मिन बहादुर राना
नेलेखूँ भन्दाभन्दै लेखिएको यो लेख पनि कुनै काम नपाएको बेला लेखियो । आफू कुन बेला कहाँ के बोलियो र कस्तो विचार राखियो भनेर दस्तावेजीकरण गर्दैगर्दा लेख नै तयार भयो । गजल बारे बजारमा यौटा फन्टुस वहस चलेको छ । केही साथीहरूले यस बारे बुझ्न प्रश्न पनि गर्नुभएको थियो । साथीहरूलाई उत्तर दिन पनि यो लेख जन्मियो । मेरो अनुरोध कृपया यो लेख एक बकम्फुसे वक्ताको वकवकको प्रतिउत्तरमा वकवक नै हो यदि गजलको बारेमा आफै प्रष्ट हुनुहुन्छ भने यहाँभन्दा पछि यो लेख नपढे पनि हुन्छ ।
नेपाली गजलको परिवर्तित स्वरूप नामक एक पुस्तकको साथमा देवी पन्थी बुटवलमा आउनु भएको थियो । पुस्तक पढियो । उनको कुरो सुनियो । कवि रुद्र ज्ञवाली, रमेश सर्मथन र मैले उहाँलाई राम्रै सुझाव पनि दिएर पठाएका थिया¹ । कहिल्यै नमिठो र तितो नबोल्ने रुद्र सर त्यो दिन अल्लिबढी नै बोल्नुभएको थियो । मेरो त नामै छुद्र त्यहाँ प्रयोग भएका सबै शब्द यहाँ लेख्न थाले मलाई सबैले पागल भन्छन् । त्यसरी राम्रै मर्मत गरिएको थियो गजल सागर नेपालको एउटा श्रृखलामा देवी पन्थीलाई बुटवलमा । लागेको थियो, यत्ति भएपछि पन्थी महोदयले यो पुस्तक च्यातेर फ्याँनु हुन्छ र कतै यसबरे बोल्न लाज मान्नुहुन्छ । तर उहाँको रोइलो रोकिएन । हाम्रा प्राज्ञहरू पनि हिलोमा गाडेको किलो जस्ता छन् । जसले जता तान्यो उतै ढल्किन्छन् । उनको समर्थनमा केही समीक्षा पनि आए ।
देवी पन्थीका अनुसार पाठकले कुन विधाको रचना पढ्दै छु भन्ने थाहा पाउनु पर्छ । त्यसैले नेपाली गजलका यी नामहरू प्रस्तवित गरिएका हुन् । स्याउ किनेर खाँदा स्याउको खेती कसले ग¥यो ? कसरी ग¥यो ? कहाँ ग¥यो ? कस्तो ठाउँमा ग¥यो ? पसलसम्म कसरी आयो ?भन्ने जान्नु जरुरी हुन्छ र ? उनलाई यत्ति पनि थाहा रहेनछ ।आम पाठकलाई विधाले होइन विचारले प्रभाव पार्छ । विधामा प्रयोग हुने कलाले तान्छ । हरेक विधामा आफ्नैखाले रचना कौशल हुन्छ त्यसले तान्छ । त्यो कौशलको परिभाषा दिन म सक्दिनँ ।
पाठकलाई गीत सुन्दैछु कि गजल भन्ने पनि थाहा नहुन सक्छ । कथा होस् कि उपन्यास पढ्नेलाई त्यो जान्नु खँचो हुँदैन । किनकी श्रोता वा पाठक सबै विज्ञ हुनुपर्छ भन्ने त सम्भव नै छैन । पठन पाठनमा लागेका विश्वविद्यालयका प्रध्यापकहरूलाई समेत साहित्यका सबै विधाको बारेमा कति ज्ञान छ भन्ने कुरा त स्नातक र स्नातकोत्तर तहको नियमित कक्षामा पढ्नेलाई थाहा छ । हाम्रा प्राध्यापकहरूको हविगत देखेर नै यो पङ्तिकार क्याम्पसको कक्षामा हाजिर हुन छाडेको थियो । सहित्यकार पुरुषोत्तम पाण्डेलाई स्नातकोत्तर तहमा रचनापत्र बुझाउँदा सबै गजलमा कवितामा जस्तै शीर्षक राख्न लगाइएको थियो । उनलाई थाहा थियो गजलको शीर्षक हुन्न तर बिना शीर्षक उनको रचनापत्र पास भएन । विवाद गरेर साध्य भएन । उत्तीर्ण हुनकै लागि भएपनि आफ्नो ज्ञानलाई तिनाउमा तिलाञ्जली दिएर पण्डा मास्टरको कुरो मान्न बाध्य भएका थिए उनी । साहित्य पढाउनेकै हालत यस्तो छ भने अन्य पाठकहरूको हालत कस्तो होला ? कि देवी पन्थीको आदेश फर्माएर गजल सुन्ने भए गजलको ग्रन्थ पढेर आइज भन्ने ?
