सुन्दर बासी, बुटवल
परिचय :
'तमस' अर्थात् अन्धकार । हिन्दी शब्द कोशअनुसार तमसको अर्थ अज्ञानताको अन्धकार हुन्छ । स्वतन्त्रताको सङ्घारमा भारतमा फैलाइएको त्यही अज्ञानताको अन्धकारबाट उत्पन्न भयावह दृश्य वर्णित एक उपन्यासको नाम हो – तमस । सन् १९४७ अप्रिलताका पन्जाबमा देखिएको भयानक परिवेशबारे लेखिएको 'तमस’ भारतीय उपन्यास जगतमा लोकप्रिय मानिन्छ । सुप्रशिद्ध लेखक भिष्म साहनीद्वारा लिखित 'तमस' उपन्यास सन् १९७३ मा प्रथम पटक प्रकाशित भयो । तमस उपन्यासले सन् १९७५ मा साहित्य एकेडेमी पुरस्कार प्राप्त गर्यो । सन् १९८६ मा भारतीय टीभी दूरदर्शनमा तमस उपन्यासमा आधारित धारावाहिक शृङ्खला प्रशारण भयो । तमस उपन्यासमाथि एक चलचित्र पनि बनाइएको छ । यूट्युवमा आज पनि झन्डै ५ घण्टा लामो उक्त तमस फिल्म हेर्न पाइन्छ ।
तमसको कथासार :
‘तमस’को सुरुआत एउटा सुँगुर मार्ने सामान्य घटनाबाट गरिएको छ । अनुभवहीन नत्थुले सुँगर मार्न अपनाएको डरलाग्दो कोसिसले पाठकलाई उत्सुक बनाउँछ । जातले सार्की नत्थुले कहिल्यै पनि सुँगुर मारेको थिएन । मरेको जुनसुकै जनावरको पनि छाला काढ्थ्यो नत्थु । कमिटी कर्मचारी मुराद अलीले नत्थुलाई सुँगुर मार्ने काम दियो । घोडाको चिकित्सक (सोलतरी) साहेबलाई डाक्टरी काम गर्न मरेको सुँगुर चाहिएको भनियो । “छाला काढ्ने काम भए गर्छु । सुँगुर मार्ने काम त कसाईंको हो ।” नत्थुले अनेक पटक बिन्ती गर्यो । “कसाईंलाई गराउने भए तिमीलाई किन भन्थेँ ?” भन्दै मुराद अलीले च्यातिएको ५ रूपैयाँ नत्थुको खल्तीमा जबरजस्ती घुसार्यो । ५ रूपैयाँ पेश्की लिइसकेकोमा पछुताउँदै प्राण दाउमा राखेर अन्ततः नत्थुले भोर फाट्नु अगावै सुँगुर मार्यो ।
त्यतिबेला जनजागरणको लागि काङ्ग्रेस पार्टीले बिहान सखारै नियमित प्रभातफेरि गथ्र्यो । बिहानको उज्यालो नहुँदै पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुन थाले । काङ्ग्रेसी कार्यकर्ताहरू जम्मा हुनुअघि नै कार्यालय अगाडि बाटोको कुनामा दुई जना सादा पोशाकका गुप्तचर प्रहरी उभिइरहेका थिए । कार्यकर्ताहरू एउटै विचारका थिएनन् । वरिष्ठ कार्यकर्ता बख्शीजी, बिमाको पनि काम गर्ने मेहताजी, नेताजी सुवास चन्द्र बोसको फौजका 'जरनल’, कम्युनिस्ट कार्यकर्ताको सम्पर्कमा रहेको कश्मिरीलाल, शङ्कर र अजिजलगायत जम्मा भइसके । आपसमा व्यङ्ग्यविनोद चल्यो । प्रभातफेरि सुरु गर्नै लाग्दा अन्तिममा मास्टर रामदास आइपुगे । रामदासले प्रभातफेरिपछि सरसफाइको (तामीरी) काम मात्र हुने बताए ।
काङ्ग्रेसको प्रभातफेरिको मुस्लिम लिगको टोलीसँग जम्काभेट भयो । ‘बोल भारत माता की – जय’ नाराको बीचमा ‘पाकिस्तान – जिन्दावाद’ नारा पनि सुनियो । रुमी टोपी लगाउनेले काङ्ग्रेसलाई हिन्दुहरूको मात्र समूह भन्यो । प्रभातफेरिका एक ज्येष्ठ नागरिकले भने, ‘हेर, यहाँ सिख पनि छन्, हिन्दु पनि छन्, मुसलमान पनि छन् । उः त्यहाँ अजिज उभिएको छ, हकिम उभिएको छ ।’ प्रभातफेरिमा हिँडेका अजिज र हकिमलाई हिन्दुहरूको कुकुरमात्र भनेनन्, काङ्ग्रेसका सभापति मौलाना आजादलाई गान्धीको पछाडि पुच्छर हल्लाउँदै हिँड्ने सबैभन्दा ठूलो कुकुर भन्न रुमी टोपीवाला हच्केन । “हिन्दुस्तानको आजादी हिन्दुहरूको लागि मात्र हो । आजाद पाकिस्तानमा नै मुसलमान आजाद हुन्छ ।” मुस्लिम लिगका कार्यकर्ताको भनाइ सुनेर जरनल आक्रोशित भयो र भन्यो, “पाकिस्तान मेरो लासमाथि !” कुनामा बसेर काङ्ग्रेस र मुस्लिम लिगका कार्यकर्ताहरूको विवाद, नाराबाजी सुनिरहेको नत्थुले मुस्लिम टोलीको पछाडि मुराद अलीलाई देख्यो ।
भीष्म साहनी
सूर्योदय भइसकेको थिएन । सुर्योदय देखाउन जिल्ला कार्यकारी आयुक्त रिचर्डले श्रीमती लीजालाई पहाडको शिखरमा लगेको थियो । लीजाको अगाडि रिचर्डले सो ठाउँको ऐतिहासिक महत्व दर्शायो । त्यही पहाडी भन्ज्याङ भएर हिन्दुस्तानमा आक्रमणकारीहरू आएका थिए । मध्य एसिया र मङ्गोलियाबाट मात्र होइन अलेक्जेन्डर पनि यही बाटो आएको थियो । यही भन्ज्याङबाट अफगानिस्तान र तिब्बत जाने बाटो छुट्टिन्थ्यो । त्यहाँबाट सत्र माइल टाढा खण्डहर तक्षशीला पथ्र्यो । कुनै जमानामा त्यहाँ धेरै ठूलो विश्वविद्यालय थियो । बेलायतबाट छ महिनापछि फर्केकी श्रीमतीलाई फकाउन उसले वातावरण, संस्कृति र इतिहासबारे बतायो । त्यहाँ अरू पनि रमाइला ठाउँ थिए । मेला लाग्दै थियो । तर, हिन्दु मुस्लिमबीच बढेको तनावका कारण दङ्गा हुनसक्ने भएकोले घुम्न मिलेन । लीजालाई हिन्दु मुस्लिमबारे खासै थाहा थिएन । सङ्ग्रहालय जस्तो रिचर्डको कार्यालयमा बुद्ध लगायतको मुर्तिबारे चर्चा गरेपनि लिजालाई हिन्दु मुस्लिमको द्वन्द्वबारे उत्सुकता जाग्यो । मुस्लिम र हिन्दु कसरी छुट्याउने ? रिचर्डको सरल जवाफ हुन्छ, “रोशनलाल भए हिन्दु अनि रोशनदीन भए मुश्लिम ।”
“यिनीहरू आपसमा लड्दै छन् ? लन्डनमा त तिमीले भनेका थियौ, जनता बेलायतविरुद्ध लड्दै छन् ।”
“हाम्रोविरुद्ध पनि लड्दै छन् अनि आपसमा पनि लड्दै छन् ।”
“कस्तो कुरा गर्छौ ? के तिमी फेरि मसँग ठट्टा गर्न लागेको ?”
