चैत ९,कञ्चन ।
विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले दोस्रो जित हासिल गरेका छन् ।
विराटनगरस्थित सहिद रंगशालमा बुधबार भएका खेलहरुमा आर्मी, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । आर्मीका रोमन राना र प्रदीप राजवंशीले समान ४गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल गरे । आर्मीका प्रदीप खेलको म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलले हरायो । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १ गोल गरे । मधेसका रञ्जन महतोले गरे । सुदूरपश्चिम प्रदेशका गणेश ठगुन्ना खेलको म्यान अफ दी म्याच भए ।
त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोलले हरायो । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १ गोल गरे । प्रदेश १ का लागि नरेश थापाले सान्तवना गोल फर्काए । लुम्बिनीका सलमान शेख खेलको म्यान दी म्याच घोषित भए ।
समान २ खेल जितेका आर्मी र सुदूरपश्चिम प्रदेशको समान ६ अंक छ । प्रदेश १ र बाग्मती प्रदेशले समान ३ अंक जोडेका छन् ।
चैत १२ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली आर्मी प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रगियोगिताको विजेताले उपाधिसहित ५० हजार, दोस्रोले ३५ र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बाग्मती प्रदेश दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए ।