प्रा.डा. धनरत्न शाक्य
मान्छेसहित जीवित प्राणी र बोटबिरुवामा शारीरिक र जैविक क्रियाहरू नियमित र सन्तुलित हुन्छन् । यसको लागि संयन्त्र वा प्रणाली हुने गर्छ । मानव शरीरमा तत्कालीन र अल्पकालीन नियन्त्रण स्नायु प्रणाली (Nervous System) ले काम गर्छ भने बिस्तारै हुने दीर्घकालीन नियन्त्रण अन्तःश्राव प्रणाली (Endocrine System) बाट हुन्छ । स्नायु प्रणालीले समन्वय र सन्तुलनमा राख्न पूरक प्रणालीहरू (सिम्पाथेटिक Sympathetic र पारा–सिम्पाथेटिक Para-sympathetic को माध्यमबाट जैविक प्रक्रियाहरूमा नियमन, नियन्त्रण र सन्तुलन गरिरहेको हुन्छ । सामान्यतया एउटाले कुनै कुरा (जस्तैः मुटुको चाल) बढाउँछ भने अर्कोले घटाउँछ । मानव शरीरका यावत् जैविक प्रक्रियाहरू (जस्तैः मुटुको चाल, श्वासको गति, पाचन, बिकार बिसर्जनलगायत) सबैलाई यसले नियन्त्रित र सन्तुलित राख्दछ ।
व्यक्तिको व्यवहार, बोली, मिजास, भावना, विचार, इन्द्रिय–ज्ञानलगायत होस–हवास, ध्यान, एकाग्रता, स्मृति, ज्ञान, बुद्धि, विवेक, निर्णय र आफ्नो तन–मनको अवस्थाको चेतजस्ता मनोवैज्ञानिक क्रियाहरू मनको नियन्त्रणमा सम्पादन हुन्छन् । मानव मनका चेत, अद्र्ध–चेत वा अचेत खण्ड (Conscious, Pre-conscious or Un-conscious) को एक अंश (Id) आवश्यकता, चाहना कुनै रूपमा शीघ्र पूरा होस् भन्ने नासमझ बच्चाजस्तो हुन्छ । अर्को (Super ego) कडाइका साथ नियन्त्रणमा राख्ने घरकी मुली बज्यै जस्तो हुन्छ । तेश्रो अंश (Ego) यी दुईको बीचमा सामञ्जस्य खोजिरहेको हुन्छ । मानव समाज, सभ्यता र संस्कृतिका सारा कुराहरू मानव मनकै उपज हुन् । समय र परिस्थितिको दिशानिर्देश, नियन्त्रण र निक्र्याेल मनले नै गर्ने हो । यसर्थमा, भगवान बुद्धले मन मुख्य भएको तथ्य औँल्याउनुभयो । मूलतः भगवान बुद्धको शिक्षा यही मनलाई सजग, सचेत, सही, सन्तुलित, स्वस्थ र स्वच्छ बनाउने, राख्नेतिर परिलक्षित छ ।
एक मानिसको तन, मन र सामाजिक सम्बन्धमा यस्तो नियन्त्रण र नियमनको उद्देश्य भनेको सर्वोत्तम, क्रियाशील र सामान्य अवस्थाको प्राप्ति र निरन्तरता हो । यो कुरा समस्त ब्रम्ह्माण्ड, प्रकृति र चराचर जगतमा पनि लागू हुन्छ । यहाँका हरेक कुरा र घटनाहरू नियमित आकस्मिकतामा आबद्ध र आधारित हुने गर्छन् ।
स्वस्थ शरीरका लागिः सन्तुलित आहार र पोषण, पर्याप्त पानी, नियमित र पुग्दो निद्रा, शारीरिक व्यायाम, नशालु पदार्थ र बिना प्रेप्क्रिप्सन दवाइ सेवनदेखि टाढा, यौन र प्रजनन, स्वास्थ्य, शारीरिक र वातावरणीय सरसफाइ, स्वस्थ घर र चर्पी, चोटपटक र दुर्घटनादेखि सावधानी, स्वच्छ हावा र पर्यावरण, मौसम अनुकूल सावधानी, सुहाउँदो र आरामदायी पहिरनजस्ता नियमहरू पालना गर्नुपर्छ । मनोसामाजिक स्वास्थ्यका लागिः सक्रिय जीवन र दैनिकी, जीवनमा उद्देश्य र आध्यात्मिक पहुँच, परस्पर सहानुभूति, संवाद, सहयोग र उपयुक्त, अनुकूल सामाजिक सम्बन्ध, परम्परा र चालचलनको सदुपयोग, यथार्थपरक सोच, योजना र व्यवहार, लचकता र फुर्सदको समयको उपयोग, सकारात्मक सोचविचार, सुधारोन्मुख परिवर्तनशीलता र सिक्ने प्रयास, रचनात्मक र मन शान्त पार्ने क्रियाकलाप, तनाव व्यवस्थापन र समस्या समाधानको सीप, अध्ययन, मननशिलता, सचेतता र सजगता र जथाभावी इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइलजस्ता लत लाग्ने कुरादेखि सतर्क रहन आवश्यक हुन्छ ।