“धर्मको नाममा आपसमा लड्छन् । देशको नाममा हामीसँग लड्छन् ।” रिचर्डले मुस्कुराउँदै भन्यो ।
“धेरै चलाख रहेछौ, रिचर्ड ! मैले सबै थाहा पाएँ । देशको नाममा यिनीहरू तिमीसँग लड्दै छन् । अनि धर्मको नाममा तिमी यिनीहरूलाई लडाउँछौ । कि, ठिक होइन ?”
“हामीले लडाउने होइन, लीजा । यिनीहरू आफै लड्छन् ।”
“तिमी यिनीहरूलाई लड्न रोक्न नि सक्थ्यौ । आखिर यिनीहरू एकै जातका मानिस त हुन् नि !”
“प्रिय, शासन गर्नेले जनतामा के-के समानता छ, हेर्ने होइन । यिनीहरूबीच एक अर्कोमा के-केमा भिन्नता छ, चासो राख्ने हो ।”
“फेरि तिमी के गर्छौ, रिचर्ड ?” “मैले के गर्नु पर्छ, लीजा ? शासन गर्छु !”
लीजाले ठूला आँखा पार्दै, “तिमी फेरि ठट्टा गर्न लाग्यौ, रिचर्ड !” भनी । “ठट्टा होइन, लीजा । यदि हिन्दु र मुस्लिमको बीचमा झगडा हुन्छ भने म के गर्न सक्छु ?”
“तिमी त्यो झगडालाई नियन्त्रण गर्दैनौ ?”
“म उनीहरूलाई भन्छु कि धर्म तिमीहरूको निजी मामिला हो । तिमीहरू आफैले समाधान गर्नुपर्छ । सरकार तिमीहरूको मद्दत गर्न पूरै तयार छ ।”
“तिमी उनीहरूलाई यो पनि भन कि तिमीहरू एकै नस्लका मानिस हौ । तिमीहरू आपसमा लड्नु हुँदैन । तिमीले मलाई उनीहरू एकै नस्लका हुन् भनेका थिएनौ र ?”
एकाएक लीजाको अनुहार चिन्तित देखियो, “तिमीलाई कुनै खतरा त हुँदैन नि, रिचर्ड ?”
“हुन्न, लीजा । यदि जनता आपसमा लड्छन् भने शासकलाई के कुराको खतरा हुन्छ ?” लीजाको गालामा थपथपाउँदै रिचर्ड बाहिर निस्क्यो ।
यता प्रभातफेरिमा हिँडेको टोली इमामदीनको टोलमा पुगेपछि सरसफाइ कार्यतिर लाग्यो । बिहानको उज्यालोमा आफ्नो हातमा झाडु देख्दा मास्टर रामदासलाई सङ्कोच लाग्यो । “ब्राम्हणलाई पनि झाडु उठाउन लगाउँछ, ए गान्धी महात्मा !” सबै मुसु मुसु हाँसे । बच्चाहरूले खुला शौच गर्ने नाली वर्षौंदेखि जमेको थियो । जमेको नालीको लेदो बाटो छेऊमा राख्दा झन् गल्लीमा दुर्गन्ध फैलियो । सफाइ गरेकामा टोल छिमेक खुशी हुनुभन्दा कराउन पो थाले ¤ सरसफाइको काममा लागेका काश्मिरीलालले भने, “नाली सफा गरेर स्वराज पाउन सकिँदैन ।” सरसफाइ काम गर्दै त्यही मुद्दामा छलफल चल्दै थियो । अचानक चौरतिरबाट दौडदै शेरखानको घरको गल्ली नाघेर केही मान्छे कानेखुशी गर्न थाले । काङ्ग्रेसका कार्यकर्ताहरू अलमलमा परे । हातमा चित्र लिएको गोरो बुढो मान्छेले ज्यानको माया भए तुरन्तै भाग्न भन्यो । सफाइ कर्म त रोके तर के गडबड भएको हो ? केही मेसो पाउन सकेनन् । पर मस्जिदको अगाडि सुँगुर मारेर फालेको थियो । मस्जिदको सिँढीमा बोरामा राखिएको कालो सुँगुर देखियो । “बख्शीजी, यहीँबाट फर्किऔँ ¤ अगाडि मुसलमानहरूको टोल छ ।” मास्टर रामदासले जिद्दी गर्यो । “अङ्ग्रेजले फ्याँकेको हो ।” जरनल बोल्यो, “अङ्ग्रेजको बदमासी हो । मलाई थाहा छ ।” जरनलको निर्दोष आक्रोशले पनि वातावरण झन् त्रासमय बन्यो । मरेको सुँगुरलाई मुसलमानले छुँदैन । सुँगुरलाई नहटाउँदासम्म तनाव झन् – झन् बढ्ने भयो । तर, मेहता बारम्बार बख्शीलाई यो मामिलामा नफस्न बल गर्दै थियो । जरनल र काश्मिरीलालको साथमा बख्शीले सुँगुरलाई मस्जिदको सिँढीबाट बाटो पारी ल्यायो । ठेलामा लैजान तयारी गर्दै थियो । त्यति नै बेला एक जना मानिस गाईलाई लखेट्दै आयो । अनुहार पहेँलो हुन थालेको बख्शीले भन्यो, “लाग्छ, सहरमा गिद्ध उड्ने छन् !”
मुस्लिमसित लड्न हिन्दुहरूको अलग तयारी भइरहेको थियो । पुण्यात्मा वानप्रस्थीजीको सत्सङ्ग तालिम चलिरहेको थियो । यद्यपि, कार्यकारी आयुक्तलाई भेटेर हिन्दुहरूको जनधन खतरामा रहेको जानकारी दिनुपर्ने व्यापारी लालाजीको तर्क थियो । “कार्यकारी आयुक्तकहाँ जानु आवश्यक छ, पक्कै । तर, पनि लालाजी, आफ्नो रक्षा त आफ्नै हातबाट हुन्छ नि !”
“ए, महाराज ! बच्चाहरूलाई लाठी चलाउन पक्कै सिकाउनू, चक्कु र तलबार चलाउन पनि सिकाउनू, साहसी बन्छ हाम्रो छोरा । तर, सबैभन्दा पहिला कार्यकारी आयुक्तलाई भेट ! दङ्गा हुन नदेऊ !”
“मैले सुनेँ, एउटा टोली कार्यकारी आयुक्तलाई भेट्न गएको छ ।” एक जना सिखले सूचना दियो, “त्यसमा केही काङ्ग्रेसी, केही लिगी र अरू सहरका मानिस छन् ।”
“हिन्दु-सिखहरूले अलग्ग पो भेट्न जानुपथ्र्यो । मुसलमानहरूको अगाडि मुसलमानहरूले के गरिरहेका छन् । के भन्न सक्थे र ¤ यो सबै काङ्ग्रेसले बिगारेको हो । उनीहरूले मुसलमानलाई टाउकोमा चढाइराखेका छन् ।”
लालाको छोरा रणवीर पनि वानप्रस्थीकोमा मास्टर देवव्रतसँग ‘युद्ध कला’ सिक्दै थियो । दिक्षा प्राप्त गर्नुअघि मानसिक दृढता देखाउन कुखुरा काट्न लगाइयो । वानप्रस्थीले भनेजस्तो तेल तताउनको लागि युवा सङ्घका सदस्यहरूले कराइ भेट्टाउन सकेका थिएनन् । सङ्गठनका नायक बोधराजलाई हलवाइको पसलमा कराइ हुनुपर्ने विचार याद आयो । त्रासले बजार सुनसान थियो । हलवाइको दायाँ गालामा एक मुक्का दिएर रणवीरले धर्मदेवलाई कराइ उठाउन लगायो । फुच्चे रणवीरले कसैसँग नडराउने दृढता देखायो ।
आइतबार कार्यकारी आयुक्तको कार्यालय बिदा । टोली रिचर्डको निवासमै पुग्यो । भेट्नुअघि नै रिचर्डले टोलीका सदस्यहरू सबैको प्रहरीबाट विवरण लियो । टोलीमा १६ वर्ष जेल जीवन बिताइसकेका गान्धी टोपी लगाएको बुढो बख्शी, रुमी टोपी लगाएको हयातबख्श, मुस्लिम लीगका कारकुन, मिसन कलेजका अमेरिकी प्राचार्य हरबर्ट, प्रोफेसर रघुनाथलगायत विभिन्न संस्थाका प्रतिनिधिहरू थिए । बख्शी उत्तेजित थियो । बिहानको घटनादेखि रिसाएको बख्शीले नै यो बैठकको लागि घर – घरमा गएर सबैलाई जम्मा गरेको हो । “सरकारले तुरन्तै यस्तो कारबाही गर्नुपर्यो जसले स्थिति नियन्त्रणमा आओस् । होइन भने सहरमा गिद्ध उड्नेछन् !” बख्शीको अलाप सुनेर रिचर्ड र प्रोफेसर रघुनाथको आँखा जुध्यो । अङ्ग्रेजी साहित्य र भारतीय इतिहासको अध्ययनमा दुवैको रुची थियो । रिचर्डलाई रघुनाथमात्रै एक सुशिक्षित व्यक्ति लाग्थ्यो । “सरकार त बदनाम छ । म अङ्ग्रेज अधिकारी हुँ । ब्रिटिस सरकारप्रति त तपार्इँहरूको विश्वासै छैन । हाम्रो कुरा तपार्इँहरू कहाँ मान्नुहुन्छ र ?” रिचर्डले मौकामा व्यङ्ग्य कस्यो ।
“तर, शक्ति त ब्रिटिस सरकारको हातमा छ । तपाई ब्रिटिस सरकारको कर्मचारी हो । सहरको रक्षा गर्नु तपाईको जिम्मेवारी हो ।”
“शक्ति त यतिबेला पण्डित नेहरूको हातमा छ ।” मुस्कुराउँदै रिचर्डले सूस्तरी भन्यो, “तपाइँहरू ब्रिटिस सरकारविरुद्ध लडेपनि ब्रिटिस सरकारको दोष, आपसमा लडेपनि ब्रिटिस सरकारलाई नै दोष ?”
“यदि प्रहरीको गस्ती भयो भने केही हुँदैन ।” हयातबख्शले थप्यो, “त्यहाँ मस्जिदको अगाडि जे भेटिएको छ, त्यसको पछाडि हिन्दुहरूको धेरै ठूलो बदमासी छ ।”
“तपार्इँ कसरी भन्नुहुन्छ, यसमा हिन्दुहरूको बदमासी छ ?” दानबीर लक्ष्मीनारायणले प्रतिवाद गर्यो ।
“कम्तीमा एउटा हवाइजहाज सहरमाथि उडाए पनि मानिसहरूलाई सतर्क बनाउँथ्यो । दङ्गा रोक्नको लागि यति नै पनि पर्याप्त हुन्थ्यो ।” बख्शीले फेरि पनि जोड दियो ।
विवाद बढ्दै गएपछि रिचर्ड बोल्यो, “वास्तवमा तपाईँहरू मेरोमा गुनासो लिएर आउनु नै गलत भयो । तपाइँहरू त पण्डित नेहरू या रक्षामन्त्री सरदार बलदेव सिंहसमक्ष जानुपथ्र्यो । सरकारको अधिकार त उनीहरूसँग छ ।”
बख्शी अझै उत्तेजित भएर बोल्यो, “मैले भरखरै खबर पाएँ कि आधा घण्टाअघि अङ्ग्रेज प्रहरी अधिकारीले हिन्दुको घर भाडामा बस्ने मुसलमानलाई निकाल्यो रे ¤ त्यसैले त्यस इलाकामा तनाव बढ्यो । सहरको अवस्था देखेर यस्तो कारबाही त रोक्न सकिन्थ्यो नि !”
