यस बर्ष माघ २० गते परेको अन्तराष्ट्रिय सिमसार दिवसको अवसरमा सिमसार दिवस के हो र यसको महत्व के छ र सिमसारले समुदायमा कस्तो प्रभाव वा असर पार्दछ भन्ने बिषयमा नेपाल पंक्षी संरक्षण संघ,लाजिमपाट काठमाण्डौका कार्यकारी निर्देशक इशाना थापासंग कञ्चन खवर डटकमका प्रबन्ध सम्पादक जगिलाल थापाले गर्नु भएको कुराकानी प्रस्तुत गरिएको छ,बिशेषगरी नदी,नाला,ताल तलैया ता चिसो भु–बनौटहरुको संरक्षणका लागि यो दिवस मनाइने गरिन्छ।
सर्बप्रथम त अन्तराष्ट्रिय सिमसार दिवसको अवसरमा हार्दिक शुभकामना छ। खासमा सिमसार भनेको के हो ? र नेपालको सन्दर्भमा सिमसार दिवस मनाइनु कतिको सान्दर्भिक छ?
# सामान्यतया सिमसार भनेको पानीजन्य क्षेत्र जस्तै दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित धानखेत, जलक्षेत्रको घाँसे मँैदान आदी हुन् । नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । यसर्थ सिमसार रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । सिमसारका दुई मुख्य विशेषता भनेको पानी र जमिनसँगै हुनु हो । नेपालमा पनि ताल, तलाउ, पोखरी, दह, नदीनाला जस्ता सिमसार क्षेत्रहरु भएकोले यसको संरक्षण र दिगो उपयोगका लागि आम रुपमा जनचेतना बढाउन र मुलप्रवाहीकरण गर्न यस खालका दिवसहरुको महत्वपुर्ण योगदान हुन्छ ।
तपाई जैविक विबिधता संरक्षणसंग सम्बन्धित पंक्षी संरक्षणको अभियानकर्ता हुनुहुन्छ।जैविक विबिधताको हिसावले नेपालमा सिमसार क्षेत्रले के कति संख्याको भुभाग ओगटेको छ?
नेपालको कूल क्षेत्रफल मध्ये ८,१९,२७७ हेक्टर (करिब ५ प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ् । नेपालमा करिव ५००० ताल, १३८० जलाधार र ५१८३ पोखरीहरु छन । पोखरा र आसपासका नौ तालहरु, गोक्यो ताल समुह, गोसाईकुन्ड ताल समुह, शे–फोक्सुन्डो ताल, रारा ताल, कोशिटप्पु वन्यजन्तु आरक्ष, वीसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल क्षेत्र र माइपोखरी गरी दश क्षेत्रहरु विश्व रामसार सूचिमा सूचिकृत भइसकेका छन् ।
सिमसार क्षेत्र र पशु पंक्षीहरुहरुसंगको सम्बध कस्तो छ वा यी दुई फरक बिषय हुन?
अन्य पारिस्थितिकीय प्रणाली भन्दा अतुलनिय एवम् बिशिष्ट यि सिमसार क्षेत्रहरु विश्वकै सबैभन्दा बढी उत्पादनशील र जैविक महत्वको क्षेत्र हुन । कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सास्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपुर्ण मानिन्छ । जलवायु, भौगोलिक स्वरुप, भुगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा सिमसारहरुमा लाखौ रैथाने तथा घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको उच्चतम विविधता पाईन्छ । सिमसारमा जल परिचालन र शुद्धिकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मृगौला’ पनि भनिन्छ । कृषि उत्पादनका साथै वातावरणीय सन्तुलनमा अहम् भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्रहरु सम्पूर्ण मानव, प्राणी एवम् वनस्पती जगत्को अस्थित्व जोगाउने आधारभूत तत्व भएकोले यसलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रुपमा हेरिन्छ । नेपालका सिमसार क्षेत्रहरु मुलतः ताल र नदीकिनारहरु धार्मिक, सांस्कृतिक एवम् परम्परागत आस्थाका केन्द्रको रुपमा पनि प्रचलित छन् ।
त्यसो हो भने नेपालमा भएका सिमसार क्षेत्रमा के कस्ता र कति संख्यामा प्रजातीका पशुपंक्षीहरुको बासस्थान रहने रहदै आएको छ ?
विश्वका लोपोन्मुख प्रजातिहरु एकसिंगे गैडा, साँेस, घडियाल गोही, अर्ना, ओत नेपालका सिमसारहरुमा आश्रीत र संरक्षित छन् । क¥याङ्गकुरुङ्ग, चखेवा, खोया हाँस, आइविस चरा जस्ता सयौं घुमन्ते पंक्षीहरु पनि हिउदयाममा उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट अनुकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा नेपालका सिमसार क्षेत्रहरुमा बसाई सरी आउने गर्दछन् । सिमसार आश्रित यस्ता दुर्लभ प्रजाती अवलोकनका लागि मात्र पनि नेपालमा बर्षेनी हजारौ पर्यटकहरु आउने गर्दछन् जसले पर्यापर्यटनमा टेवा पु¥याउनुका साथै स्थानियको जीविकोपार्जनमा समेत मद्दत गरिरहेको छ ।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणालीको रुपमा पनि हेरिने गरिन्छ,सिमसार क्षेत्र कसरी उत्पादनशील पारिस्थिकीय प्रणाली हो ?