जीवन–जगतको चारआर्य सत्य दुःख, दुःखको कारण, दुःखको निवारण र समाधानका लागि भगवान बुद्धले प्राणी हत्या, चोरी, ब्यभिचार, नशासेवन र असत्य झूटदेखि बच्ने पाँच नियमहरू औँल्याउनुभयो । पञ्चशील व्यक्तिमात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धको समेत मार्गदर्शक सिद्धान्त भएको छ । आर्यअष्टाङ्गिक मार्ग मनोत्थानका लागि महत्वपूर्ण छन् । यसअन्तर्गत सम्यक (ठीक) दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म (ठीक काम), सम्यक आजीविका (ठीक जीविका), सम्यक व्यायाम (ठीक प्रयत्न वा मेहनत), सम्यक स्मृति (ठीक स्मृति वा जागरण) र सम्यक समाधि (ठीक एकाग्रता) पर्दछन् । हरक्षण जीवनभर होस राखेर सजग भई अन्तरमन शुद्ध बनाउने साधना विपश्यना धेरै मानिसको जीवनमा चरित्र सुधारको लागि आधार नियम बनेको छ ।
मनको नासमझ, कमजोर र जङ्गली अंश (Id) लाई चिनेर, आमाले जस्तो स्वीकार गरेर प्रज्ञा र करुणापूर्वक व्यवस्थापन गर्न र लगाम लगाउन नसक्दा मानिसबाट गल्ती हुन जान्छ; गलत बाटोमा भत्किने गर्छ । आवश्यकता, तृष्णा, राग वा मोहको पछिपछि लाग्ने हुन्छ । रिस, राग, द्वेष, इष्र्याको भुमरीमा रुमल्लिन पुग्छ । हर बखत, हर नजर र हर पाइलामा मनलाई आकर्षण गर्ने र भ्रममा पार्ने कुराहरू आइरहन्छन्, स्वच्छन्द र बेलगाम बनेर पछि लाग्दा मानिस अशान्त र दुःखी भइरहन्छ । अनियन्त्रित यस्तो जीविका, बोली, चालचलन र व्यवहारले जीवन, जगत, समाज अधोगतिगामी बनिरहेको हुन्छ । अति कडा आदर्श लाड्ने अंश (Super ego) को नियमबारे ज्यादा सचेत हुँदा पनि मानिस बेचैन बन्न पुग्छन् । काम राम्रो नहोला, तयारी पुगेन, अरूलाई नराम्रो हुन्छ कि, आलोचना हुन्छ कि, परम्परा र नियमले दिँदैन कि भन्ने अतिवादी र कडा सोचका कारण कतिपय काम, प्रोजेक्ट वा प्रक्रिया सुरु नै हुँदैन । अरू मानिस र दुनियाँ सुधार्नतिर लाग्दालाग्दै जीवनको आनन्द नै गुुम्ने, कतिपय घर परिवार बिखण्डित हुने र अनावश्यक झमेला वा दुःख खेप्नुपर्ने अवस्था पनि आई पर्नसक्छ । स्वस्थ मनको वर्तमान (Ego) कडा आदर्श लाड्ने अंश (Super ego) लाई ध्यानमा राखेर जीवनका आवश्यकता र चाहना पूरा गर्ने कोसिस गर्छ । वास्तवमा यी तीनको सङ्घर्ष र सन्तुलनमा मानव जीवनको यात्रा अघि बढ्ने गर्दछ । नियमको नाममा अति गर्न र अरूलाई दुःख दिनबाट भने बच्नुपर्ने हुन्छ । सुख, शान्ति र चयन बिथोल्ने नियमबारे ठण्डा दिमागले समीक्षा गर्नुपर्ने हुन्छ । नियम–कानुनको रखवाला पदधारी पदाधिकारी, सन्तानका अभिभावक तथा विद्यार्थीका शिक्षकले भने संयमित भएर कडाइका साथ नियम र अनुशासनको पालनामा जोड दिनुपर्ने हुन्छ ।
नियम, शील र सदाचारको पालना नगर्दा मानिस खराब, दुःखी, बेचैन, रोगी र अधोगतिगामी बनिरहेको हुन्छ । एकदिन अघि एकदिन पछि आफ्नो कर्मको फल भोग्नुपर्ने हुन्छ । क्षणिक आनन्द भए पनि, भौतिक सुखसुविधाले सम्पन्नै भए पनि आफ्नो कुकर्मले सधैँ पछ््र्याइरहन्छ, अन्तरआत्मा अशान्त र दुषित बनाइरहन्छ । कर्मको फल नभोगी धर पाइँदैन । अतः, मङ्गल धर्मको नियम र शिल पालना गर्नु आत्मोन्नति गर्नु हो । अन्तरमनले बुझेर नियम पालना गर्दा, स्वधर्मले नियन्त्रित रहँदा बन्धन लाग्दैन† नबुझ्दा नियम बोझ बन्नपुग्छ भन्ने पनि ख्याल राख्न आवश्यक छ ।
