नैऋत्य
“के हो ‘युद्ध र शान्ति’ ? यो उपन्यास होइन, न कुनै कविता हो, न त यो ऐतिहासिक घटनाक्रम नै हो । ‘युद्ध र शान्ति’ लेखकले व्यक्त गर्न चाहेको र व्यक्त गरेको अभिव्यक्तिको स्वरूप हो ।”
आफ्नो अमर कृति ‘युद्ध र शान्ति’ (War and Peace) को प्रकाशनपश्चात् सन् १८६८ मा रुसी साहित्यकार लियो टोल्सटाय (Leo Tolstoy) ले यस पुस्तकका बारे यसरी लेखेका छन् : सन् १८१२ मा फ्रान्सेली सम्राट नेपोलियनले रुसमाथि गरेको आक्रमणको कथा हो – ‘युद्ध र शान्ति’ । टोल्सटायकै शब्दमा यो कृतिमा उनले ‘जीवनका उत्कृष्ट अवस्थाका पाँच वर्ष असाधारण र ‘अविश्रान्त श्रम’ खर्चेका छन् । निकै गहिरो अध्ययनपश्चात् लेखिएको यो उपन्यास टोल्सटायको उत्कृष्ट कृतिमध्ये एक हो । यसमा सन् १८०५ देखि सन् १८२० सम्मका घटनाक्रमहरूलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको छ । सन् १८०५ मा अस्ट्रियामा भएको फ्रान्स–रुस युद्ध, १८०७ को युद्ध र सन् १८१२ को युद्ध उक्त उपन्यासमा उल्लेख छ । युद्धले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा यसका पात्रहरूमार्फत दर्शाउन खोजिएको छ । ५ सत्न्दा बढी पात्रहरू भए पनि कथा यी तीन मुख्य पात्रहरूको वरिपरि घुमेको छ : घमण्डी र शङ्कालु प्रिन्स (राजा–रजौटालाई दिइने पदवी) एन्ड्रयू बोल्कोन्स्की (Prince Andrew Bolkonski) सोझी र निर्दाेष नताशा रोस्टोभा (Natasha Rostova) र काउन्ट (रजौटालाई दिइने पदवी) बिजुखोभ (Natasha Rostova) का मठ्याहा छोरा चिन्तनशील पियरे बिजुखोभ (Pierre Bezukhov) ।
कथा अघि बढ्दै जाँदा यी पात्रहरू आफ्नो युवा अवस्थाबाट परिपक्व भएको र यिनीहरूको व्यवहारमा आएको परिवर्तन देख्न सकिन्छ ।
यो उपन्यासमा १९ औँ शताब्दीको सुरुवातमा रुसी कुलीन र सामन्तवर्गको रहन–सहन झल्कन्छ । अभिजातवर्गको ठाँटबाट, सहर र गाउँमा हुने फरक जीवनशैली र मालिक तथा दास–दासबिचको सम्बन्ध सँगसँगै मोटा–मोटीरूपमा तत्कालीन रुसी समाजको चित्रण यस उपन्यासमा पाइन्छ । उपन्यासको आधा भाग युद्धको वर्णन भए पनि बाँकी भागमा युद्धले सैनिक र गैर–सैनिकको परिवार, उसको नातागोता वा अरु सम्बन्धहरूलाई पार्ने असरको बारेमा टोल्सटायले राम्ररी वर्णन गरेका छन् । आफैँ एक सैनिक भएकोले लडाइँमा हुँदा सैनिकको मनस्थिति र सम्पूर्ण सेनाको स्थितिको बारेमा वर्णन गर्न यिनी सफल भएका छन् । १८१२ को लडाइँभन्दा १६ वर्षपछि जन्मेका टोल्सटायले यी लडाइँहरूको वर्णन यसरी गरेका छन् । मानौँ, उनी आफैँ ती लडाइँमा थिए । त्यो लडाइँमा एकजना टोल्सटाय भए पनि ती लियो टोल्सटायका पिता काउन्ट निकोलाइ इल्यिच टोल्सटाय थियो ।
