#माइकल ई. टिगार/जोन मागी
यो मुद्दाले कसलाई के कुरा साबित ग¥यो ?
हरेक चर्चित मुद्दामा थुप्रै थरी दर्शक हुन्छन् । वादी र प्रतिवादी दुवै पक्ष सम्भव भएसम्म जित्ने कोसिसमा लाग्छन् । यसको लागि आफ्नो कुरामा न्यायाधीश र जुरी (मुद्दा छिन्ने व्यक्तिहरूको समूह) को स्वीकारोक्ति पाउनु आवश्यक रहन्छ । तर, मुद्दाको फैसला पहिल्यै थाहा हुने अवस्थामा वा नहुने अवस्थामा पनि यी पक्षहरूले आफ्ना कुरा प्रमाणित गरी देखाउनुपर्ने अरू ठूलो दर्शक समूह (जनता) भएको बुझेका हुन्छन् ।
‘आरोन बर’ (Aaron Burr) लाई देशद्रोहको अभियोग लगाउने पक्षलाई सायद थाहा थियो, उनी निर्दोष साबित हुन्छन् भनी । तर, उनीहरूले अदालतमा पेस गरेका प्रमाण र बयानहरू मुद्दाको फैसला जे भए पनि बरको नाम बदनाम गराउने खालका थिए ।
सन् १८५९ मा दास विद्रोह, हत्या र भर्जिनिया राज्यविरुद्ध राजद्रोहको अभियोगमा जोन ब्राउन (John Brown) माथि मुद्दा चल्दा दोषी करार गरी मृत्युदण्डको फैसला सुनाइन्छ भनी ब्राउनलाई थाहा थियो । तर, अदालतमा दासत्वविरुद्ध आवाज उठाएर उनले आफ्नो मुद्दालाई दासप्रथा उन्मूलन अभियानको एक प्रतीक बनाए ।
राइखस्टाग आगलागी मुद्दामा पनि आगलागीलाई नाजी पार्टीले कसरी आफ्नो फाइदाको लागि प्रयोग ग¥यो भन्ने प्रतिवादी कम्युनिस्टहरूलाई थाहा थियो । आगलागीको लगत्तै उठाइएका दमनकारी कदमहरूमध्ये संसद्बाट सबै कम्युनिस्ट सदस्यहरूलाई निष्कासित गरेर संसद्मा नाजी पार्टीको बहुमत बनाइएको थियो । न्यायाधीश भोग्टको अध्यक्षतामा भएको प्रारम्भिक छानबिनमा प्रतिवादीहरूलाई सिक्रीले बाँधेर राखिएको थियो । उनीहरूलाई ‘सामान्य’ अदालतमै मुद्दा चलाइए पनि थुप्रै राजनैतिक घटना र प्रभावहरूले न्यायपालिकामा दशकौँदेखि दक्षिणपन्थी झुकाव बढ्दै थियो । अपराधमा संलग्न भएको कुनै प्रमाण नभए पनि आफूहरू निर्दोष भएर अदालतबाट छुट्ने पक्का विश्वास प्रतिवादीहरूमा थिएन ।
तर, ‘खैरो किताब’ प्रकाशनका लागि गरिएको छानबिनको सत्यतथ्यले डिमिट्रोभको सहायता ग¥यो । उनीसँग आफ्नो वाक्पटुता थियो । निर्दोष साबित हुनेमा उनी विश्वस्त हुनसक्थे । आफ्नो व्यक्तित्वको प्रभाव र विचार सुनुवाइको क्रममा देखाउन उनी सधैँ सुनुवाइमा हाजिर हुन्थे । डिमिट्रोभले जति बोल्ने अवसर सुनुवाइमा भाग लिने अरू कसैले पनि सदुपयोग गरेका थिएनन् । गारफिल्ड हेजले लेखेका छन्, “डिमिट्रोभ बोल्नको लागि उठ्ने बित्तिकै उनको व्यक्तित्वको प्रभावले अदालत, वादी पक्ष, जर्मन दर्शक र नाजीहरू रक्षात्मक बन्न पुग्थे ।” हेजका अनुसार न्यायाधीश बोन्गरले समेत डिमिट्रोभलाई एक किसिमको इखालु सम्मान दिएका थिए । मुद्दा सुनुवाइको प्रसारण गरेको जर्मन रेडियोले डिमिट्रोभको बयान र भनाइहरू भने प्रसारण गर्दैनथ्यो ।
