बिमला आचार्य
मानिस सचेत, संगठित एवं गतिशील प्राणी मानिन्छ । मानिस छोटो तथा लामो दुरीको यात्रा नगरी रहन सक्दैन । केही यात्राहरु निकै प्रिय र मन मस्तिष्कमा अमिट छाप बनेर बसेका हुन्छन त केही समय सँगसँगै विलीन भएर जान्छन् । सम्झनामा रहने यात्रा होइन, विशेषगरी यात्रामा हुने घटनाक्रम हुन। भनिन्छ, सुखका पलहरु भन्दा दुखद क्षणहरुले लामो समयसम्म मस्तिष्कमा डेरा जमाएर बस्ने गर्छन् । केही आदरणीयहरुसँगको कुराकानी अथवा प्रियजनहरुको माया त केही दुखद पलहरु बढी मानसपटलमा रहन्छन् । दुखद घटना सम्झनामा रहन्छन् भन्नुको तात्पर्य रमाइला पलहरू याद रहँदैनन् भनेको पक्कै होइन । मैल आज छोटो यात्रा पनि निकै फलदायी भएको स्मरण गर्दैछु ।
मलाई सम्झना छ, श्रावण महिनाको समय थियो । केही स्वच्छ हावामा कावा खाँदै प्रकृतिसँग एकैछिन रमेर फर्कौं भनी दाजु, दिदी र म कोठाबाट बाहिरिएका थियौं । काठमाडौंको उपत्यकामा अवस्थित ऎतिहासिक, सुन्दर र रमणीय र साँस्कृतिक रूपले भरिपूर्ण ठाउँ किर्तिपुरको थुम्कोमा रमाउँदै थियौं । गर्मीको मौसममा किर्तिपुरको डाँडामा घुम्नुको मज्जा बेग्लै हुन्छ । किर्तिपुरको उत्तरी भेगमा अवस्थित बाघभैरव मन्दिरको प्राङ्गणबाट हामी काठमाडौंलाई नियाल्दै थियौं । त्यहाँबाट काठमाडौं उपत्यका प्रष्ट देखिन्छ । काठमाडौं उपत्यकाका गगनचुम्बी महलहरु नियाल्दै गर्दा मेरो मनमा अनेकौं कुरा खेलिरहेका थिए । हामी बाहेक पनि थुप्रै मानिसहरु बाघभैरव मन्दिरको परिसरमा थिए । कोही बसेर गफिंदै थिए । कोही घामसँगै बदामको स्वाद लिँदै थिए, त कोही फोटो खिचेर रमाउँदै थिए । सबै आ-आफ्नो धुनमा मग्न थिए । यतिकैमा मेरो नजर मन्दिरको पेटीमा पल्टिरहनु भएकी अन्दाजी ४५-५० वर्षकी महिलामा पुग्यो । उहाँको छेवैमा ५०-५५ वर्षका पुरूष पनि उदास मुद्रामा पर्पुरोमा हात लगाएर टोलाइरहनु भएको थियो । मलाई लाग्यो, उहाँहरूलाई केही समस्याले पिरोलेको छ । बायाँतिर एक बुढी आमा हुनुहुन्थ्यो, उहाँको अनुहारमा भएको चिन्तित भाव प्रष्ट देखिन्थ्यो । लगभग ७०-७५ वर्षकी देखिने आमा, आफ्ना प्रियजनको पर्खाइमा वर्षौंदेखि हराउनु भएको जस्तो लाग्यो । मेरो मनले आफैंसँग प्रश्न गरिरहेको थियो । म उहाँहरुकै परिवेशमा हराउँदै थिएँ । दाजु र दिदी समाज, व्यवहार र अध्ययनको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो । दाजु हँसिलो, फरासिलो र चन्चले स्वभावको हुनुहुन्छ । उहाँको चन्चले स्वभाव जो कोहीले सहजै अनुभुती गर्नसक्छ । उहाँको नजर पनि बुवा आमाहरुमा पुग्यो । "उहाँहरु कर्णालीतिरको जस्तो हुनुहुन्छ है दिदी" भन्दै आफ्नो कुराको सिलसिला मोड्नुभयो । दिदीले हो, जस्तो छ भन्दै हुनुहुन्थ्यो । दाजुले उहाँहरुको नजिकै पुगेर परिचय सुरु गरिहाल्नुभो ।
"आमा नमस्ते !" हजुरहरुको घर कहाँ पर्यो होला ? बुढी आमाले जवाफमा दैलेख भन्नुभयो । "अंकल नमस्कार !" "अनि हजुरको घर चै कहाँ नि ?" बुबालाई पनि सोध्नुभयो । बुबाले दुई हात जोड्दै डोल्पा हो बाबू भन्नुभयो । "बाबू नानीहरूको घर चाहिँ कता पर्यो होला कुन्नि ?" उहाँले उत्सुकता पुर्वक सोध्नुभयो । हामीले आफ्नो परिचय दियौं । कुराकानी गर्दै जाँदा आजकालका केटाकेटीहरुमा नम्रता हराउँदै गएको गुनासो बुबाले गर्नुभयो । जिम्मेवारीबाट पन्छिएर भाग्न खोज्ने प्रचलन बढेकोमा दु:ख व्यक्त गर्दै हामीलाई बिस्तारै उहाँले आफ्नो विगततिर लैजानुभयो ।
दाजु, दिदी र म उहाँको कुरा ध्यानपूवर्क सुन्न थाल्यौं, उहाँका दु:ख र संघर्षका पानाहरु । मानिस कुनै न कुनै समस्यामा हुन्छ । प्रत्येक मानिस आ-आफ्नो दुस्ख बोकेर बाच्न वाध्य छ । कहिलेकाहीँ मलाई लाग्छ, हाम्रा सम्पत्तिहरुमध्ये दु:ख पनि एक हो । सबैसँग आ-आफ्ना दु:खका कथाहरु छन् । कथाभित्रका व्यथाहरु छन्, तिनै व्यथाहरुले दिएका अनगिन्ती चोटहरु पनि । हेर्दा पर्यटकहरुको मनै लोभ्याउने हिमशिखरको फेदीमा देखिने बस्ती र ती बस्तिहरुभित्र लुकेका दु:ख र संघर्षका कथा सायदैले कल्पना गर्न सक्छन् । सामाजिक संजाल र सिनेमाहरुमा देखाइने कथाभन्दा फरक । सिनेमामा देखिने ती लोभलाग्दा दृश्यका पछाडी लुकेका चोटिला आघातका आँसु कसले पुछिदिने ? कसले थामिदिने ?
अभिभावकमा चेतनाको कमी भनौं वा बाच्ने आधार । फकाइ फुलाई बाख्रा गोठाला पठाउनुहुन्थ्यो रे । साँझ गोठालाबाट फर्किसकेपछी भेडाबाख्राको पेट हेरेर मात्रै खाना थपिदिने गर्नुहुन्थ्यो रे । यसरी पेटभरि खान पनि नपाइने घरको अवस्था र जिम्मेवारीले गर्दा १२/१३ वर्षको कलिलो उमेर, साथीहरूसँग रमाउँदै डाँडा पाखाहरुमा खेल्ने समयमा भारतको आसाम पुगेर होटलमा भाँडा धुने, घरका केटाकेटी हेरिदिने, गेटमा पाले बस्ने, भारी बोक्ने जस्ता शारीरिक कठिनाईका सम्पूर्ण काम गर्नुपरेको नमिठो अनुभव ताजै छ बुबासँग । परदेशमा बसेर दुख गरेर परिवारको दुखलाई पार लगाउन नसकिने रहेछ भन्ने बुझेर स्वदेश फिरेका बुबा १३ दाजुभाइ मध्ये माहिला हुनुहुँदो रहेछ । अहिलेसम्म पनि समय थाहा पाउने घडी, रेडियो, टेलिभिजनजस्ता आधारभूत उपकरण समेतको अभाव हुने ठाउँमा आजभन्दा झण्डै ५ दशक पहिलेको अवस्था कस्तो थियो होला ? हाम्रो लागि कल्पना भन्दा बाहिरको कुरा हो भन्दा अतिशयुक्ति नहोला । "सानो परिवार, सुखि परिवार" भनी एक वा दुई सन्तान मात्रै जन्माउने युगमा प्रवेश गरेका हामीलाई १२, १३ सन्तान थियौं भन्दा अपत्यारिलो लाग्यो ।
"यति धेरै सन्तान हजुरकोमा मात्रै कि सबैकोमा यस्तै हो नि ?" भन्न मन लागिहाल्यो । "अहिलेजस्तो सन्तान रोक्ने भन्ने थाहै थिएन नानी, जति धेरै सन्तान भए त्यति धेरै ईश्वरको प्रसाद प्राप्त भएको मानिन्थ्यो ।" बुबाले भन्नुभयो । मलाई लाग्यो, एक दुइवटा सन्तान हुर्काउन र उनीहरूलाई उचित शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न हम्मेहम्मे परिरहेको अवस्थामा दर्जनौं सन्तानलाई कसरी पालनपोषण गर्न सक्छन् होला ? फेरी स्वास्थ्य सुविधाको अभावमा मृत्युुदर पनि बढी हुने कारण सन्तान धेरै जन्माउने प्रचलन रहेको कुरा आमा बुबाले गर्नुभएको सम्झना आयो । सन्तान धेरै भए भने विदेश गएर अथवा कुनै न कुनै इलम गरेर भए पनि गरीबीबाट बाहिर निकाल्छन् भन्न विश्वासका कारण पनि सन्तान बढी जन्माउने कुरा सुन्दा हामी अचम्मित भएका थियौं ।
बुवाले मानिसको जीवनलाई आकाशको जुनसँग तुलना गर्नुहुन्छ । मानिसले आफ्नो जीवनको अर्थ बुझेपछि अँध्यारो रातमा उज्यालो छर्ने जुन जस्तै चम्कन्छ, शितलता प्रदान गर्छ, समाजमा चेतनाको दियो बाल्छ । त्यसैले हामीले आफ्नो जीवनको अर्थ बुझ्न सक्नुपर्छ ।
नेपाली समाजका विगतको अवस्था र परिवर्तनबारे बुझ्न विश्वविद्यालका कक्षा कोठामा मात्र होइन, प्रत्यक्ष भोग्ने मान्छेहरूबाट झन् गहिरो गरी बुझ्न सकिने रहेछ । पढेरभन्दा परेर सिकिन्छ । आज साँचिक्कै पढेर कपाल फुलाएका विज्ञ विश्वविद्यालयका गुरूहरूबाट होइन, जीवन भोगेर कपाल फुलाएका विज्ञ गुरूहरूबाट नेपाली समाजको पाठ पढियो । त्यसैले यो किर्तीपुर थुम्कोमा भएको छोटो भेट पनि सार्थक, शिक्षाप्रद र अविश्मरणीय रह्यो ।