तिहरूको सङ्गतले यो कार्य ग¥यो भने एन्ड्रयुको जीवनमा मृत्युको सान्निध्यले । हरेक मानिसको जीवनमा एउटा परिवर्तनकारी मोड आउँछ भन्ने कुरा त्यहाँ देखाइएको छ ।
यी सबै उपन्यासका गौण विषय हुन् । मुख्य विषय त लडाइँ र यसको असर हो, दर्शन हो ।
युद्धले नेपोलियनको विशाल सेनामात्र सखाप भएन, थुप्रै गाउँ उजाडियो, हजारौँ घरबारविहीन भए, असङ्ख्य सहाराविहीन भए र आधाभन्दा बढी रुसी सेना सिद्धियो । युद्धको विभीषिका तहसनहस भएको मस्को सहर र रुसी परिवारको कथा छ यसमा ।
यो उपन्यासमा युद्धको वर्णन राम्ररी गरिएको छ । लडाइँमा युद्धरत मनस्थिति राम्ररी देखाइएको छ । गैर–सैनिक भएर पनि लडाइँको बिच भागमा पुगेको पियरे आफ्नै सहकर्मीहरू गोली लागी ढल्दै गर्दा पनि विचलित नभई हाँस्दै गोली चलाउँदै गरेका सैनिकहरूदेखि अचम्मित हुन्छ ।
माथिल्लो तहको निर्णयले तल्लो तहका सेनालाई कस्तो असर पार्छ त्यो १८०७ को तिल्सितको सन्धिबाट देखाइएको छ । थुप्रै साथीहरूको मृत्यु देखेको र नेपोलियनलाई शत्रु मानेका तल्लो तहको रुसी सैनिकहरू जब आफ्नो भगवान् जार अलेक्जेन्डर र नेपोलियन हात मिलाएर एकै ठाउँमा खाना खाँदै गरेको देख्छन् तब मनभित्र कता–कता असन्तुष्टि बढेको चाल पाएर पनि अर्को मनले ‘राजा भनेको ईश्वर हो र ईश्वर अच्युत हुन्छ’ भनी त्यो असन्तोष दबाउँछन् ।
इतिहासकार र कलाकारमा के फरक छ भन्ने विषयको पनि यसमा छलफल छ । “इतिहासकारको वर्णनमा नायकहरू हुन्छन् तर कलाकारको वर्णनमा कुनै नायक होइन, मात्र मानव हुनुपर्छ”– इतिहासकार र कलाकारको मुख्य भेद यसरी गरेका छन् टोल्स्टोयले ।
उनले १८१२ को रुसी अभियानको वर्णन अरू इतिहासकारहरूले भन्दा फरक ढङ्गले गरेका छन् । कुनै पनि ठूलो कदम, जसमा लाखौँ मान्छेहरू सहभागी हुन्छन् त्यो एकजना मान्छेको इच्छा वा सनकमा भर पर्दैन भन्ने लेखक १८१२ को रुसी अभियान नेपोलियनकी महत्वाकाङ्क्षा, अलेज्कोन्डर जारको हठको कारणबाट मात्रै भएको नभई त्यसो हुनुमा सयौँ, हजारौँ अरू कारण हुनसक्नेमा विश्वास गर्छन् ।
इतिहासमा हामी पढ्छौँ, मस्को छाड्दा रुसीहरूले मस्कोमा आगो लगाएका थिए । तर टोल्स्टोय यो मान्न तयार छैनन् । स्मोलेन्स्क (Smolensk) मा रुसीहरू आफँैले आगो लगाएर पनि ‘मस्को आमा’ वा ‘पवित्र भूमि’ मा रुसीहरू आगो लगाउन सक्दैनथे । मस्कोमा आगो लगाउनेहरू फ्रान्सेलीहरू थिए । उच्च वर्गका परिवारले छोडेर गएका महलहरूमा कब्जा जमाई बेफ्रिकीसँग बस्दा कुनै एक ठाउँबाट सुरु भएको आगो काठले बनेको मस्को सहरलाई धुवाँ र खरानी बनाउन पर्याप्त थियो ।