जहाँसम्म पन्थी महोदयको अनुसार समालोचकले छुट्याइदिनुपर्छ भन्ने अर्को तर्क पनि छ । त्यो पनि समालोचनाको नाममा फारम भर्ने समालोचकको लागि काम लाग्नसक्छ । अन्याथा समालोचनाको आयामले धेरै फड्को मारिसकेको छ । कागजको स्तर, अक्षरको आकार, पाना सङ्ख्या, साजसज्जाका कुरा गरेर पाठकलाई अलमलाउने समालोचना उही विश्वविद्यालयमा उत्तीर्ण हुन गरिने समालोचना हुनसक्ला । अहिले त समालोचना पनि पढिने नयाँ सिर्जनाको रूपमा आउन थालेको छ । समालोचना पनि विधा हो भने यसमा पाठ्य गुण हुनैपर्छ । अबको समालोचना पढ्नलाई यो समालोचना हो भन्ने नबुझ्नेले पनि पढेर त्यसको स्वाद लिन सक्ने हुनुपर्छ । उच्च स्तरका विद्यार्थीहरूलाई पढाउने देवीजी यस विषयमा वेखबर त अवश्य नै हुनुहुन्न होला ?समालोचनाका पनि आफ्नै धार हुन्छन् । आफ्नो धार छोडेर आफ्ना विषय नै छोडेर विधा पढाउन थाले समालोचनाको स्वरूप कस्तो होला ?
अनुसन्धान र प्रयोग भन्दै देवीजी भन्नुहुन्छ ‘नयाँ आउनै हुँदैन भन्दै आत्महत्याको धम्की दिनु पट्मूर्खता हो । अनुसन्धान, अन्वेषण, नवविचार र नवप्रयोगलाई स्वीकार गर्नैपर्छ । १००० वर्ष अगाडि कसैले गरेको प्रयोगमात्र ठीक हो भन्नु र नयाँ प्रयोगलाई प्रतिबन्ध लगाउनु बेठीक हो ।’ यस पुस्तकमा उनले खोजे के त ?केही नयाँ छैन पुरानो नामलाई नयाँ नाम दिनुलाई कसरी खोज अनुसन्धान भन्ने त ? यस्तै नाममात्रको खोजले नै नेपाली साहित्य रनभुल्लमा फसेको छ । यस्तै कर्मकाण्डी परिपाटिभन्दा बाहिर नगएको टपरे खोजलाई ताली पिटेर स्वागत नगर्नेलाई सुरुमै पट्मूर्खको बिल्ला भिराउनु कतिसम्म उचित होला ?उनले यहाँ पुर्खौली कर्म थामेको मात्र देखिन्छ ।
यस पुस्तकमा पन्थीजीले गजलको अर्थ विभिन्न भाषा र शब्दकोषलाई स्रोत देखाउँदै गजलको अर्थ दिएका छन् । गजल प्रणयसित सम्बन्धित छ । गजलकै संरचनामा रचिए पनि प्रणय इतर विषयवस्तुमा रचना गरिएका रचना गजल हुँदैन भन्नुहुन्छ । हिन्दी र उर्दु फारसीमा पनि गजलको विषयवस्तुलाई लिएर फरकफरक मत उदय भएका छन् । हास्ययुक्त गजललाई ‘हजल’, व्यङ्ग्युक्त गजललाई ‘फजल’ र लय बिहीन तर चोटिला गजललाई ‘तरजुल’ यसका ज्वलन्त उदारण हुन् । यिनै तथ्यको आधारमा चारु, राग, विराग र रागविरागको नामाकरण गरिएको हो भन्ने तर्क उनको छ । यसरी आफैले तर्क गर्दैगर्दा अन्य विधाको बारे शब्दकोषमा खोज्न पनि सक्नु भएनछ डा. सापले ।कुनै पनि साहित्यको विधाको शब्दकोषमा भएकै अर्थलाई पछ्याउने हो भने त हामी सय वर्ष पछाडि फर्कन पुग्छा¹ । सर्जकले शब्दकोषमा दिइएको अर्थलाई पछ्याएर लेख्न थाले उसको रचना रचना जस्तो नै हुँदैन । त्यो त शब्दको थुप्रो मात्र हुन्छ । तर सिर्जनामा जुन योजना हुन्छ,कलाको प्रयोग हुन्छ, विचार हुन्छ, युग हुन्छ, समय परिस्थिति हुन्छ, त्यो सर्जकको मगजमा मात्र हुन्छ । त्यो सर्जकको मगजमा भएको योजना, कला, विचार, युग, समय परिस्थिति शब्दकोषमा कसरी खोज्ने ?
