–मिन बहादुुर राना
कवि रवीन्द्र मिश्र सरल कविता लेख्ने कवि हुन् । लामो समय समाचारको जगतमा छाएका र समाज सेवामा रमाएका रवीन्द्र मिश्र राम्रा कवि पनि हुन् । उनको राजनीतिक र सामाजिक विषयका आलेको पुस्तक पनि प्रकाशित भएको छ । विम्ब प्रतीक र मिथकलाई कवितामा सजिलै खेलाउने कविमध्ये उनी पनि एक हुन् । सञ्चारकर्मी भएर लामो समय काम गरेका रवीन्द्रका कवितामा समाचार बन्न नपाएका धेरै घटनाको मर्म अटाएकाछन् । ‘माओवादी विद्रोहीको कविता’ र ‘माओवादी पीडितको कविता’ जस्ता कवितामा द्वन्द्वकालको मानसिक अवस्था दर्शाउन खोजेका छन् । यी कवितामा कविले कतैप्रति झुकाव नराखेर यथार्थ पस्केका पनि छन् । ‘काण्ड चेपाङ’ कवितामा चेपाङहरूको अवस्था र विकासे परियोजनाको परिणाम देखाएका छन् । यति बेला रवीन्द्र जी आफै पनि नेता भएका छन् । सत्तामा नपुगुन्जेल त भन्न मिलेन । पार्टी जत्रो भए पनि शक्ति र सत्तामा पुग्न बेर लाग्दैन । उनको ‘नेताजी, तपाईं त सारै गन्हाउनु भो’ भन्ने कवितामा जस्तो सत्तामा पुगेपछि आफू नगन्हाइदिए हुन्थ्यो भन्ने शुभेच्क्षा छ ।
संयोगले यो कविता संग्रहको विमोचन हुँदा प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा मलाई पनि सहभागी हुने मौका मिलेको थियो । विमोचन कार्यक्रममा कविले आफ्नो मन्तव्यमा पनि कविता नबिक्ने विषयमा चिन्ता गरेका थिए । कवी रवीन्द्र जीको त्यो कार्यक्रमको समाचार पनि कविता नबिक्ने कुराको हेडलाइन बनेको थियो । कला–कला भन्दाभन्दै हामीले कला पनि वर्गीय हुन्छ भन्ने बिर्सनु हुँदैन । कविता पनि वर्गीय नै हुन्छ । कवीले आफू कुन वर्गको कवि हो भनेर नचिन्ने त कुरै भएन । त्यति ठूलो प्रचार र व्यक्तित्वको आडमा पनि कविता नबिके पछि अन्य कुनाकाप्चामा रहेर कविता लेख्नेको के हाल होला ?प्रश्न उठ्न सक्छ ।
कवि रवीन्द्र मिश्रको कविता संग्रहमा संग्रहित कविता र कविको विचार पढेपछि आफ्नो पठनाभुति प्रस्तुत गर्दैछु । यस पठनानुभुतिमा कविको कविताभन्दा पनि कविता किन विक्दैन भन्ने कुरामा केन्द्रित हुने छु ।
यसरी पढा¹ कविता शीर्षकको कवितामा पढा¹को ठाउँमा लेखा¹ भनिदिनु भएको भए म शतप्रतिशत सहमत हुनेथिएँ तर कविले पढा¹ भनेकाछन् –
मुटुको धड्कन बढोस
आँखाबाट आँशु झरोस्......
अतीतलाई स्पन्दित गरोस्
वर्तमानलाई उद्वेलित पारोस्.....
तर्कहरू तरङ्गित होऊन
दर्शन झमझम दर्कियोस्......
हेर्नेहरू टोलाई रहून्
सुन्नेहरू लठ्ठै परून्.......