सन् १८०५ मा मस्कोमा भएको एउटा पार्टी वा जमघटबाट उपन्यासको सुरुवात हुन्छ । त्यहाँ नेपोलियनद्वारा स्वयम् सम्राट भएको घोषणाको बारेमा छलफल हुन्छ । त्यहाँ र त्यसपछि एन्ड्रयू, नताशा र पियरेको उल्लेख सँगसँगै उनीहरूको आफन्त, साथीभाइ र सम्बन्धितहरूको कथामा प्रवेश हुन्छ । एन्ड्रयू सेनाको अधिकारीगण (General Staff) मा कार्यरत हुन्छ र उसको मित्र पियरे केही समयअघि विदेशबाट पढाइ सिध्याएर आएको हुन्छ । त्यही भएर मस्को र पिटसबर्ग (Petersburg) को कुलीन समाजमा कसरी व्यवहार गर्नुपर्छ भनी ऊ अनभिज्ञ हुन्छ ।
सन् १८०५ मा फ्रान्सले अस्ट्रियामाथि आक्रमण गरेकोले अस्ट्रियालाई सहयोग गर्न रुसी सेना त्यसतर्फ पठाइन्छ । एन्ड्रयू आफ्नी गर्भवती पत्नीलाई गाउँको महलमा आफ्नो बुबा प्रिन्स निकोलस बोल्कोन्स्की र बहिनी मेरी बोल्कोन्स्काया (Mary Bolkonskaya) को रेखदेखमा छोडेर लडाइँमा जान्छ । एन्ड्रयू अस्टरलिज (Austerlitz) को लडाइँमा नराम्ररी घाइते हुन्छ । उसलाई फ्रान्सेली सैनिकहरूले उठाएर लैजान्छ र यता रुसमा उसको मृत्युको खबर पुग्छ । यो खबर उसकी श्रीमतीलाई दिइएको हुँदैन । गम्भीर घाइते भएको एन्ड्रयूलाई फ्रान्सेली सेनाले स्थानीय गाउँलेहरूकहाँ छोड्छ र ऊ त्यहाँबाट तङ्ग्रिएर घर आइपुग्छ । ऊ घर आइपुगेकै समयमा उसकी श्रीमती प्रसव वेदनाले छटपटिँदै हुन्छिन् र एन्ड्रयूको आगमनसँगै एउटा छोरालाई जन्म दिएर उसकी श्रीमतीले मृत्युवरण गर्छिन् ।
अस्टरलिजको हार र श्रीमतीको मृत्युले एन्ड्रयू सहर र रमझम छोडेर ग्रामीण इलाका बोगुचारोभो (Bogucharovo) मा कामतमा जान्छ ।
यता पियरेका बाबु काउन्ट बिजुखोभको मृत्यु अगाडि जारलाई निवेदन दिएर पियरेलाई आफ्नो कानुनी उत्तराधिकारी बनाउँछ र बिजुखोभको मृत्युपश्चात् पियरे उसको पिताको अथाह सम्पत्तिको मालिक हुन्छ र ‘काउन्ट पिटर किर्लाेभिच बिजुखोभ’ (Count Peter Kirlovich Bezukhov) को आधिकारिक नाम पाउँछ । ऊ समाजसेवी संस्था (Free Mason’s Society) सँग आबद्ध हुन्छ र आफ्नो गच्छेले भ्याएसम्म समाजसेवामा लाग्छ ।
‘युद्ध र शान्ति’ पुस्तकको रुसी भाषाको संस्करण
खेती गरेर बसेको एन्ड्रयू १८०७ को युद्धमा पनि भाग लिँदैन । ऊ आफ्नो जमिनदारीमा रहेको दास–दासीहरूको हितमा काम गर्न थाल्छ । ती क्षेत्रबाट दासप्रथा उन्मूलन गरेर उनीहरूलाई काम गरेबापत ज्याला दिन थाल्छ, ती खेतालाहरूका छोराछोरीलाई पढाउने बन्दोबस्त गर्छ । यी कार्यहरू पियरे आफ्नो क्षेत्रमा गर्न चाहन्थ्यो तर व्यवहारिक ज्ञानको कमीका कारण आफ्नो क्षेत्रमा सो कार्य गर्न ऊ सफल हुँदैन ।
केही वर्ष गाउँमा बिताएपश्चात् एन्ड्रयू आफूले तयार पारेको सैनिक नियमसम्बन्धी कार्यपत्र प्रशासकहरूलाई बुझाउन राजधानी पिटसबर्ग आउँछ । त्यहाँ उसको भेट एक किशोरी नताशा टोस्टोभासँग हुन्छ र ती दुवै एक अर्कालाई मन पराउँछन् । तर, एन्ड्रयूको पिता यो सम्बन्धबाट खुसी हुँदैन, त्यसैले एन्ड्रयू विवाहको कुरा एक वर्षसम्मका लागि थाती राखी विदेशमा उपचार गर्न जान्छ । यता यो एक वर्षमा नताशा अर्कै एक हुल्याहा र बिग्रेको केटा आनाटोल (Anatole) को सङ्गतमा फस्छे र ती दुई भाग्न खोज्दा–खोज्दै समातिन्छन् । यो अनैतिक काम गर्न लागेको कारणले सबैतिरबाट आलोचित बन्न पुगेकी नताशा बिरामी पर्छिन् । विवाहको सम्झौता टुङ्गिएको भनी एन्ड्रयूलाई चिट्ठी उनले पठाइसकेकीले ती दुईको विवाहको सम्भावना टुङ्गिन्छ । यसैबिच १८१२ मा नेपोलियनले रुससँगको सन्धि तोडेर रुसमाथि आक्रमण गर्छ र एन्ड्रयू युद्धमा जान्छ ।
युद्धमा सैनिक अधिकारीहरूको मतभेदले रुसी सेना निरन्तर पछि हट्दै जान्छ र बोरोडिनो (Borodino) को लडाइँमा एन्ड्रयू नराम्ररी घाइते हुनपुग्छ । बोरोडिनोमा वीरतापूर्वक लडे पनि रुसी सेना आफूभन्दा ठूलो फ्रान्सेली सेनालाई मस्को पस्न रोक्न सक्दैन ।
मस्कोको कुलीन र मध्यम वर्गीय परिवारहरू सबै बोक्न सक्ने जति सामान लिएर सहर छोड्दै हुन्छन् । घाइते भएको एन्ड्रयूलाई सुरक्षित स्थलमा लैजाँदा रोस्टोभ (नताशाको परिवार) हरूको गाडाको लस्करमै राखी लगिन्छ । बिच ठाउँमा बास बस्दा नताशा र एन्ड्रयूको भेट हुन्छ र नताशा एन्ड्रयूको सेवा–टहल गर्न थाल्छे । तर, कोखामा तोपको गोला उछिट्टिएर लागी घाइते भएको एन्ड्रयूको मृत्यु हुन्छ ।
एन्ड्रयू घाइते भएको खबर सुनेर आएकी मेरी (एन्ड्रयूकी बहिनी) र नताशाको मित्रता गाँसिन्छ । नताशाको दाजु निकोलस रोस्टोभ (Nicholas Rostov) सँग मेरीको विवाहको कुरा चल्छ ।
फ्रान्सेली सेना मस्को पस्दा मस्कोमै रहेको पियरेलाई फ्रान्सेली सेनाले बन्दी बनाउँछ । ती बन्दी रहेका दिनहरूबाट पियरेले धेरै कुरा सिक्छ र उसको जीवनमा ती दिनहरूले ठूलो परिवर्तन ल्याउँछ ।
तारुटिनो (Tarutino) को लडाइँमा हारेपछि फ्रान्सेली सेनाको पछि हट्ने पालो आउँछ । फ्रान्सेली सेनालाई पछ्याउँदै आएको रुसी सेना र बाटोमा बिच–बिचमा आक्रमण गर्ने गुरिल्ला रुसी सेनाको मारमा परेर फ्रान्सेली सेना सखाप हुन्छ ।
युद्धको अन्तसँगै निकोलस सेनाबाट अवकाश लिन्छ र मेरीसँग विवाह गरेपछि कामतमा जान्छ ।
पियरे भित्रभित्रै नताशालाई मन पराउँथ्यो र एन्ड्रयूको मृत्युपछि एक्ली जस्ती भएकी नताशासँग उसको विवाह हुन्छ । यी दुई दम्पतीको आपसी सम्बन्ध, उनीहरूको दाम्पत्य जीवन र फुपूसँग बसेको एन्ड्रयूको छोरा निकालस बोल्कोन्स्कीको भविष्यमा महान् व्यक्ति बन्ने प्रतिबद्धतासहित कथा टुङ्ग्याइएको छ ।
यो मुख्य कथामा थुप्रै उपकथाहरू जोडिएका छन् । पियरेको पहिलो विवाहको असफलता, नताशाका पिता काउन्ट इल्या रोस्तोभ (Count Ilya Rostov) को खस्कँदो आर्थिक अवस्था, निकालेस, नताशा, उनीहरूको दौतरी र आफन्त (Cousins) बोरिस (Cousins) र सोन्या (Sonya) बिचको सम्बन्ध आदि उपकथाहरू रहेका छन् ।
‘युद्ध र शान्ति’ उपन्यासमा तत्कालीन रुसी समाजमा रहेका विभिन्न चरित्रहरूलाई उतार्न खोजिएको छ । मठ्याहा सन्तान भनेर सबैद्वारा टेढो आँखोले हेरिएको पियरे आफ्नो पिताको अथाह सम्पत्तिको मालिक भएपछि सबैको आँखामा सम्मान गर्न लायक बन्छ । पीठ्यू पछाडि उसको भुलक्कड बानीलाई खिसी गर्नेहरू उसको अगाडि उसकै तारिफ गर्ने र आफ्नो दुनो सोझ्याउने काम गर्छन् । यसरी ‘छन् गेडी सबै मेरी….’ भन्ने उखान चरितार्थ भएको देखिन्छ ।
पियरे समाजसेवी संस्थामा आबद्ध हुँदा उसले धेरै आफूजस्तै सम्पन्न कुलीन मानिसहरू सो संस्थामा आबद्ध भएको पाइन्छ । पियरे गरिबहरूको सहयोग गर्न सधैँ तत्पर रहन्छ । तर, संस्थामा रहेका कति धनीहरू संस्थालाई चन्दा दिन नै हिच्किचाउँछन्, भनौँ लोभ गर्छन् । समाजसेवी संस्थामा लागे पनि सहयोग गर्न लोभ गर्ने धनीहरूको कञ्जुस चरित्रलाई टोल्सटायले देखाएका छन् ।
रूप र सम्पत्ति नै बुद्धि मान्ने मूर्खहरूको समूहको पनि उपन्यासमा उल्लेख छ । पियरेको पत्नी हेलेन (Helen) सुन्दरी हुन्छे । धनी मानिसकी पत्नी र सुन्दरी भएकीले ऊ घमण्डी हुन्छे । विभिन्न भोज र पार्टीको नाउँमा ऊ ठूल्ठूला मानिससँग सम्बन्ध बढाउँथी । आफ्नो पतिलाई वास्ता नगर्ने हेलेन सधैँ मोजमस्तीमै डुबिरहन्थी । ऊ मूर्ख थिई र सभाहरूमा उट्पट्याङ र बेतुकका कुरा गर्थी । तर, उसको वरिपरि रहनेहरू, उसलाई चाहनेहरू, उसको पैसामा रमाउनेहरू उसलाई बुद्धिमान ठान्थे र उसका कुराहरू चतुराइँपूर्ण मान्थे ।
पियरेले नताशालाई मन पराए पनि विवाहित भएकोले भन्ने आँट गर्नसकेको थिएन । यता दुई प्रेमीहरूको बिच द्विविधामा परी औषधिको बढी मात्रा खाई हेलेनको मृत्यु भएपछि पियरेले आफ्नो असफल वैवाहिक जीवन टुङ्गिएको पायो । पियरे हेलेनलाई प्रेम गर्दैनथ्यो । तर, हेलेनको पिता प्रिन्स भासिलि (Prince Vasili) ले आफ्नी विलासी र मूर्ख छोरीको बिहे धनी पियरेसँग गराउँछ र पियरे यो सम्बन्धलाई अस्वीकार गर्नसक्दैन । तर, उसको वैवाहिक जीवन कहिल्यै सुखमय हुँदैन । पत्नीको बिलासिता र मूर्खताबाट पियरे सधैँ प्रताडित हुन्छ ।