मुद्दाले निष्पक्ष फैसला दिने सम्भावना कम भए पनि अदालतमा उपस्थित विश्व सञ्चार माध्यम र मुद्दालाई नजिकबाट हेरिरहेका वाम विश्वलाई आफ्नो विचार सुनाउनुपर्छ भन्ने डिमिट्रोभलाई थाहा थियो । ‘खैरो किताब’, लण्डन छानबिन आयोगको सिलसिलाका उनी एक हिस्सा थिए र उनको बचाउका लागि जनस्तरबाट गरिएको प्रयास आउने क्रममा थियो । अदालतभित्र र बाहिरका दर्शकसामु उनले सफलता खोज्न र पाउन सक्दथे ।
नाजीहरूले पनि आफ्ना दर्शकहरूलाई महत्व दिएका थिए । भोग्टलाई प्रारम्भिक छानबिनको न्यायाधीश नियुक्त गरेर नाजीहरूले आफ्नो सिद्धान्तलाई मुद्दाको मुख्य बिन्दु बनाएका थिए । बुल्गेरियालीहरूलाई दोषी देखाउनु सबभन्दा गा¥हो काम थियो । तर, टोर्गलरको संसद् भवनमा आउजाउ हुने भएकोले उनलाई दोषी साबित गर्न सकिने सोचिएको थियो । तर, मुद्दाको फैसला कहिल्यै मुख्य विषय थिएन । तैपनि, नाजी सञ्चारमाध्यम र हिटलर आफैँले मुद्दालाई हाँसोमा उडाए र यसले जर्मनीको अदालतीय कारबाहीमा परिवर्तनको सुरुवात ग¥यो र नियम– कानुनका पदचिह्न मेटिदियो । आगलागीबारे जर्मन जनतालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भन्दा निकै फरक कुरा सुनाइएको थियो । गोयरिङ र गोयबल्सप्रति भिडको व्यवहार लाक्षणिक थियो । आगलागी, त्यसको मुद्दा र सुनुवाइपछिका घटनाहरू सबैलाई सत्तामा नाजीको पकड बलियो बनाउनको लागि प्रयोग गर्ने हेतुले नाजी पार्टीको राजनैतिक र प्रचार विभाग दिलोज्यानले लागेका थिए । ठूलो मात्रामा व्यक्तिगत सम्पत्ति भएका कम्युनिस्टविरोधी जर्मनहरूले नाजी पार्टीलाई समर्थन नगरे पनि यो मुद्दामा प्रयोग गरिएका दमनका प्रक्रियालाई भने आवश्यक र ‘कानुनी’ भनी स्वीकारेका थिए । यसरी दमनचक्रलाई न्यायसङ्गत भनेपछि आउँदा दिनहरूमा ती जर्मनहरूले नाजी आदेशहरू चुपचाप मान्नुपर्ने अवस्था आयो । नाजी सत्तालाई न्यायोचित देखाउनका लागि जर्मन न्यायपालिकाले अन्तिम अवस्थासम्म पनि आफ्नो ‘काम’ गरिरह्यो । सन् १९३३ मा यहुदी र केही सामाजिक प्रजातन्त्रवादी न्यायाधीशहरूको बर्खास्तीपछि नाजी शासनभरिमा मात्र एकजना न्यायाधीशले सरकारको विरोधमा राजीनामा दिए ।
आगलागीका अभियुक्तहरू
राइखस्टाग आगलागीको मुद्दाको परिवर्तनीय इतिहास