यो उदाहरण हो । साँच्चिकै कविता त्यसरी लेख्ने हो भने कविता जस्तो कविता आउँछ । कविको चिन्ताको विषय पनि समाधान अवश्य हुन्छ । लेख्नेले नै फिटकिरी हालेको चिया जस्तो कविता लेखिदिएपछि पढ्नेले उनले भनेझैं गरी पढ्न कसरी सक्ला ? पाठकलाई त्यसरी तान्न सक्ने कविता लेख्ने हो भने त नेपाली कविताले संसारका सबै कवितालाई पछाडि पार्ने थियो । त्यो असम्भव पनि छैन हामीबाटै संभव छ । हामीले त्यो प्रयास गर्नतिर लाग्दा राम्रो हुने थियो । हो कविता समचार भने पक्कै होइन । ‘बरु म उपन्यास पढ्छु’ र्शीषकको कवितामा कविले कविताको दुरुह अवस्थालाई व्यक्त गरेका छन् । तर उपन्यासको अवस्था पनि कविताभन्दा माथि उठेको जस्तो लाग्दैन ।
कविताको विज्ञ होइन भन्दाभन्दै पनि उनले कविताको बारेमा धेरै उच्च विचार व्यक्त गरेका छन् । मेरो भन्नुमा कवी मिश्रले नेपालको मात्र होइन वेलायत समेतको कवि र कविता लेखन पारालाई प्रष्ट पारेका छन् । ‘मानिसहरू कवितै बुझ्दैनन्, कविता बुझ्ने चेष्टा नै गर्दैनन्, कविता बिक्दै बिक्दैन, राम्रो उपन्यास लेखे त्यसबाट जीविको पार्जन गर्न सकिन्छ । राम्रो कविता लेखे पनि त्यसबाट जिविकोपार्जन गर्न सकिन्न आदि आदी । कुरोको चुरो त के हो भने सिनेमा र कला बुझेनन् भनेर दर्शकलाई, संगीत मन पराएनन् भनेर श्रोतालाई र कविता मन पराएनन् भनेर पाठकलाई दोष दिनु गलत हो । ..’’ कविता ज्यादै किलिष्ट हुनुहँंदैन भन्ने विचार राखेका छन् । यस विचारमा सहमत हुन सकिन्छ । मात्र कवितालाई बिकाउको नजरले हेरिएकोमा असहमती हो ।कविता मात्र होइन सबै खाले किताबका लेखकले आफ्नो स्तर किताबको बिक्रीलाई नै आधार बनाउन थालेका छन् ।
हाम्रा समस्त कवीलाई के कुरामा स्पष्ट हुन जरुरी छ भने उपभोक्तावादी संस्कृतिमा सबैकुरालाई बिकाउको नजरले हेरिन्छ । महंङ्गो कागज, भिलिमिली कभर, विज्ञापन, प्रचार जस्ता हतियार प्रयोग हुन थालेका छन् । किताब र चाउचाउको प्रचार एकै किसिमले गरेको देख्दा यस्तो लाग्छ कि हाम्रा यी प्रचार वालाहरूको सबै सिर्जनाको स्तर चाउचाउ बराबर छ । किन्यो, खायो, सकियो, फेरि–फेरिलाई न चाहिने न पाइने । खोल र कम्पनी फरक–फरक तर भित्र एउटै । रक्सी झैँ । फरक त नाम किन्ने हो । फरक सामान होइन । बजारको चरित्र यस्तै त छ । त्यसैमा हाम्रा कविले कवितालाई पनि मिसाउन पुगे । त्यही भिडको एक पात्र रवीन्द्र जी भएका छन् ।
यो सबै असल विचार, उच्च स्तरको कला र सजीव प्रस्तुतिको अगाडि केही होइन । तपाईँको रचना बिक्री भए छ भने राम्रो तर बिक्री भए जस्तै तपाईँको विचारको प्रभाव कति पर्छ त्यसलाई हेर्नुपर्छ । हाम्रो ध्यान पाठकद्वारा कति पटक र कहिलेसम्म पढिन्छौँ भन्ने कुरामा जानुपर्छ । किन्नको लागि किनेर दराजमा थन्क्याउनको लागि पाठकले हाम्रा किताब नकिनून् भने सोच्नु राम्रो हुन्छ । किताब त पढ्नको लागि किन्ने हो । पढ्ने भनेको जीवनको लागि हो । पढाई जीवनको खाँचो हो । कुनै मानिसले कुनै कविको रचना पढेन भने उसको जीवन अपुरो हुन्छ भन्ने केही छैन । यो नियम सबैको किताबमा बराबर लागु हुन्छ । कम्तिमा पनि रचनाले पठकलाई थोरै मनोरञ्जनसम्म दिन सक्यो भने पनि राम्रो मान्न सकिन्छ ।