रिचर्डको निवास रहेको ठाउँको पुलपारि एक जना हिन्दुलाई मारेको खबर आयो । रिचर्डले सबैलाई घरसम्म पुग्न प्रहरीको व्यवस्था गरिदिने बतायो । “तपाईँ हाम्रो चिन्ता नगर्नुस् । सहरमा कुनै गडबडी नहोस्, ध्यान दिनु जरुरी छ ।” बाहिर निस्कँदै बख्शीले भन्यो, “अहिले पनि समय छ, तपाई कफ्र्यु लगाउनुस् !”
सहरमा सबै काम बाँधिएजस्तो थियो । कपडाका धेरैजसो पसल हिन्दुहरूको थियो । जुत्ताको पसल अनि मोटर गाडी मुसलमानको र अन्नको काम हिन्दुकै हातमा थियो । सानातिना काम त हिन्दु र मुसलमान दुवै गर्थे ।
सहरको साम्प्रदायिक दङ्गाको कोलाहल रिचर्डको निवासमा पनि पुग्यो । लीजाको मन डराइरहेको थियो । रातको अन्धकारमा ‘अल्लाह-हो-अकबर !’ लीजाले सुनी । “के आवाज हो ? यसको अर्थ के हो ?”
“यसको अर्थ हो गड इज् ग्रेट !” (ईश्वर महान् छन्)
“यतिबेला यो आवाज किन ? कुनै धार्मिक पर्वको होला ।”
“धार्मिक पर्वको होइन, लीजा । साँच्चिकै सहरमा हिन्दु मुसलमानबीच दङ्गा सुरु भयो ।” रिचर्ड मनमनै हाँस्यो ।
“तिमी हुँदै दङ्गा सुरु भयो, रिचर्ड ? तिमीले यसलाई किन बन्द नगराएको रिचर्ड ? यहाँ मलाई डर लाग्छ । यिनीहरू लडे त तिम्रो ज्यानलाई पनि खतरा हुन्छ नि रिचर्ड !” लीजाको चिन्तामाथि चिन्ता थपियो, “यिनीहरू आपसमा लडे, के राम्रो हुन्छ र ?”
“के यिनीहरू मिलेर मेरो विरुद्ध लडे राम्रो हुन्छ ? अनि मलाई मारे राम्रो हुन्छ त ?” रिचर्डले कोल्टो फेर्दै भन्यो, “सहरमा गडबड छ लीजा । तिमी सुत !”
कोही पनि हिन्दु मुसलमानको गल्लीमा र कोही पनि मुसलमान हिन्दुको टोलमा जाने हिम्मत गर्न सबैले छोडे । कति गल्लीमा त मुसलमान र हिन्दुहरूको घर सँगसँगै छ । लाला लक्ष्मीनारायणको घरमा छोरा रणवीर आइपुगेन । छोराको चिन्ताले सतायो । लक्ष्मीनारायण छोरा खोज्न निस्कन खोज्यो । तर, श्रीमती मानिन, “यदि घरबाट निस्क्यौ भने मेरो गाढेको लास पाउनेछौ । आफ्नी जवान छोरीलाई म एक्लीसँग छोडेर जान्छौ ? कस्तो विपत्तिको समय आइलाग्यो ?”
“छोरा बाहिर गएको छ । म चुरा लगाएर घरमै बसिरहूँ ?”
“तिम्रो छोरा मेरो पनि छोरा हो । यस्तो बेला कहाँ खोज्न जान्छौ ? विद्यालय बन्द भइसक्यो । मन्दिरबाट मानिस कुनबेला निस्किसके होलान् । मैले कति पटक भनेँ – बच्चालाई आर्यवीर बनाउनु आवश्यक छैन ।” मास्टर देवव्रतबाट तालिम प्राप्त रणवीर मुस्लिममाथि हमला गर्न डटेर खटिरहेको थियो ।
काङ्ग्रेसको प्रभातफेरि र सरसफाइको काम सकियो । बिहान काङ्ग्रेसको कार्यालयमा पुग्दा ताला लगाइएको थियो । केही समय कुर्दा पनि कोही नआएपछि जरनलले नालीमाथि डिलमा उभिएर छोटो भाषण गर्यो, “सहरमा शान्ति कायम गरौँ ! यो सबै अङ्ग्रेजको बदमासी हो । दाजुभाइलाई आपसमा लडाइरहेको छ ।”
साम्प्रदायिक हमला रोक्न कम्युनिस्ट कार्यकर्ता देवदत्त पनि सक्रिय थियो । मजदुरहरूको बस्ती – बस्तीमा कार्यकर्ता परिचालन गरी आपसी सद्भाव कायम गर्न प्रयास गरिरहेको थियो । काङ्ग्रेस र मुस्लिम लिगका नेताहरूलाई जम्मा गर्न खोज्दा राजारामले अस्वीकार गर्यो । कम्युनिष्टहरूलाई राम्रो नराम्रो जे भन्ने गरेपनि हयातबख्श भेट्न तयार भयो । उसको आँखा रातो – रातो थियो र नारा लगायो, “लिएरै छाड्छौँ पाकिस्तान !, बनाएरै छाड्छौँ पाकिस्तान !” देवदत्तलाई बोल्ने मौका नै दिएन । कम्युनिस्ट पार्टीको कार्यालयमा झन्डा नै झन्डा थियो । एउटा नराम्रो खबर पनि थियो । एक जना मुस्लिम कामरेडको विश्वास हरायो र कम्युन छोडेर जाँदै थियो, “अङ्ग्रेजको बदमासी, अङ्ग्रेजको बदमासी, यसमा कहाँबाट अङ्ग्रेज आयो ? मस्जिदको सामुन्ने सुँगुर फ्याँकियो । मेरै आँखा अगाडि तीन गरीब मुसलमानलाई काटे । छोड्नुस्, सबै नचाहिने कुरा हो ।”
विचलित कामरेडलाई देवदत्तले यति नै भन्यो, “हतारमा केही काम नगरौँ साथी, हामी मध्यमवर्गका मानिस हौँ । पुरानो संस्कारको हामीमा गहिरो प्रभाव छ । मजदुरवर्ग भएको भए हिन्दु मुसलमानको प्रश्नले तिमीलाई समस्यामा पार्थेन ।” तैपनि रिसाएको कामरेड कम्युन छोडेर गयो । “साथीको सैद्धान्तिक आधार कच्चा छ । भावनाको लहडमा बहकिएर कोही कम्युनिस्ट बन्दैन । यसको लागि समाज विकासको नियम बुझ्न जरुरी हुन्छ ।” बैठकमा विभिन्न क्षेत्रको रिपोर्टमाथि छलफल भयो । सबै पार्टीको संयुक्त बैठक राख्ने निणर्य भयो । लिगका हयातबख्शकै घरमा संयुक्त बैठक बस्यो । देवदत्तको प्रस्तावअनुसार शान्तिको अपिलमा हयातबख्श र बख्श सबैले हस्ताक्षर गरे । फेरिपनि पाकिस्तान जिन्दावादको नारा लाग्यो । मजदुर बस्तीमा दङ्गा भएको खबर आयो । मजदुरहरू आपसमा लड्न थाले भने साम्प्रदायिक विषले निकै गहिरो असर पार्ने भयो । र, यो संयुक्त बैठकलाई पानीमा कोरेको चित्र सम्झनुपर्ने भयो । देवदत्त फेरि पार्टी कार्यालयमा गई साइकल लिएर निस्क्यो । दङ्गा रोक्न घरबाट ननिस्कने काङ्ग्रेसीलाई गद्दार भन्ने जरनल मारिइसकेको थियो ।
दिनभरि विभिन्न घटनामा पटक पटक नत्थुले मुराद अलीलाई देख्यो । साँझपख सीख कबाब पसलमा पचास पैसाको (अठन्नी) कबाब आयो र रक्सी पनि । मस्जिद अगाडि मरेको सुँगुर फ्याकेको घटनादेखि तनावमा रहेको नत्थुको दिमागमा अजीबको मस्ती छायो । उसले कुन बेला फूलको माला किनेर लगायो अनि विदेशी रक्सी पसलबाट राजाबजार नाघेर वेश्यालय गल्लीमा पुग्यो ? यादै भएन । त्यति नै बेला फेरि नत्थुले मुराद अलीलाई देख्यो । तर मुराद अलीले नत्थुलाई चिनेजस्तो नै गरेन । मुराद अलीको पछि पछि नत्थुसँग बोलेन । नत्थुलाई दैलोमा देखेपछि उसको श्रीमतीको ज्यानमा प्राण आयो । पहिला त रक्सी खाएर घर आउँदा हाँस्दै गाउँदै आउँथ्यो । नत्थुको पत्नीले भगवानबाट धैर्यको वरदान लिएर आएकी थिई । नत्थुले रिसाएर गाली गर्दा पनि भन्ने गर्थी, “भन, भन, मन हल्का गर !” नत्थुकी पत्नीले सुँगुरको प्रसङ्ग निकाली । सुँगुरको प्रसङ्ग आएपछि नत्थुको पाऊदेखि शीरसम्म जिङरिङ भयो । कुरा गर्दै रात अबेर भयो । बाहिर कोही चिच्यायो, “मण्डीमा आगो लाग्यो ।” टाढाबाट आवाज आयो, “अल्ला-हो-अकबर !” एक छिनपछि धेरै मान्छेहरूको एकै स्वर आयो, “हर-हर-हर महादेव !”
भोलिपल्ट बिहान मन हल्का बनाउन श्रीमतीलाई सबै कुरा बताऊँ जस्तो लाग्यो नत्थुलाई । फेरि, कतै फुस्काइ भने ? रक्सी खाएर पौवामा बेहोस् भई सुतिरहूँ भने यसबेला रक्सी कहाँ पाइन्छ र ? कसले पत्याउँछ, मुराद अलीले भनेर नत्थुले सुँगुर मारेको भन्ने ? मुराद अली त मुसलमान हो । सिधै गएर कालु भङ्गीलाई सोधौँ, मारेको सुँगुरलाई कहाँ लगेका थियौ तिमीले ? रातिदेखि नै अनौठो कुरा गरिरहेको हुँदा नत्थुकी पत्नीले भनी, “यस्तो नगर न, मलाई डर लाग्छ ¤” नत्थुले झस्केर भन्यो, “मलाई किन डर लाग्छ ? मैले त कसैको घर जलाएको छैन ¤”
“हिजो राति कहाँ गएका थियौ ? केही बताएनौ । भनेनौ भने म आफ्नै टाउको ठोक्काउँछु । तिमी कहिल्यै मसँग मनको कुरा लुकाउँथेनौ । आज किन लुकाउँदै छौ ?”
“तिमीलाई थाहा छ ? मण्डी
(बजार) मा किन आगो लगेको हो ?”
“थाहा छ, कसैले सुँगुर मारेर मस्जिद अगाडि फ्याँकेको थियो । त्यसैले मुसलमानहरूले मण्डीमा आगो लगाएका हुन् ।”
“त्यो सुँगुर मैले मारेको थिएँ ।”
“तिमीले ¤ किन नराम्रो काम गरेको ? सुँगुर फ्याँक्न पनि तिमी गएको ?” नत्थुको पत्नीको शरीरमा रगत सुकेझैँ भयो । आँखा फाटेर हेरिरही ।
“होइन, कालुले गाडामा राखेर लिएर गयो ।”
“कालु त मुसलमान हो । त्यसले कसरी लग्यो ?”
“कालु मुसलमान होइन, इसाइ हो । गिरिजाघर जान्छ ।”
“त्यसैले त यति तनावमा किन भन्छु । तिमीले मलाई किन भनेनौ ? आफ्नो दुःख मनभित्र राख्नु हुँदैन ।”
“मलाई थाहा भएको भए, म किन यस्तो काम गर्थेँ ?” नत्थु बरबराउन थाल्यो, “मलाई भनेको थियो, घोडा चिकित्सक (सलोतरी) साहेबले सुँगुर मागेको छ । हिजो राती मैले मुराद अलीलाई देखेँ तर मसँग बोलेन ।”
“सुँगुर मारेको कति पैसा पायौ ?”
“पाँच रूपैयाँ । उसले मलाई पेश्की दिएर गयो ।”
“पाँच रूपैयाँ ? यति धेरै ? तिमीले के गर्यौ त्यो रूपैयाँ ?”