पन्थी महोदयले हिन्दी, अरबी त जतासुकै जाओस् नेपाली गजल नै पनि नाम चलेकाको दुई चर गजल मात्र पढ्नु भएको रहेछ । कृपया नयाँ पुस्ताले कसरी गजल लेख्न थालेको छ ? नयाँ पुस्ताले गजलमा कस्ता शिल्प प्रयोग गर्न थालेको छ ? राम्ररी अध्ययन गर्न अनुरोध गर्दछु ।
अबको नेपाली साहित्य पुर्नजागरण कालतिरको जस्तो तातेताते गर्ने स्तरमा छैन । त्यसैले यो समयमा साहित्यका विधाबारे गरिने वहस उल्टो यात्रा हो । यथास्थितिवादी भन्दा पनि अझ निचहरूले गर्ने वहस नै विधागत वहस हो । समयको चेतना भएका स्रष्टाले त राम्रा सिर्जना पस्केर समाजलाई परिर्वतन गर्ने सिर्जनाबारे वहस गर्छन् । देशलाई समृद्ध बनाउने सिर्जना बारे, श्रमप्रति आश्था जगाउने, युवाहरूमा स्वावलम्भी भावना जगाउने, समाजमा भएको वेथिति विसङ्गति र कुरीतिहरूको भण्डाफोर गर्दै नयाँ संस्कार बसाल्ने खाले सिर्जना बारे गरिने बहस पो वहस । विधाको पछिलागेर हिँड्ने र विचारका कुरा आए मठ्ठै हुनेहरूले नयाँ खोजको नाममा गरिने यस्ता कर्मकाण्डहरू टपरी टक्टक्याउनेहरूको काम बाहेक केही होइन । यस्ता वहसले हामीलाई अगाडि लैजानेभन्दा पछाडि लैजाने काम मात्र गर्छ ।
केही यस्ता कच्चा मगजवाला मास्तर महानुभाव पनि छन् जसले आफूलाई मन नपर्ने सिद्धान्तलाई कक्षाकोठाबाट पुरानो र मृत घोषणा गर्न भ्याउँछन् । कसैले पढाउँदापढाउँदै आफ्नो पार्टी वा धर्मको प्रचार गर्न भ्याउँछन् र आफूलाई निष्पक्ष मान्छे भन्न भ्याउँछन् । केही साहित्यकारहरू आफ्नो प्रकाशित पुस्तक सङ्ख्या धेरै देखाउन सके आफूलाई महान ठान्ने रोग पालेर बसेका हुन्छन् ।कसैले आफूलाई साहित्य वा दर्शनको क्षेत्रमा नयाँवादको प्रतिपादकको रूपमा चिनाउन रुचाउँछन् र आफ्ना विद्यार्थीहरूसित आफूद्वारा प्रतिपादित सिद्धान्तको डिङ् हाँक्न थाल्छन् । यी समग्र रोगले ग्रसित मध्ये एक हुन्देवी पन्थी । यस्ता रोगीहरूको कुरो सुन्दा नयाँ पुस्ताका साथीहरू भ्रमित नहुने त कुरै भएन ।
देवीजीको अझ अचम्मको कुरो त के छ भने भाव अनुसार सिर्जनाको नामाकरण । कलिलो दिमागले पनि सोच्ने कुरा हो । यदि यसैगरी भाव अनुसार नाम राख्दै जाने हो भने हाम्रामा प्रचलित गीतहरू कति विधामा विभाजन होलान् ? अहिलेसम्म लेखिएको सबै कविताहरूको पनि शीर्षक बाहेक उपविधा कति बन्लान् ? यस्तै गरेर कथा, उपन्यास, निबन्ध सबैको भाव अनुसार नाम राख्ने परम्परा बस्न थाल्यो भने त नेपाली साहित्यका विद्यार्थीहरू नेपाली पढ्दापढ्दै पागल हुन बेर लाग्दैन । यस्ता स्वघोषित विद्वानहरूको पछि लागेर हिँड्ने र यस्ता केटाकेटी कुरा पनि आनन्दले सुनेर बस्ने हाम्रा विद्वत वर्ग पनि पानीमरुवा नै रहेछन् । हाम्रो पूर्वीय साहित्य यस्तै कुरामा धेरै अल्झेको भएर नै यति धेरै ग्रन्थहरू भएर पनि थोरैमात्र ग्रन्थहरू नाम लिन लायक भएका हुन् । अहिले पनि नेपाली पढ्ने विद्यार्थीलाई याद गर्नपर्ने तर कतै काम नलाग्ने यस्ता धेरै वाद र धाराहरू छन् ती परीक्षामा पास हुनलाई बाहेक कहिल्यै कतै काम लाग्दैनन् । कतै देखिदैनन् । कतै भेटिदैनन् । यस्तै कतै काम नलाग्ने र विद्यार्थीलाई पढ्नको झ्याउलो हो देवीजीको यो नयाँ भनिएको खोज । कसैलाई फुर्सद छ भने र पढ्ने सामग्री अरु केही छैन भने त पढ्दा पनि हुन्छ । नत्र देवीजीको यो नाममात्रको नयाँ खोजको पछि लाग्नुभन्दा बरु अलिबेर आरम गर्नुस वा अरु कुनै काम गरेर समयको सदुपयोग गर्नुस् श्रदेय पाठकमा मेरो सुझाव यही छ ।
(लेखक राना गजल सागर नेपालका अध्यक्ष हुनुहुन्छ)