भविष्यका इतिहासविद्हरूले भूतलाई कसरी हेर्नेछन् ? त्यो आज हामीलाई थाहा हुन्न । त्यसैले भूत जहिल्यै अनिश्चित हुन्छ भन्ने कुरा धेरैचोटि देखिएको हो । यसको स्पष्ट उदाहरण राइखस्टाग आगलागी मुद्दा हो । नाजीप्रति सहानुभूति राख्नेहरूले जर्मन अदालतको फैसलालाई सही मानेका थिए भने त्यसलाई फासीवाद देख्नेहरूले आगलागीमा नाजीकै संलग्नता रहेको लण्डनको छानबिन आयोगको प्रतिवेदनलाई सही मानेका थिए ।
सन् १९४५–४६ को नुरेम्बर्ग सुनुवाइको समयसम्ममा आगलागीमा नाजी हात रहेकोमा कुनै दुईमत रहेन । तर, गोयरिङले भने नुरेम्बर्गमा सो कुरा अस्वीकार गरिरहे । त्यसबेला आएर हान्स बल्र्ड जिसेभियसको बयान नै आगलागीबारेको आधिकारिक वर्णन हुन पुग्यो । सन् १९३३ मा जर्मन प्रहरी ‘गेस्टापो’ (Gestapo) भर्खर सुरु हुँदा गोयरिङको प्रहरी बलको प्रमुखका लागि उद्योगपतिहरूबाट मनोनीत उम्मेदवार ग्राउर्ट (Grauert) थिए । त्यतिबेलाका युवा वकिल जिसेभियसलाई तिनै ग्राउर्टका सहयोगीको रूपमा गेस्टापोमा नियुक्त गरिएको थियो । विश्वयुद्धमा उनले जर्मनप्रति– जासुसी एकाइमा काम गरे तथा पछि आएर उनी मित्रशक्तिका लागि दोहोरो जासुस (डबल एजेन्ट) बनेका थिए । सन् १९३३ को शरद्मा गेस्टापोले उनलाई राइखस्टाग आगलागी मुद्दाको ‘दर्शक’ को रूपमा खटाएको थियो ।
जिसेभियसका अनुसार अत्यन्त प्रज्ज्वलनशील तरल पदार्थ बोकेका दस जना नाजी युवा दस्ता (SA) का सदस्यहरूले राइखस्टागमा आगो लगाएका थिए । ‘आँधीबेहरी दस्ता’ (SA) का नेता हेइनी गेउहेरको नेतृत्वको सो टोली बर्लिन SA कमान्डर कार्ल अर्नेष्टको सीधा निर्देशनमा थियो । उनीहरू राइखस्टाग अध्यक्ष गोयरिङको निवासबाट भूमिगत बाटो भई संसद् भवनमा पसेका थिए । सो टोलीका एक सदस्य राल (Rall) ले सबै कुरा वक्तव्यमार्फत खोल्ने धम्की दिएपछि मात्रै जिसेभियस र उनका गेस्टापो उच्चाधिकारी नेब (Nebe) ले सो कुरा थाहा पाएका थिए । त्यसको केही समयपछि नै SA ले रालको हत्या ग¥यो । रालले लेखेका कुराहरू मुद्दाका तथ्यहरूसँग मिल्दाजुल्दा थिए । भान डेर लुब केही दिन अगाडिदेखि नै SA को कब्जामा थिए र उनलाई SA ले नै संसद् भवनमा ल्याएको थियो ।
कट्टर कम्युनिस्टविरोधी जिसेभियसले ‘मलाई थाहा भएको’ भनेका कुराहरू थाहा पाउने पदमा उनी थिए भन्नेमा त शङ्का छैन । नुरेम्बर्ग सुनुवाइमा मित्रशक्तिका तर्फबाट उनी प्रमुख साक्षी थिए । अर्को खुलासा आयो कर्णेल जनरल फ्रान्ज हाल्डरको बयानबाट । सन् १९३८ देखि १९४२ सम्म जर्मन सेनाका सुरक्षा सल्लाहकार रहेका हाल्डरका अनुसार सन् १९४२ मा भएको हिटलरको जन्मदिनको पार्टीमा गोयरिङले खुलारूपमै आफूले सो आगलागी गराएको सुनाएका थिए । सन् १९५६ को बेला शीतयुद्धको परिवर्तित परिस्थितिमा पनि ‘बोर्न दास पार्लामेन्ट’ (Born