“केही गर्या’छैन । चार रूपैयाँ बाँकी छ । मैले सोचेँ, तिम्रो लागि धोती किनूँ ।”
“मैले यो पैसाले धोती लिन्छु ? म त्यो पैसालाई आगो लगाउँदिनँ ?” नत्थुकी पत्नी आवेशमा आई, “तिमीलाई यस्तो कुकर्म गराएछ ¤” फेरि आफै सम्हाली र मुस्कुराउँदै बोली, “यो त तिम्रो कमाइको पैसा हो । म किन लिन्न ? यसबाट तिमी जे भन्छौ त्यही लिन्छु ।”
नत्थुको हातमा चियाको गिलास दिँदै बोली, “तिमी पनि जाऊ, डेरावालहरूसँग भेट । म पनि काम गर्छु । बसी बसी के गर्ने ?”
पहिला खानपुरबाट बिहान ८ बजे बस आउँथ्यो । आज दिउँसोसम्म पनि आएन । गाडी नआएपछि मान्छेहरू आएनन् । चिया पसलमा ग्राहक आएनन् । बन्तोले अघिल्लो साँझदेखि नै खानपुर जान भनिरहेकी थिई । त्यहाँ आफ्ना नाता आफन्तहरू थिए । वर्षौँदेखि बस्दै आएको गाउँ छोडेर जान हरनामसिंहलाई मन लागेन । साथै, सबै साथीभाइ भएकोले समस्या पर्ला भन्ने सोचेको पनि थिएन । तर, करीमखानले निस्केर जाऊ भन्ने खबर गरेपछि हरनामसिंह आत्तियो । साठी वर्ष नाघेकी महिला कति टाढा भाग्न सक्छे ? फेरि जान पनि कहाँ जाने ? के के लिएर जाने ? हतार – हतार घरबाट बुढाबुढी निस्के । बगरै बगर पूणर् चन्द्रमाको उज्यालोमा हिँड्दा टाढाबाट पनि देख्लान् भन्ने पीर । अलि पर पुगेपछि पछाडि फर्केर हेर्दा आगोको मुस्लो देखियो । आफ्नै पसल जलेको । हरनामसिंहले करीमखानलाई मनमनै धन्यवाद दियो । धन्न ज्यान जोगियो । तर, अगाडि के हुन्छ ? कसले भन्न सक्थ्यो । हरनामसिंहले यति भन्यो, “बन्तो, यदि मान्छेहरू मलाई मार्न आए भने म पहिला तिमीलाई मार्छु अनि आफैलाई मार्छु । जिउँदो छँदै तिमीमाथि अरूलाई हात हाल्न दिन्न ।”
एउटा सुनसान गाउँमा हरनामसिंहले दोस्रोपटक ढोका ढकढक्याएपछि जवाफ आयो, “घरका लोग्नेमान्छे बाहिर गएका छन् ।” बन्तो बोलेपछि ढोका खुल्यो । घरमा सासु र बुहारीमात्र थिए । ससुरा र बुढा आएपछि गाली खानुपर्ला भनी बुहारीले पाहुना राख्न मानिन । सासुले हिम्मत गरी । पाहुनालाई आटीमा बस्न दिई । हरनामसिंहसँग भएको बन्दुक लिई । बन्दुक दिनुपर्दा हरनामसिंहको प्राण नै दिएजस्तो भयो । शरण दिनेले भनेजस्तो गर्नुको विकल्प पनि त थिएन । केही समयपछि ससुरा एहसान अली आइपुग्यो । बुहारीलाई लुटेको सामान हेर्न हतार भयो । सन्दुकको ताला फोड्न लगायो । आटीको चरबाट हरनामसिंहले देख्यो, सन्दुक त आफ्नै । एहसान अलीलाई लस्सीको गिलास दिँदै सासु राजोले एक सिख र उसकी पत्नीलाई घरमा शरण दिएको बताइ । अनि हरनामसिंहले “ताला फोड्नु पर्दैन । साँचो लिनू । त्यो मेरै सन्दुक हो, अब तपार्इँकै भयो ।” भनी आटीबाट चाबी खसाल्यो । एहसान अलीलाई चोर समाते जस्तो लाग्यो । एहसान अली र हरनामसिंहबीच कारोबार चलेको थियो । “हिजो पनि तिमीलाई खोजिरहेका थिए । तिमीलाई यहाँ लुकाएको थाहा पाए बर्बाद हुन्छ । तिमी निस्केर जाऊ । यसैमा भलाई हुन्छ” एहसान अलीले जोड गर्यो । दिउँसोको उज्यालोमा निस्के कसले छोड्ला र ? बुहारीले आटीमा लिस्नो अड्याई । हरनामसिंह दुवै झरे । हरनामसिंह आफ्नो बन्दुक माग्न जाँदै थियो । एहसान अलीले राजोलाई भन्यो, “पछाडि धन्सारमा राख । बाहिरबाट यही ताला लगाइदेऊ । छिटो, छिटो ।” छोरा आएपछि चिच्याउँदै बन्चरोले धन्सारको ढोकामा हान्न थाल्यो । राजोेले रोकी । छोरालाई पाहुना राखेको भनेकोमा बुहारीलाई गाली गरी । छोरालाई सम्झाइ, “तिमी के चाहन्छौ रमजाना ? घरमा हत्या गर्छौ ? घरमा शरण लिनेलाई मार्छौ । यो मान्छे हाम्रो चिनजानको हो । हामीलाई सहयोग गरिरहेका छन् ।”
“तिमी धेरै बकबक नगर आमा, सहरमा यी हिन्दुहरूले दुई सय मुसलमानहरूलाई मारिसके ।” आखिरमा बन्चरोले ताला फोडि छाड्यो । हरनामसिंहको कठालो समात्यो । रमजानाले पनि हरनामसिंहको पसलमा चिया खाएको थियो । रमजानाले बन्चरो उठाउन खोज्यो । हातको बन्चरो उठाउन सकेन । आधा रातमा राजो अघिअघि हरनामसिंह र बन्तो पछिपछि झाडी छेऊ हुँदै निस्के । गाउँको पुच्छार डाँडामा पुगेपछि राजोले हातमा बोकेको बन्दुक हरनामसिंहलाई दिइ । “मलाई थाहा छैन । म तपाईहरूको ज्यान बचाइरहेकी छु कि मृत्युको मुखमा धकेलिरहेकी छु ? चारैतिर आगो लागेको छ ।” राजोले सेतो कपडा बेरिएको सानो पोको दिइ, “राख्नुस् तपाईको सामान ।”
“के हो, बहिनी यो ?”
“यो तपाईँको सन्दुकमा पाइएको गहना । मैले निकालेर ल्याएकी हुँ । अगाडि तपार्इँहरूको कठिन समय छ । सँगै राखे सहारा हुन्छ ।”
“भगवानले तपाईको रक्षा गरून् ! राम्रो कर्म गरेको रहेछु र तपाईसँग भेट्न पाइयो ।” हरनामसिंह झन् कृतज्ञ भयो । छुटिएर पर पुगेपछि फर्केर हेर्दा राजो अझै पनि हेरिरहेकी थिइ ।
गुरुद्वाराको सङ्गतीमा खचाखच मान्छेहरू झुम्मिरहेका थिए । आँखा बन्द गर्दै भजन गाइरहेका थिए, “तिमीविना मेरो को छ र मालिक (गोसाईं) .. ।” तीन सय वर्षअघि पनि यस्तै बलिदानीपूणर् गीत गाइएको थियो, तुर्क हमलाकारीसँग लड्न । आज फेरि सिख जातिमाथि सङ्कट आयो । गुरुद्वारामा युद्धको तयारी भइरहेको थियो । सङ्गतीमा तेजासिंहले रिचर्डलाई मुसलमानहरूको गतिविधि जानकारी दिइसकेको र मुस्लिमहरूलाई समझदारीमा आउन अनेक प्रयास गर्दा पनि कुरा गर्न नमानेको बरु अर्को मुरीदपुरका मुसलमानहरूलाई हतियार लिएर आउन बोलाएको बतायो । “तपार्इँले कोसिस गर्नुभएको छैन । यो सरासर झूट हो ।” सङ्गतीको बीचबाट एकाएक आवाज आयो ।
“बस ! बस ! को गद्दार हो यो ? चुप लाग ।”
“म बस्दिनँ । दाजुभाइहरू, म अझै पनि भन्छु । शेख गुलामलगायत गाउँका मुसलमानहरूसँग भेट्नुपर्छ ।” सोहनसिंह बोलिरह्यो, “गाउँका सिख र मुसलमानहरू मिलेर बस्नुपर्छ । तिनीहरू हाम्रो डरले हतियार जोडिरहेका छन् । हामी उनीहरूको डरले हतियार जम्मा गरिरहेका छौँ ।” सोहनसिंहको सद्भावको आग्रह सुन्ने कसैलाई फुर्सद थिएन । तेजासिंहले एकपछि अर्को मुसलमानहरूले मारकाट र अपहरण गरेको झूटा विवरण दिएर सङ्गतीलाई उत्तेजित बनाइरह्यो । त्यसपछि दुई दिन दुई रातसम्म लगातार भिडन्त भइरह्यो । गुरुद्वारामा हतियार सकिएपछि लड्न सम्भव भएन । तुर्कहरू आएका थिए, आफ्नै छिमेकी गाउँका । लडाइँ ऐतिहासिक लडाइँकै शृङ्खलाको एक अङ्ग थियो । लड्नेहरूले बीसौँ शताब्दीमा पाइला टेकेका थिए, शीर मध्ययुगको बोकेका थिए । बस्तीमा जताततै लासै लास थियो । गुरुद्वाराभित्र ढोकानेर युद्ध परिषद्का पाँचै सदस्य तेजासिंहसँगै सम्झौताका सर्तमाथि विचार विमर्श गर्दै थिए । “दुई लाख मागेको छ । दुई लाख रूपैयाँ हामीले कहाँबाट ल्याउने ?”
“हाम्रो कमजोर अवस्था उनीहरूले थाहा पाए होलान् ।”
“त्यसको बाउले पनि थाहा पाउन सक्दैन ¤” हीरासिंहले जोड दिएर भन्यो, “हामीले पनि उनीहरूको थोरै मान्छे काटेका छौँ र ? उन्नाइस बीसको फरक होला, सिंहजी । हाम्रो दुर्भाग्य कि हाम्रो हतियार सकियो ।”
“बीस पच्चीस हजारभन्दा धेरै नहोला ! तिनीहरू दुई लाख मागिरहेका छन् । दुई लाख हामीले कहाँबाट ल्याउने ?” महिलाहरू सबैले खोलेर दिएको गहना उचाल्दै तेजासिंहले गहनाको तौलअनुसार मूल्य अनुमान लगायो ।
“दिन चाहे, दुई लाख त तपाईँ एक्लैले दिन सक्नुहुन्छ, तेजासिंहजी ।” तर, तेजासिंहले कुनै प्रतिक्रिया दिएन ।
शेख गुलाम रसूलको घरबाहिर चौतारीमा आ-आफ्नो अनुभवको किस्सा सुनाउँदै थिए । “जब हामी गल्लीमा पस्यौँ, कोही यता कोही उता भागे । एउटी हिन्दु केटी घरको छानाबाट भागी । अर्काको छानामा गएर समात्यौँ । पालैपालो दबायौँ ।”
“साँच्चिकै ?”
“कसम अल्लाह पाकको । जब मेरो पालो आयो, कुनै प्रतिक्रिया देखाइनँ । यसो हेर्छु, केटी त मरिसकेकी रहिछ ¤ तै पनि मैले छोडिनँ ।”
अर्को मुजाहिदले सुनायो, “समय – समयको कुरा हो । एउटा महिला हाम्रो अगाडि आइपुगी र चिच्याउन थाली । लाज नभएकी भन्न थाली – मलाई नमार, मलाई तिमीहरू सातै जनाले पालैपालो राख, जे मन लाग्छ गर, मलाई नमार ।”
“अनि ?”
