२७ साउन, कञ्चन
लायन्स क्लव अफ कञ्चन, लायन्स क्लव अफ कञ्चन लेडी र लियो क्लव अफ कञ्चनको संयुक्त आयोजनामा संचालन गरिएको कञ्चनको वडा नं. ५ निःशुल्क आखाँ परिक्षण शिविरमा ५७५ जना आँखाका बिरामीहरुले आँखा परिक्षण गराएका छन।
कञ्चन गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त शिविरमा कञ्चन लगायत कपिवलबस्तुको बाणगंगाका बिरामीहरुले समेत सेवा लिएको लियो क्लव अफ कञ्चनका पुर्व अध्यक्ष प्रदिप गिरीले जानकारी दिनु भएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जनतासंग प्रत्यक्ष जोडिने हरेका कार्यक्रम र योजनाहरु स्थानीय संघसंस्थाहरुसंग सहकार्य र समन्वय गरेर अगाडी बढ्द्र आइरहेको बताउनु भयो। पछिल्लो समय आँखा पाक्ने रोग भाइरलको रुपमा फैलिरहेको सन्दर्भमा लायन्सहरुले संचालन गरेको शिविर स्रहनायोग्य भएको उपाध्यक्ष थापा मगरले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले कुनैपनि समस्यालाई सकेसम्म ग्रामिण्म क्षेत्रमै सेवा दिएर भएपनि समाधान गर्नु पर्ने गाउपालिकाको मान्यतालाई सार्थक बनाउन लायन्सहरुको भुुमिका महत्वपुर्ण रहेको बताउनु भयो।
वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले गाउँभरीनै आँखा पाक्ने संक्रमण फैलिएर समस्या देखिन थालेपछि शिविर संचालन गर्न लायन्स क्लवसंग सहकार्य गरेको बताउनु भयो। आर्थिक रुपमा बिपन्न र अस्पताल देखि दुरदराजमा रहेका बिरामीहरुलाई सहज र सुलभ रुपमा आँखाको उपचार गराउने उद्धेश्यका साथ लायन्स क्लव अफ कञ्चनसंगको सहकार्यमा शिविर संचालन गर्न पाउदा बिरामीहरुको मुहारमा उज्यालो भएको महसुस गरेको वडा अध्यक्ष पौडेलले बताउनु भयो।
यसैगरी गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले सेवा दिनु र लिनु भन्दा पनि त्यसको ब्यबस्थापन सबैभन्दा ठूलो चुनौती भएको र त्यही चुनौती लायन्स क्लव अफ कञ्चन, लायन्स क्लव अफ कञ्चन लेडी र लियो क्लव अफ कञ्चनले बोकिरहेको बताउनु भयो। कञ्चनमा रहेका हरेक संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेमा जोड दिदै प्रवक्ता तुलाचनले बर्षाको समयमा बिभिन्न रोगहरुको संक्रमण फैलिनसक्ने भएकोले सतर्कता अपनाउनु पर्ने सल्लाह दिनु भएको थियो।
कार्यक्रमको औचित्यताबारे बताउदै लायन्स क्लव अफ कञ्चनका पुर्व अध्यक्ष राम बहादुर थापाले कञ्चनमा लायन्स आँखा अस्पताल संचालनका लागि आवस्यक भौतिक पुर्वाधार ब्यबस्थापन र निर्माण कार्यमा लायन्स जुटिरहेको बताउदै अस्पतालका लागि लायन्स किरण के.सी.ले २ कट्ठा जग्गा निःशुल्क दान गर्नु भएको जानकारी दिनु भयो। यसैगरी लायन्स थापाले सुनगाभाचोकमा हरेक शनिवार आँखा उपचार क्लिनिक संचालन भइरहेको र आँखाका हरेका बिरामीहरुले शनिवार गाउमै सेवा लिन सक्ने समेत अवगत गराउनु भयो।
लायन्स क्लव अफ कञ्चनका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा लियो क्लव अफ कञ्चनका सचिव गोविन्द आचार्यको संचालनमा सम्पन्न शिविर कञ्चन ५ को वडा कार्यलयमा संचालन गरिएको थियो।