रवीन्द्रजी मात्र होइन मैले यस्ता किताब नबिक्ने गुनासो धेरैबाट सुनेको छु । मैले यस्ता मनोग्रन्थी बोक्ने आम कविलाई पैसाकवि नाम राख्न रुचाउँछु । भने कसैलाई मन कवि भन्छु । किनकि उहाँले आफ्नो मनलाई मात्र मिठो लाग्ने कविता लेख्नु हुन्छ । सित्तैमा दिए पनि नपढूँ जस्तो लाग्ने कविता कसले किन्दिने ? आफै कविले पनि लेखे पछि दोहो¥याएर नपढेको कविताको किताब पाठकले पैसा खन्याएर किनेर पढिदिनु पर्ने ? पाठकले किन किताब किन्ने भन्ने कुनै बलियो जवाफ नभए त्यो किताब कसरी बिक्छ ?आजभोलि किताबको मुल्य राख्दा सहयोग स्वरुप भन्ने चलन पनि चलेको छ । सहयोग स्वरुप नै हो भने त कापी राम्ररी बिक्न सक्छ किताब नै किन बेच्ने ? यस्तै हो भने त किताबको परिभाषा पनि फेरिने पो हो कि ? सहयोग माग्ने ठाउँ हुन्छ । पाठक सित होइन । कसैकसैले व्यक्तिगत र संस्थागत मुल्य भनेर दुई ओटा मुल्य पनि राख्छन् । संस्थामा त तपाईँको किताब जति धेरै रहन्छ, त्यति नै राम्रो होइन र ? हो भने त्यही मुल्यमा अलि धेरै किताब छाड्नुस् । क्यै गरी कसैले पढ्दा पढ्दै केही किताब यताउता भए पनि बाँकी किताब त रहिरहन्छ ।
कविता कथा उपन्यास जस्तो लामो आख्यान नहुनाले पनि किताब नै किनेर पढ्ने खाँचो हुँदैन । कथासम्म पनि राम्रो छ भने अर्को पटक किताब हेर्न पर्दैन । हाम्रोमा त कथा र कविता छुट्टाउन पनि हम्मे–हम्मे पर्छ र पो । सुन्दर कविता त एक पटक सुने मात्र पुग्छ । घिमिरेको ‘गाउँछ गीत नेपाली...’कण्ठ नभए पनि त्यसको प्रतिविम्ब मनमा रहिरहेको छ । ‘भुपिको घुम्ने मेचमाथि अन्धो मान्छे’ त्यत्तिकै स्मरणीय छ । हरिभक्त र देवकोटा नाम सुन्ने बित्तिकै उनीहरूका केही रचनाको प्रतिविम्व मनमा उत्रिन धेरै बेर लाग्दैन । राम्रो कविता छ भने त झन किन्नै पर्ने खाँचो पर्दैन । कसैको मुखबाट सुन्न पाए मात्र पनि हुन्छ । त्यसैले प्रश्न कविताको किताब किन किन्दैनन् होइन कविता किन सुन्न खोज्दैनन् मान्छेले भन्ने हो । सुन्न झ्याउ नलाग्ने कविता लेख्ने हो भने अझै पनि कविता प्रतिको आर्कषण घटेको छैन । मान्छेको मन ढुङ्गा भएको छैन । हो, कविता मरेको समाज बाँझो हुन्छ । कला बिनाको समाज मरुभूमि हुन्छ । नेपाली समाज जाग्दै गरेको समाज हो । यो मर्दै गरेको समाज होइन । त्यसैले यहाँ कविता प्रतिको आर्कषण बढ्दै छ र कवीमा पनि युग अनुसार नयाँ जागरण आउन खाँचो छ । आउँदै गरेको पनि छ ।
कवी आँखामा टिलपिल–टिलपिल आँशु लिएर कविता लेख्छन् । वा भनौँ आकासमा बादल गर्जेझैँ गर्जेर कविता लेख्छन् । कविता लेख्दै गर्दा कवीहरू हाँसेभने अल्लि बढि नै हाँस्छन् । त्यतिको हाँसो आजसम्म अरू कोही हाँसेको नहोस् । रोए भनेपनि आजसम्म कोही नरोए जति रुन्छन् । जुन प्रभाव कविको मनमा पर्छ त्यो प्रभाव पाठकमा पार्न कमैले सक्छन् । अर्को कुरा प्राय कविले आफ्नो कुरा लेख्छन् । पाठकको कुरा लेख्न सकेको भए पो पाठकले सुन्ने । आफ्नो कुरा त आफैले लेख्ने अनि आफैले सुन्ने त हो नि । आफ्नो एकलापे गनगन सुनेन भनेर पाठकलाई सत्तेसराप गर्नु राम्रो होइन । पाठकको पनि विचार हुन्छ । पाठक पनि चिन्तन गर्छन् । पाठक पनि सोच्न सक्छन् । भनेर सोचेर कविता लेख्ने हो भने कविता सुन्नलाई मान्छे टिकट काटेर आउँछ ।