“अनि के ? अजीजले उसको छातीमा सिधै चक्कु घुसायो । त्यहीँ मरी ।”
पचास हजारमा सम्झौता गर्न वार्ताको लागि प्रतिनिधि पठाइँदै थियो । हमलाकारीहरू आए । हाहाकार भयो । “तुर्क आयो ! तुर्क आयो !” महिलाहरू कोही चिच्याउन थाले । कोही गुरुवाणी पाठ गर्न थाले । कोही जोशमा चिच्याए, “जहाँ मेरी जसवीर जान्छी, त्यहाँ म पनि जान्छु ।” कसै कसैका आफ्ना बच्चाहरू पनि साथमै थिए । बच्चाहरू काखमा बोकेर महिलाहरू गुरुद्वाराबाट निस्के । गल्लीको दायाँ हुँदै इनारनिर पुगे । सबैभन्दा पहिला जसवीर इनारमा हाम फाली । जसवीर हाम फालेपछि अरू महिलाहरू पनि इनारको पर्खाल (जगत) चढ्दै झरे । हरिसिंहकी पत्नीले पहिला चार वर्षको बच्चालाई पर्खालमा चढाइ र उभिइ अनि बच्चालाई तान्दै हाम फाली । देवासिंहकी गृहणी दूध चुस्ने बच्चालाई छातीमा टाँसेरै फाल हाली । प्रेमसिंहकी पत्नी आफू फाल हाली तर बच्चा छुट्यो । त्यसलाई ज्ञानसिंहकी पत्नीले धकेलेर आमाकोमा पुर्याइदियो ।
कफ्र्यु जारी भयो । उद्धार समिति र शरणार्थी क्याम्प खुल्न थाल्यो । रिचर्डले इनारमा महिला र बच्चा हाम फालेका गाउँमा रोग फैलिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरू पठायो । रिचर्डको यस्तै सक्रियताले गर्दा प्रोफेसर रघुनाथलाई रिचर्ड प्रशासकभन्दा बढी कोमल भावनाका किताबी मान्छे लाग्थ्यो । रिचर्डले कार्यालय अगाडि भेला भएका मान्छेलाई भेट्नुअघि सबैको रिपोर्ट लियो । अरू त त्यस्तै हो कम्युनिस्ट देवदत्तले प्रश्न उठाउला भन्नेमा सतर्क भयो ।
लास नाघ्दै मुसलमानहरू गल्लीबाट सिधै गुरुद्वारातिर जाँदा गुरुद्वारामा एक जना पनि महिला थिएनन् । इनारबाट महिला रबच्चा चिच्याएको कारुणिक आवाज आइरहेको थियो । चन्द्रमाको उज्यालो पनि पहेँलो भयो । झिसमिसे उज्यालो हुँदै थियो । गुरुद्वाराभित्र एउट बत्ती अझै बलिरहेको थियो । युद्ध परिषद्का चारै सदस्य अन्तिम घडी पर्खिबसेका जस्ता थिए । तेजासिंह खाद्य भण्डार कोठाको गहुँको बोरामा टाउको अड्याएर बसेको थियो । ठाउँ – ठाउँमा गिद्धहरूको बथान थियो । गल्लीहरू सुनसान थियो । मोटे कसाईंका छोराले गुरुद्वाराको पछाडि ढोकामा तेल छर्केर आगो सल्काउनै लाग्दा आकाशमा हवाइजहाजको आवाज आयो र केटो भाग्यो । सबैलाई लाग्यो, दङ्गाको खबर अङ्ग्रेजसम्मलाई पुग्यो । अब कतै आगो लाग्दैन, कसैले बन्दुक चलाउँदैन ।
कफ्र्यु जारी भयो । उद्धार समिति र शरणार्थी क्याम्प खुल्न थाल्यो । रिचर्डले इनारमा महिला र बच्चा हाम फालेका गाउँमा रोग फैलिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरू पठायो । रिचर्डको यस्तै सक्रियताले गर्दा प्रोफेसर रघुनाथलाई रिचर्ड प्रशासकभन्दा बढी कोमल भावनाका किताबी मान्छे लाग्थ्यो । रिचर्डले कार्यालय अगाडि भेला भएका मान्छेलाई भेट्नुअघि सबैको रिपोर्ट लियो । अरू त त्यस्तै हो कम्युनिस्ट देवदत्तले प्रश्न उठाउला भन्नेमा सतर्क भयो । देवदत्तलाई रिचर्डले तीन तीन महिना गरी दुईपटक जेल हालिसकेको थियो । देवदत्तले दङ्गाअघि र दङ्गा हुँदा पनि रोक्नको निम्ति कोसिस गरिरहेको थियो । एक जना त काङ्ग्रेस पनि हो, सोसलिस्ट पनि हो र प्रहरीको गुप्तचर पनि हो, यसले गडबडी गर्न सक्थ्यो । भेलामा लाला लक्ष्मीनारायणले प्रस्ट भन्यो, “हामी कार्यकारी आयुक्त साहेबलाई विश्वास दिलाउँछौँ कि सहरका जनता र सहरका सबै संस्थाहरूले सरकारलाई पूणर्रूपमा सहयोग गर्छन् । हाम्रो भाग्य हो कि यस्तो योग्य, दयालु हाकिम यस जिल्लाले पाएको छ ।”
अर्को दिन शान्ति समिति गठनको लागि भेला भयो । भेलाको ठाउँबारे कसैको आपत्ति थिएन । किनभने, यो ठाउँ हिन्दुको पनि होइन, मुस्लिमको पनि होइन, इसाइको कलेज थियो । प्रिन्सिपल पनि अमेरिकी पादरी थियो । मुस्लिम लिगको हयातबख्श, काङ्ग्रेसको बख्श र गुरुद्वाराको जोधसिंह उपसभापति अनि देवदत्त महासचिव रहेको र मुस्लिम ७, हिन्दु ५, सिख ३ गरी १५ सदस्यीय शान्ति समिति गठन भयो । शान्ति समितिका पदाधिकारीहरू बसमा बसेर सहर र गाउँमा शान्तिको अपिल गर्न जाने निणर्य भयो । शान्ति अपिल गर्न जाने बस सरकारले नै दियो । बसमा जोडिएको लाउडस्पीकरबाट आवाज आयो, “हिन्दु-मुस्लिम – एक होऔँ !”
“हिन्दु-मुस्लिमको इतिहास – जिन्दावाद !”
“शान्ति समिति – जिन्दावाद !”
बसभित्रबाट नारा लगाउने को हो ? नत्थु मरिसकेको थियो । नत्र नत्थुले फ्याट्टै भन्थ्यो – मुराद अली ।
उपसंहार :
भीष्म साहनीले आफ्ना दाजु बलराजलाई समर्पण गरेका यस उपन्यास तमस २१ खण्ड र २५६ पृष्ठको छ । जम्मा ५ दिनभित्र घटेको घटनालाई कथाक्रम बनाइएको छ । तर, ती पाँच दिनको कथाले सिङ्गो बीसौँ शताब्दीको हिन्दुस्तानको व्यथालाई समेटेको छ । नेपालमा पनि जातीय राज्यको मुद्दा उठ्ने गरेको र भारतमै पनि मोदीको फासीवाद उदय भइरहेको सन्दर्भमा 'तमस’ झन् हृदयस्पर्शी र मार्मिक उपन्यास साबित हुन्छ । वणर्नात्मक, मनोविश्लेषणात्मक र विश्लेषणात्मक शैलीमा अगाडि बढाइएको तमस उपन्यास साम्प्रदायिकताको आडमा हुने पाशविकताको नङ्गा नाचलाई सम्पूणर्तः उदाङ्गो पार्न सफल छ ।