Das Parlament) पत्रिकामा प्रकाशित एक चिट्ठीमा हाल्डरले लेखेका थिए, “म हिटलरसँगै बसेको थिएँ र गोयरिङ हिटलरको दायाँतिर । गोयरिङले भनेका एक–एक शब्द म राम्ररी सुन्न सक्थेँ ।” शीतयुद्ध सुरु हुँदासम्म जिसेभियसको बयानमाथि कसैले प्रश्न उठाउन सकेन । शीतयुद्धको बेला पश्चिम जर्मनीले नाजीहरूलाई सफाइ दिने काम सुरु गरेपछि भने त्यो बयानमा पनि प्रश्नहरू उठ्न थाले ।
जर्मन प्रशासनलाई ‘नाजी मुक्त’ (Denazification) गर्ने कार्य सन् १९४५ मा जर्मनीमाथि कब्जा भएदेखि सुरु भयो तर सन् १९४७/४८ मा शीतयुद्धको सुरुवातसँगै पश्चिम जर्मनीमा सो कार्य बन्द भयो । सुरुमा पश्चिम जर्मनीमा ‘नाजी मुक्त’ गर्ने कार्य न्यायपालिकालाई सुम्पिइयो । तर, न्यायपालिका आफैँ पनि तेस्रो राज्यसत्ता (नाजी शासन) को बेला कार्यरत अधिकारीहरूले भरिभराउ थियो र सो कार्य बन्द भयो । शीतयुद्धको प्रारम्भमा ‘बर्लिन नाकाबन्दी’ र कोरियाली युद्धको बेला उब्जेको अति कम्युनिस्टविरोधी विचारले गर्दा पश्चिम जर्मनीका सञ्चारमाध्यमहरूले त्यहाँको नयाँ सरकारको बनावट र संलग्न व्यक्तिहरूको पृष्ठभूमिबारे चासो देखाएनन् । पश्चिम जर्मनीको प्रशासन र सैन्य प्रशासनमा नाजी अधिकारीहरूको बाहुल्यता रहेको आरोपलाई ‘कम्युनिस्ट प्रचारबाजी’ भनी टार्ने गरियो ।
स्टालिनको मृत्यु, ख्रुश्चेभको उदय र कोरियाली युद्धको समाप्तिपछि सोभियत खेमा ‘पग्लिँदै’ गएपछि सो आरोपहरूमा भएको सत्यता लुक्न सकेन । पश्चिम जर्मनीको सत्तामा हिटलरका बफादार सेवकहरू कार्यरत रहेको कुरामा सन्देह भएन । कुख्यात नुरेम्बर्ग कानुन बनाई यहुदीहरूको सफायालाई कार्यान्वयन गराउने काममा मुख्य भूमिका भएका हान्स ग्लोब्के (Hans Globke) पश्चिम जर्मनीका चान्सलर अडेनाउर (Adenauer) का प्रमुख सल्लाहकार थिए । सन् १९६१ मा पश्चिम जर्मन सेनाका १६० उच्चाधिकारीमध्ये एकजनाबाहेक सबैले हिटलरको सेनामा कर्णेल वा जर्नेल भई काम गरेका थिए । नाजी सत्ताका बेला ‘यहुदी समस्या’ र त्यसको ‘अन्तिम समाधान’ जस्तो दुष्टका लेखहरू लेखेका व्यक्तिहरू पश्चिम जर्मन विश्वविद्यालयहरूमा कानुन विभागका मुख्य पदमा थिए र पश्चिम जर्मन न्यायालयका न्यायाधीशहरूमध्ये अधिकांश नाजी समर्थक वा नाजी कार्यकर्ता थिए । जर्मनीले कब्जा गरेका देशहरूमा युद्ध अपराधीको रूपमा प्रमाणित व्यक्तिहरूसमेत पश्चिम जर्मनीका अदालतहरूमा न्यायाधीशको रूपमा भेटियो । एउटा अदालतमा त ४९ जना न्यायाधीशमध्ये ४० जना नाजी थिए र कतिमाथि त हत्याको आरोप पनि थियो । कतिपय घटनाले भने अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको थियो । पूर्व SA नेता डा. हालबाउर (Dr. Hallbauer) युद्धको बेला प्रागमा न्यायाधीश थिए । बेलायती प्रसारण रेडियो (BBC) सुनेको र दासश्रमबाट भागेको आरोपमा उनले चेकालीहरूलाई मृत्युदण्डको फैसला सुनाएका थिए । उनको ‘न्याय’ बाट बाँच्न सफल एक चेकालीले हालबाउर ह्याम्बर्गको अदालतमा न्यायाधीश रहेको थाहा पाए । उनले क्षतिपूर्तिको माग गर्दै हालबाउरविरूद्ध मुद्दा दायर गरे । तर, पश्चिम जर्मनी अदालतले सो बेलाको कानुनअनुसार डा. हालबाउरको निर्णय नितान्त ‘कानुनी’ रहेको फैसला सुनायो । ‘नाजी पीडित सङ्घ’ भन्ने संस्थालाई ‘असंवैधानिक’ भन्दै सन् १९६२ मा पश्चिम जर्मनी अदालतले दर्ता खारेज गर्ने फैसला सुनायो : फैसला दिने ३ जना न्यायाधीशहरू सबै पूर्व नाजी थिए भने एकजना नाजी युवा दस्ता (SA) का सदस्य ।
पश्चिम जर्मनीको राज्यसंयन्त्रमा जहीँतही पूर्व नाजीहरू रहेको खुलासा भएपछि जवाफको आवश्यकता देखियो । व्यक्तिको जीवनका तथ्यहरू लुकाउन सकिन्छ तर नकार्न सकिन्न । त्यसैले हिटलरको शासनको विरोधमा भएका स–साना विद्रोहहरूलाई बढाईचढाई गरी प्रचार गरियो । सन् १९४४ जुलाईको अन्तमा केही सैनिक अधिकारीहरूद्वारा हिटलरको असफल हत्या प्रयास यी घटनामध्ये एक थिए । तर, जति नै बढाईचढाई गरे पनि यी सानातिना घटनाहरूसँग न्यूनतम मात्रै पनि सम्बन्ध राख्ने पूर्वनाजीहरूको सङ्ख्या नगण्य थियो ।
जर्मनीमा नाजीवादको विरोधीको मुख्य हिस्सा वामपन्थीहरूको थियो । त्यसैले नाजीहरूसँग प्रत्यक्ष भिडेका फासीवादविरोधी कम्युनिस्ट पूर्वी जर्मनी सरकारमा थिए । नाजीहरूलाई र विशेषगरी नाजी कानुनी व्यवस्थालाई सफाइ दिने उपाय अवलम्बन गर्ने कोसिस पनि भयो । त्यसो त नाजीहरूको कट्टर कम्युनिस्टविरोधी भावना पश्चिम जर्मनी सरकारको नीति र भावनासँग मिल्दोजुल्दो थियो । हिटलर सत्तामा आएको सुरूका वर्षहरूमा विभिन्न कानुन बनाएर जफत गरिएका आफ्ना सम्पत्ति फिर्ता हुनुपर्ने यहुदीहरूको माग चर्को हुँदै थियो । यो फिर्ती माग गर्ने नाजी पीडित यहुदीहरूको सङ्ख्या पनि ठूलो थियो । त्यसको समाधान पनि निकालियो । चान्सलर अडेना उरका प्रमुख सल्लाहकार ग्लोब्के (Globke) को नुरेम्बर्ग कानुन लागु नभइञ्जेल हिटलर सत्तामा आएको केही वर्षपछि सम्म पनि जर्मन न्यायपालिकाले निष्पक्षरूपमा काम गरेको प्रचार गरियो । राइखस्टाग आगलागी मुद्दाको निर्णय पनि यो दाबीलाई बल पु¥याउन प्रयोग गरियो : नाजी शासनको बेलामै अदालतले आगलागी मुद्दाका बहुमत प्रतिवादीहरूलाई सफाइ दियो र नाजीहरूलाई पनि आगो लगाएको आरोपबाट सफाइ दियो ।