---------
मैले जान्दा वहाँको नाम
बिर्खे थियो
बिस्तारै अल्गिने क्रममा वहाँलाई मुखियाबाले
चैनेजो!ए बिर्खबहादुर !भनी बोलाउन थाल्नुभयो
अनि सबैले गाँउमा बिर्खबहादुर भन्न थाले
मुखियाबाको ऋण फर्स्याइ सक्दा अब वहाँ
बिर्खबहादुर बन्नुभयो
बेलामौकामा
मुखियाबाका पढ्न मुङ्लानिएका छोराछोरीहरूलाई
धान्न सरसापटी
मुखियाबालाई
चलाउन थाले पछि
मुखियाबा बिर्खेको धनको कदभन्दा अलिकति बाउन्ने हुनथाले पछि
वहाँ बिर्खबहादुर साहु भनिन थाल्नु भयो।
उफ् यो समाजमा !
कतिपटक न्वारन गरिन्छ एउटै मान्छेको।
एउटै मान्छेको बान्कीको।
सार्है भाग्यमानी वहाँ पटकपटक न्वारन गरियो
अबत निकै अल्गिनुभयो
जिल्लाले वहाँलाई साहु बिर्खबाबु संबोधन गर्न थाल्यो
बिस्तारै राष्ट्रका महाराजहरूले नामका अघि
मन्त्री थपिदिए
ऐले वहाँ मन्त्री बिर्खबहादुर धुसाज्यू भनी बोलाइनु हुन्छ
अघिका मुखियाबाले वहाँलाई स्वस्ती गर्नुहुन्छ
वहाँले अाजकाल अरू भुँइमा रहनेको कुरै छाडौं
मुखियाबालाई पनि चिन्न छाड्नु भएको छ ।
वहाँलाई भेट्न मुखियाबालाई समय मिल्न छाड्यो
वहाँले निकै बाक्लो चश्मा लाउनुभयो
गुहू र गोबर पनि चिन्न छोड्नु भयो
पन्ध्र दिने नानीको अाचि र गाईको घ्यू पनि छुट्याउन छाड्नु भयो।
वाह !बिर्खे ऐले त याँहा निकै नै अल्गनु भयो
जमिननै छाड्नु भयो
तर हेर्नुहोस्त
तपाईं भन्दा निकै बलियो
निकै नै अल्गो
त्यो सखुवाले जमिन छाडेको छैन
र ऊ होचिएको पनि छैन
हेरिरहेको छु म!
सखुवाले जमिन छाडेको छैन
र मैले जमिन छाडेपछि सखुवाको हाल के हुन्छ?
कल्पना गरेको पनि छैन।
बस् म हेरिरहेँछु एकनास
सखुवाको सुन्दर उचाई
र बिर्खेज्यूको कुरूप सौर्न्दर्य ।।
(कवि,लेखक,मधुपर्कको पुर्व संपादक)