त्यस्तै लडाइँमा एक व्यक्तिको (सेनाध्यक्षको) बुद्धि वा विवेकले सम्पूर्ण काम गर्दैन भन्ने लेखक मान्छन् । लडाइँको क्षेत्रबाट टाढा बसेका सेनाध्यक्ष कहाँँसम्म लडाइँको हालखबर आइपुग्दा त्यो परिवर्तन भइसक्छ वा त्यो स्थानको हाल अर्कै भइसक्छ । सेनापतिद्वारा त्यो समय दिइएका आदेशहरू पालना हुँदैनन् या धेरै कम हुन्छन् । लडाइँमा जीत–हारको कुरा सेनाको सङ्ख्या, हातहतियारको मात्रामा मात्र निर्भर गर्दैन, त्यसमा भाग लिने सैनिकहरूको मनस्थिति मुख्य हुन्छ । लडाइँ के उद्देश्यका लागि गरिँदै छ – त्यो सेनाले बुझ्न आवश्यक छ । सेनाको मनोबल उच्च भएर नै रुसी सेनाले आफूभन्दा निकै ठूलो फ्रान्सेली सेनालाई बोरोडिनोमा परास्त गर्न सक्यो । मस्को पुग्नुअगाडि फ्रान्सेली सेनालाई मस्कोको लोभ देखाइएको थियो । त्यसैले, उनीहरू मस्कोसम्म आइपुगे । त्यहाँ पुगेपछि फ्रान्सेली सेना, सेना रहेन, हुल बन्यो । सेनाको रूपमा बसेको भए फ्रान्सेली सेनालाई जाडो महिनाभरिलाई रासन लत्ताकपडा पुग्दथ्यो, तर मस्को पुग्नेबित्तिकै लुटपाट, आगजनी, मद्यपान र जुवा खेली मोजमस्ती गरेको फ्रान्सेली सेना आफ्नै अन्त्य निम्त्याउँदै थियो । रुस छोडी भाग्दा पनि लुटेका सामान लिएरै भागेको फ्रान्सेली सेना आश्चर्यजनक गतिमा पछाडि हट्यो । त्यति छिटो गतिले गर्दा सारा फ्रान्सेली सेनामात्र होइन, त्यसलाई पछ्याउँदै गरेको आधार रुसी सेना पनि सखाप भयो ।
मालो–यारोस्ला भेट्स (Malo–Yaroslavets) मा रुसी घोडचढी सेनाको एक टुकडीले फ्रान्सेली सेनाको एक भागमाथि आक्रमण ग¥यो । त्यो सेनाको भागमा नेपोलियन पनि थियो । आक्रमण भएपछि फ्रान्सेली सेना सारा हातहतियार र सामान छोडी भाग्दा उनीहरूलाई पछ्याएको भए नेपोलियन पक्राउ प¥थ्र्यो तर घोडचढी रुसीहरू फ्रान्सेलीहरूले छोडेको लुटेको सामान बटुल्नमै व्यस्त भयो र नेपोलियन फुत्क्यो । सैनिकको लोभ र सानो गल्तीले ठूलो काम बिग्रन सक्छ भनी लेखकले भन्न खोजेका छन् ।
१८०५ को अस्टरलिजको लडाइँमा रुसी सेनाका अधिकारीहरूबिचको मतान्तरले गर्दा रुसी पक्षले हार मान्नु परेको थियो । त्यस्तै सन् १८१२ मा सैनिक कमान्डरहरूबिचको मनमुटाबले गर्दा रुसी सेना लडाइँबिना नै पछि सर्नु परेको टोल्सटोय लेख्छन् ।
सेनाभित्र पदको लागि हुने होड र लोभ उपन्यासमा चित्रित छ । आफ्नो पदोन्नतिको लागि आफ्नै सेनाको अरू अधिकारीहरूको खुट्टा तान्न र जानाजान लडाइँ हार्न पनि पछि नपर्ने सैनिक अधिकृतको उल्लेख छ ।
कुनै एउटा सैनिक अधिकारीको युद्धको योजना सफल भएमा उसको पदोन्नति हुने भएकोले सो योजनाअनुसार कार्य नगरी त्यो योजना विफल पारिएका घटनाहरू उपन्यासमा पाइन्छ ।
बीसौँ वर्ष युद्धमा बिताइसकेको रुसी सेनाध्यक्ष कुटुजोभ (Kutujov) आफूले दिएका आदेशहरू युद्धका बेला ठीकसँग पालना हुँदैन भनेर थाहा पाएर नै ‘यसो गर्नु’ भनी आदेश दिँदैनथ्यो । आफ्ना अन्तर्गतका कमान्डरहरूले ‘यसो गरे’ भनी खबर गर्दा उनी त्यसमा सहमति जनाउँथे । रुसी सेनाले फ्रान्सेली सेनालाई मस्कोमा फसाउँछु भनेर सोचेको थिएन बरु फ्रान्सेली सेना आफँै फसेको थियो भन्ने टोल्सटोय इतिहासमा लेखिएझैँ त्यसलाई रुसी सेनाको चाल मान्दैनन् । इतिहासकारहरूले नेपोलियनलाई प्रतिभा सम्पन्न (Genius) माने पनि टोल्सटोय उसलाई साधारण मान्छेभन्दा बढ्ता मान्दैनन् ।