पियरे र हेलेनको सम्बन्धको उल्लेखले आपसी समझदारीबिनाको विवाह असफल हुन्छ र नराम्रो कामको परिणति नराम्रो नै हुन्छ भन्ने कुरा प्रस्ट्याउँछ ।
त्यो समयको रुसी समाजमा विवाह गर्दा दाइजो र सम्पत्तिलाई महत्व दिइन्थ्यो भन्ने देखिन्छ । नताशाकी दिदी भेरा (Vera) को बर्ग (Berg) सँगको विवाहमा वर्गले काउन्ट रोस्टोभसँग गरेको दाइजोको माग र छोराको बिहे भनी केटीसँग गरिदिने आमाहरूको सोचले यो कुरा प्रस्ट गर्छ । नराम्ररी ऋणमा डुबेको रोस्टोभ परिवार ऋण तिर्नका लागि निकोलसलाई बढी दाइजो भएकी कन्या खोज्दै थियो । निकोलस आफूसँगे हुर्केकी टुहुरी सोन्यालाई विवाह गर्न चाहे पनि उसकी आमाको स्वीकृति पाउँदैन । आफूलाई पालेर हुर्काएकी काकी काउन्टेस् रोस्टोभा (निकोलसकी आमा) र रोस्टोभ परिवारको लागि जीवनभर त्याग गर्दै आएकी सोन्याले फेरि आफ्ना खुसीहरूको त्याग गर्छे र निकोलसको मेरीसँग विवाह हुन्छ । रोस्टोभ परिवार मेरीको घरमै बस्न जान्छ र आफ्नो ऋण तिर्न सफल हुन्छ ।
त्यसैगरी, गरिब भइसकेको बोरिस द्रुबेत्स्कोय (Boris Drubetskoy) धनी केटी जुली कारागीना (Julie Karagina) सँगको विवाहपछि आफ्नो ठाँट बचाउन सक्ने हुन्छ ।
हेलेनको विवाह पियरेसँग गराउनु धनी केटासँग छोरीको विवाह गराइदिए आफ्नो पनि फाइदा हुन्छ भन्ने हेलेनको बुबाको सोचको उपज हो । धनी केटाहरूसँग आफ्नो छोरीको विवाह गराउनु पनि त्यो समयमा चल्तीमा थियो ।
यसरी त्यो समयको कुलीन रुसी समाजमा सम्पत्ति र दाइजोलाई प्राथमिकता दिइने गरेको उल्लेख टोल्सटायले गरेका छन् ।
सन् १८०५ ताका नेपोलियनको उदयपश्चात् रुसी युवावर्गमा ऊ नायकको रूपमा प्रख्यात भएको देखिन्छ । पुरानो पुस्ता नेपोलियनको विरोधी भए पनि नयाँ पुस्ता अझ अस्ट्रियामा फ्रान्सविरुद्ध लड्न जाने रुसी सिपाहीहरूमाझ नै नेपोलियन लोकप्रिय थियो । तर, सन् १८१२ मा रुसमाथि आक्रमण गरेपछि नेपोलियन खलनायक साबित भयो । फ्रान्सबाट अत्यधिक प्रभावित रुसमा फ्रान्सविरोधी लहरै आयो । घरमा फ्रान्सेली भाषा बोल्ने माथिल्ला वर्गका रुसीहरू फ्रान्सेली भाषा बोल्न छाडी रुसी बोल्न थाले । कति रुसी क्लवहरूमा फ्रान्सेली भाषा बोले बापत जरिवानासमेत गराइने भयो । फ्रान्सलाई आदर्श मान्ने रुसले फ्रान्स र नेपोलियनलाई दुश्मन र दैत्य मान्न थाल्यो । घरघरबाट युवाहरू सेनामा भर्ना हुने लहर चल्न थाल्यो । आफ्नो देशको सेनालाई हर–तरिकाबाट सहयोग गर्न रुसी जनता तयार भए । देशमा सङ्कट परेपछि वा देशमा विदेशद्वारा आक्रमण भएपछि त्यहाँका जनताले देखाएको देशभक्तिको नमुना यो उपन्यासमा दिइएको छ ।
अनलाइन मनदुरबाट