सधैँजसो हुने वा चल्ने कुरामा कुनै परिस्थिति वा तत्वका कारण बदलाव वा परिवर्तन आउने गर्छ । घाममा गर्मी भएर शरीरको तापक्रम बढ्छ । कुकुरले लखेत्दा डर हुन्छ, मुटुको चाल, रक्तचापसहित सास पनि बढ्छ । तनावको बेला मन बेचैन, निद हराम वा भोकविहीन होला । कारक तत्व, परिस्थिति हटेपछि फेरि पहिलेकै सामान्य अवस्थामा फर्किन्छ । घामबाट छायामा आई पानी पिएपछि तापक्रम सामान्य बन्छ । कुकुरदेखि टाढा सुरक्षित ठाउँमा पुगेपछि डर हट्छ । तनाव हराएपछि मन, निद्रा र भोक पनि सामान्य हुँदै जान्छ । यस्तो प्रतिकूल र परिवर्तित अवस्थामा कारक तत्व, समस्या वा परिस्थितिको पहिचान गरी यथासम्भव समस्या समाधानको उपाय अपनाउनुपर्छ । यसका लागि समस्याको सटीक निदान, समाधानका सम्भावित तरिकाहरू, हरेक विधिहरूका सबल र दुर्बल पक्षको विश्लेषण, उपयुक्त विकल्पको चयन, त्यसको प्रयोग, परिणामको लेखाजोखा र तद्नुरूप भावी योजनाको निक्र्याैल गर्नसकिन्छ । यदि समस्या वा कारकतत्व समाधान हुन नसक्ने प्रकृतिको भएमा तनाव बहनका तरिकाहरू अपनाउनु तथा सक्षम, शुभेच्छुक र सहयोगी व्यक्तिको सरसल्लाह र सहयोग माग्नु पनि उपयोगी हुन्छ ।
जब कारक तत्व वा परिस्थिति हटेपछि पनि यस्ता बदलाव, परिवर्तन वा लक्षण सधैँजसो सबैजसो माहोलमा रहिरहन्छ† त्यसले शरीर, दैनिकी र अरूसँगको सम्बन्धमा समस्या पैदा भई बेचैनी हुन्छ र अरू पनि लक्षणहरू देखा पर्छन्, तब मानव शरीर र स्वास्थ्यमा व्यक्तिको नियन्त्रण हराएको अवस्था भनेर बुझ्न जरुरी हुन्छ । घामबाट छायामा आई आराम गर्दा पनि तापक्रम घटेन† रोगजन्य ज्वरो हुनसक्छ । सुरक्षित स्थानमा पनि कुकुर वा कुनै कुराको अनावश्यक र अति डर भई समस्या र बेचैनी भएको अवस्था परिस्थितिजन्य रहन्न, व्यक्तिको नियन्त्रणभन्दा परको रोगजन्य अवस्था एन्जाइटी भनेर जान्न आवश्यक हुन्छ । तनाव होस् वा नहोस् मानसिक लक्षणहरू लामो समय, जतासुकै समस्या र बेचैनी हुने हिसाबले अरू पनि लक्षणका साथ देखा परेको अवस्था व्यक्तिको नियन्त्रणभन्दा पर हुन्छ । यस्तो अवस्थामा शरीर वा मस्तिस्कमा स्नायु रसायन र विविध भागहरूमा नै गडबडी पैदा भएको हुन्छ र उपचारको आवश्यकता पर्छ ।
मनको प्रकृति र स्वभाव ध्यानमा राखेर भगवान बुद्धले औँल्याउनुभएको छ कि सदाचारी मानिसले चारवटा चेष्टाहरू हरबखत गरिरहनुपर्छ । ती हुन्– १. मनमा आउने खराब विचार र विकार समयमै चिनेर हटाउनु, २. मनमा खराब विचार र विकार आउन नदिनु, ३. मनमा असल विचार आउन दिनु र असल बन्नु र ४. मनमा असल विचार सधैँसधैँ ल्याइरहनु र अविच्छिन्न असल बनिरहनु । अर्थात्, मानिसले आफूलाई सम्हालेर निरन्तर अनुशासित, संयमित र शीलको अनुयायी भइरहनुपर्छ । भगवान बुद्धको शिक्षामा अद्योपान्त शील, समाधि, प्रज्ञाको माध्यमबाट अल्छी नगरी अप्रमादी भई धार्मिक जीवन जिउनुपर्ने कुरामा जोड दिइएको छ । सारमा भन्नुपर्दा अरूलाई हानि, नोक्सानी, चोट नपु¥याई वा बेचैन, विचलित, दुःखी नबनाई जीवन लक्षमा निर्भिक, शील, सदाचार पालना गर्ने व्यक्ति वास्तवमा असल हो । यस्तो मानव धर्म र नियमको अवलम्बन गर्दा सबैको मङ्गल हुन्छ ।
(प्रा.डा. शाक्य, वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ।)