१९ औँ शताब्दीमा फ्रान्सको प्रभाव धेरै मात्रामा रुसमा परेको देखिन्छ । रुसीहरू अरू युरोपियन देशहरूभन्दा फ्रान्सलाई नजिक मान्थे । सामन्ती परिवारमा फ्रान्सेली भाषा बोलिन्थ्यो, फ्रान्सेली साहित्य अध्ययन गरिन्थ्यो, फ्रान्सेली दार्शनिकहरूको दर्शनबारे विचार–विमर्श गरिन्थ्यो र फ्रान्सेली पाहुनाहरूको राम्रो स्वागत–सत्कार हुन्थ्यो । कुलीन वर्गका कति रुसीहरू त रुसी भाषा पटक्कै जान्दैनथे ।
नेपोलियनले जर्मनी (प्रसिया) माथि आक्रमण गर्दा बिनाप्रतिरोध प्रसियाले आत्मसमर्पण गरेपछि एकजना रुसी सैनिक अधिकृत टिप्पणी गर्छन्, “जर्मनी भनेको देश हार्नलाई स्थापना भएको हो । कसैले साम्राज्य बढाउन चाह्यो भने पहिले जर्मनीमाथि जमाउनुपर्छ ।”
उपन्यासभरि हामी टोल्सटोयका मौलिक दर्शन पाउँछौँ । कुनै घटना घट्न एउटा कारण नभई थुप्रै कारणहरू हुनसक्छ तर हामी प्रायः एक कारणमात्र मान्छौँ । इतिहासलाई टोल्सटोय तीन भागमा बाँड्छन् :
१) सबै घटनाको कारण ‘भगवान्’ को इच्छा मान्नेहरू
२) कुनै एक मानिसको इच्छालाई सो कारण मान्नेहरू
३) संस्कृति, साहित्य र रहन–सहनलाई कारण मान्नेहरू । टोल्सटोय यी तीनैलाई गलत देखाउँछन् ।
“कुनै घटना घट्नुको पछाडि त्यस अघिका धेरै कारणहरू हुन्छन् । इतिहासमा हामी व्यक्ति विशेष वा घटना विशेष पढ्छौँ । जुन तथ्य कुरो थाहा पाउन पर्याप्त हुँदैन । इतिहासलाई भाग–भाग गरी व्याख्या गरिनु हुँदैन ।” यो कुरा यो उपन्यासमा धेरै ठाउँमा उल्लेख छ ।
मानिसको स्वतन्त्रता र बाध्यतालाई पनि आफ्नै ढङ्गले व्याख्या गरेका छन् लेखकले । कुनै मान्छेको हत्या गर्नु अपराध हो, त्यो हत्या गर्ने मानिसको स्वतन्त्रता हो, तर यदि त्यो हत्या लडाइँमा गरिन्छ वा आफ्नो ज्यान जोगाउन गरिन्छ भने त्यो बाध्यता हो । त्यस्तै कुनै पनि कार्य स्वतन्त्रताको नाममा गरिएको हो वा बाध्यतावश गरिएको हो, यो जान्न त्यो कार्य हुँदाको परिस्थिति, त्यो कार्य गर्ने मानिसको मनस्थिति र विगत बुझन् आवश्यक पर्ने मत टोल्सटोयको छ ।
१२ औँ शताब्दीको पूर्वाद्धाको रुस, आफ्नो पात्रहरूको विचार, मनस्थिति र रुसले सो समयमा भाग लिएको युद्धको कलात्मक वर्णन ‘युद्ध र शान्ति’ लाई टोल्सटोयका मौलिक विचार र कुनै पनि स्थान र समारोहको विस्तृत वर्णनले अझ उत्कृष्ट बनाएको छ ।
१००० पृष्ठको यो पुस्तकको जस्तोसुकै सांराशले पनि यसमाथि न्याय गर्न सक्दैन । एक पटक पढिसकेपछि पाठकमा यसको छाप सधैँ रहिरहन्छ ।
– समाप्त
अनलाइन मजदुरबाट