पानी र जमिन सँगै हुनुका साथै यसको जलवायु, भौगोलिक स्वरुप, भुगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा सिमसार उत्पादनशिल पारिस्थिकीय प्रणाली हो । सिमसार सँग हामीहरुको दैनिक जिवन जोडिएको हुन्छ । हामीहरुको प्रमुख खाद्यान्न बाली धान, दलहन र प्रोटिनको उत्तम स्रोत माछा सिमसार क्षेत्रका उत्पादन हुन् । नेपालको ११ प्रतिशत जनसंख्या पुर्णत सिमसार क्षेत्रमा निर्भर छन् । बोटे, दनुवार, माझिजस्ता २१ आदीवासी जनजाति समुदायहरु जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा नै आश्रीत छन् ।
कतिपयले तपाइहरु जस्ता संरक्षणकर्मीहरुलाई काठमाण्डौमा बस्ने,यसो घुम्न आए जस्तो गर्ने र कागजमा कार्यक्रम गर्ने अनि सहयोगदाताहरुले दिएको सहयोग खर्च गर्ने तर समुदायमा त्यसको असर केही नहुने भनेर आरोप लगाउने गर्दछन,के यो आरोपलाई के कसरी आत्मसात गर्नु हुन्छ?
सिमसार क्षेत्र आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको दिगो संरक्षण र समुचित व्यवस्थापनको लागि राष्ट्रिय तथा स्थानिय तहका पनि नीति तथा योजनाहरुमा यसको महत्व स्थापित गर्दै एकीकृत रुपमा आर्थिक प्राविधिक एवं संस्थागत क्षमता अभिवृद्धि गर्नु जरुरी देखिन्छ । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार संरक्षण र यसको दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय, संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी पुर्णरुपमा सिमसारमा आश्रीत समुदायलाई वैकल्पिक आयआर्जन तर्फ पनि उन्मुख गराउनु पर्दछ । हामीले अन्तराष्ट्रिय समुदाय सँग गर्व गर्ने कुरा समुदायमा आधारीत संरक्षण र त्यसको सफलता नै हो । त्यसैले सिमसारको संरक्षण खाली घुमफीर वा झारा टार्ने हुनुहुदैन ।
यस बर्ष विश्वभर ‘पानी र सिमसार, जिवनको अभिन्न आधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ,नेपालमा कहां के कसरी दिवस मनाइदै छ र दिवस मनाइरहदा यसको प्रभाव स्थानिय तहसम्म कसरी पु¥याउन सकिन्छ?
सिमसारको विशिष्ट महत्व, दिगो उपयोगिता र खतराका विषयमा बहस गर्दै आगामी रणनीति चयनका साथ सन् १९७१ फेबु्रअरी २ मा इरानको रामसार शहरमा सम्पन्न विश्व सिमसार सम्मेलनको आज ४८ वर्ष पुगेको छ । सो सम्मेलनमा विश्वका महत्वपूर्ण सिमसारको संरक्षण तथा दिगो व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारीत गरेको थियो जसलाई रामसार सन्धि भनिन्छ । हालसम्म १६९ देशहरु उक्त महासन्धिको पक्ष राष्ट्र भैसकेका छन । नेपालले सन् १९८७ मा उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो । यही रामसार सन्धि भएको दिनको सम्झना स्वरुप सन् १९८५ फेबु्रअरी २ देखि सुरु गरीएको विश्व सिमसार दिवश आज ‘पानी र सिमसार, जिवनको अभिन्न आधार’ भन्ने मुल नाराका साथ विश्वभर र नेपालमा पनि मनाईदै छ ।
सिमसार वा रामसार क्षेत्रको रुपमा सुचिकृत प्राय तालतलैयाहरु सिंचाई तथा माछा पालनको नाममा सुकाइने प्रचलन पनि छ तपाई जैविक विबिधताको संरक्षणकर्मी भएको हिसावले यसलाई कसरी हेर्नु भएको छ?
त्यसो गर्नु गलत हो । उत्तरी धुर्वमा हिमपातको सुरुवात सँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाँड र तराईका विभिन्न भु—भाग तथा ताल, तलैया र नदी आसपासमा हजारौ पाहुना चराहरु बसाँइसरी आउने गर्दछन । वर्षेनी करीव १ सय ५० प्रजातीका चराहरु उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गर्दछन । यसरी जाडो छल्न आउने हिउदे आगन्तुक चराहरु नेपालका प्रमुख सिमसार क्षेत्रहरु कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, विसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरुमा नै मुल रुपमा आफ्नो समय व्यतीत गर्दछन । यही समयमा तालतलैया सुकाउने, अत्याधिक माछा मार्ने र चराहरुलाई लखेटने जस्ता कामहरु रोक्नुपर्दछ ।
अन्तमा सुरक्षित सिमसार क्षेत्र बनाउनको लागि क कसले के कस्तो भुमिका निर्वाह गर्नु पर्ला ?
देशको बदलिदो संरचनामा स्थानिय निकायहरु स्वायत्त र शक्ति सम्पन्न भएको वर्तमान अवस्थामा कतिपय स्थानहरुमा पर्यावरण मैत्री दिर्घकालीन योजना र नेपाल पक्ष राष्ट्र भएका वातावरण सम्वन्धी अन्तराष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा ख्याल गरेको देखीदैन । स्थानिय निकायले स्थानिय स्तरमा सिमसार क्षेत्रको संरक्षणलाई सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम पर्यटन उधोग र विकास सँग सँगै लैजान समन्वयकारी तथा अभिभावकिय भुमिका निभाउनु पर्दछ । सिमसार क्षेत्रको सुचकको रुपमा हेरीने बसाइसराई गरी आउने चरा संरक्षणको बसाँइसराई गर्ने प्रजातीको महासन्धि (Convention on Migratory Species)को नेपाल पक्ष राष्ट्र बन्नुपर्ने देखीन्छ । यस महासन्धी अन्र्तगत नेपालमा पाईने ७४ प्रजातीका चराहरु पर्छन ।