कविता रमाइलो हो । त्यो रमाइलोमा मिसाएर कविले आफ्नो विचारलाई पाठकको अगाडि प्रस्तुत गर्छन् । कविता कला हो भने कवी कलाकार । कविले आफ्नो विचारलाई कलाको चास्नीमा चुर्लुम्म डुबाएर पाठकको अगाडि प्रस्तुत गर्नुपर्छ । कविता रोमान्स हो । सिद्धान्त ठोस हुन्छ । त्यही सिद्धान्तलाई कवीले कवितामा तरल बनाएर प्रस्तुत गर्छन् र आम पाठकलाई त्यही सिद्धान्तको पानीले भिजाउँछन् । कवितामा त्यही सिद्धान्तका कुरा कलाको चास्नीमा डुबेर आउँछ । कविता हार्दिक हुन्छ । दर्शनले बाहिर घोच्छ भने त्यही दर्शनका कुरा कवितामा आउँदा भित्र सुम्सुम्याउँछ । सबैले त्यही कुरा भन्दै गरेको कविता सुन्न मन पराउँछन् ।कवि रवीन्द्र ज्यू आफ्नै समाज नबुझ्ने त अवश्य हुनुहुन्न ?नेपाली समाजलाई कविता नबुझ्ने भन्नु महामुर्खता हुन आउँछ । कविले आफ्नै समाजलाई बुझ्न नसकेको देखिन्छ । दोहोरीमा कुरा गर्ने, अन्ताक्षरीमा रमाउने र मान्छे जन्मदा गीतले स्वागत गर्ने, मर्दा गीतले विदाई गर्ने संस्कार भएको समाज हो हाम्रो । रोइला, असारे, झ्याउरे, सिलोक, सवाई, गाउँखाने कथा, खुर्पेटी नानीको र टुहुरी केटीको कथा जस्ता कुरामा रमाउने नेपाली समाज हो । यहाँ कविता किन महत्वहीन छ? भने हामीले सस्ता उचाइमा उक्लन फुक्लो विद्वता र सस्तो शब्दाडम्बर देखाउन थाल्छौं । हाम्रा कविता पढ्दा डिक्नेरी र शब्दकोष साथसाथै राख्नुपर्छ । कविता पढ्ने पाठकसित कविले कविता लेख्दा हेरेको प्रकाशनकै डिक्स्नेरी नहुन पनि सक्छ ।
यस्तो किन पनि हुन्छ भने हाम्रा केही कविमा ज्यादा संस्कृत मोह छ । संस्कृत शब्द अटाइ नअटाइ ठुसेर कविता बनाए पछि खास्साको कविता बन्यो भन्ने भ्रम छ । संस्कृत शब्द नै साहित्यिक शब्द हो भन्ने मनोग्रन्थीले काम गरेको अवस्थामा त्यस्ता पुराण कालिन कविता लेखिन थाल्छन् । फेरि अर्कोतिर आधुनिक छाँट देखाउने ध्याउन्नमा जटिल अंग्रेजी शब्दको प्रयोगले पनि नेपाली कविता नभएर नेपाङ्ग्रेजी कविता बनाएको हुन्छ । अग्रेजीमा भन्दा धेरै प्रभावकारी भएको ठान्ने मनोदशाको उपज हो यो । कसैकसैमा हिन्दी र कतिपय जातीय भाषा ठोकठाक गरेर कविता लेख्ने प्रवृति पनि नभएको होइन । यस्ता कुराले कविता बोझिलो र दुर्वोध्य हुन्छ ।
कवि पैसा कमाउने कारखाना होइन । कविताको कारखाना हो । र्सिजनात्मक कामलाई पैसासित जोख्न मिल्दैन । सिर्जनात्मक कार्य गर्नु त सेवा हो । सिर्जनात्मक काम गर्नु भनेको बौद्धिक उत्पादन हो । रचनात्मक कामको न कुनै सीमा हुन्छ न कुनै मुल्य । अब त कविता मात्र होइन गीत पनि बिक्न छाडिसकेको छ । तर नबिक्नु नै प्रमुख कुरो होइन । गीतमा रम्ने त नेपाली संस्कृति नै हो । पाठकले पहिलेभन्दा अझ धेरै गीत सुन्छन् र कविता पनि अझ धेरै पढ्ने र सुन्ने गर्छन । प्रविधिले त्यस्तै बनाइदिएको छ ।
(समिक्षक राना प्रगतीशिल लेखक संघ,रुपन्देहीका सचिव हुन)