चैत ९, कञ्चन ।
एजेन्सी – कप्तान प्याट कमिन्स र तीव्र गतिका बलर मिचेल स्टार्कको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नाटकीय पूनरागमन गरेको छ । तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले १ सय ३४ रनको अग्रता लिएको छ ।
दोस्रो इनिङमा अष्ट्रेलिया ३ ओभरमा ११ रन जोड्दा खेल सकिएको छ । अष्ट्रेलिया ओपनर डेविड वार्नर ४ र उस्मान खवाजा ७ रनमा अविजित छन् । पहिलो इनिङमा अष्ट्रेलियाले १ सय २३ रनको अग्रता लिएको थियो ।
पाकिस्तान पहिलो इनिङमा २ सय ६८ रनमा अल आउट भयो । पाकिस्तानका युवा ओपनर अब्दुल्लाह शफिकले २ सय २८ बलमा ११ चौकासहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय २४८–३ को बलियो अवस्थामा रहेको पाकिस्तानले बाँकी २० रन जोड्न ७ विकेट गुमाउँदै १ सय २३ रनले पछि परेको थियो ।
स्टार्क र कमिन्सले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई सानदार पूनरागमन गराए । फवाद आलमलाई स्टार्कले १३ रनमा बोल्ड आउट गर्दा पाकिस्तान २४८–४ को अवस्थामा पुगेको थियो । त्यसपछि स्टार्कले रिजवानलाई १ रनमा बोल्ड आउट गरे । कमिन्सले साजिद खानलाई १ रनमा बोल्ड आउट गर्दा नौमान अलीलाई शून्यमा एलबीडब्लू धरापमा पारे ।
कमिन्सले हसन अली र स्टार्कले नसिम शाहलाई शून्यमा पेभेलिएनको बाटो देखाए । स्टार्कले बाबर आजमलाई ६७ रनमा एलबीडब्लू आउट गर्दै टोलीलाई बलियो अग्रता दिलाए । बाबरले १ सय ३१ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरे । ओपनर इमाम उल हक ११ र अजहर अली २ सय ८ बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा आउट भए । दोस्रो विकेटका लागि शफिक र अजहर अलीले १ सय ५० रनको शतकीय साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले २४ ओभरमा ८ मेडनसहित ५६ रन खर्चेर ५ विकेट लिए । स्टार्कले २०.४ ओभरमा ६ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए ।त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा २ सय ९१ रनमा अल आउट भएको थियो ।
अष्ट्रेलिया ओपनर उस्मान खवाजा २ सय १९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । खवाजा स्पिर साजिद खानको बलमा स्लिपमा बाबर आजमबाट क्याच आउट भएपछि लगातार दोस्रो शतक प्रहार गर्न ९ रनले चुकेका थिए । स्टिभ स्मिथ १ सय ६९ बलमा ६ चौकासहित ५९ रनमा आउट भए ।
स्मिथलाई तीव्र गतिका बलर नसिम शाहले एलबीडब्लू आउट गरे । पाकिस्तानलाई तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ओपनर डेविड वार्नरलाई ७ रनमा एलबीडब्लू र मार्नस लाबुसेनलाई शून्यमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर तेस्रो विकेटका लागि स्मिथ र खवाजाले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासे ।
ट्रविस हेडलाई नसिम साहले २६ रनमा क्याच गराए । तल्लोक्रमका क्यामरन ग्रिनले १ सय ६३ बलमा ९ चौकासहित ७९ रनको योगदान दिए । विकेटकिपर एलेक्स केरीले १ सय ५ बलमा ७ चौकासहित ६७ रन बनाए । छैटौं विकेटका लागि केरी र ग्रिनले १ सय ३५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र नसिम साहले ४(४ विकेट लिए । सुरुवाती दुई टेस्ट उत्कृष्ट ब्याट्रिङको साथ ड्र भएको थियो । त्यसैले यस खेल जित्ने टोलीले सिरिज पनि जित्नेछन् ।