फागुन ३०,कञ्चन ।
एजेन्सी – भारतले श्रीलंकासँगको दोस्रो टेस्ट खेलमा पराकिलो जित हात पार्दै सिरिज क्लिनस्विप गरेको छ । भारतले श्रीलंकालाई २ सय ३८ रनको फराकिलो अन्तरले हराउँदै दुई खेलको टेस्ट सिरिजमा क्लिनस्विप गरेको हो ।
४ सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका तेस्रो दिन २ सय ८ रनमा अल आउट भयो । श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले १ सय ७४ बलमा १५ चौकासहित १ सय ७ रनको शतकीय इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । करुणारत्नेको टेस्ट करिअरको यो १४ औं शतक हो ।
कुशल मेन्डिसले ६० बलमा ८ चौकासहित ५४ रन बनाए । दोस्रो विकेटका लागि मेन्डिस र करुणारत्नेले ९७ रनको साझेदारी गरेका थिए । निरोशन डिक्वेला १२ रनमा आउट भए । कप्तान दिमुथ करुणारत्नेले शतक प्रहार गर्दा अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । जस्प्रित बुमराहले ३ र अक्षर पटेलले २ विकेट लिए । दोस्रो इनिङमा भारत ३०३–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ४३ रनले अघि रहेको भारतले समग्रमा ४ सय ४६ रनको अग्रता लिएको थियो ।
भारतका लागि श्रेयस ऐरले ८७ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा आउट भए । ऋषभ पन्त ३१ बलमा ७ चौका र २ छक्कासहित ५० रनमा आउट भए । ओपनर मयंक अग्रवाल २२, रोहित शर्मा ४६, हनुमा विहारी ३५, विराट कोहली १३ र रविन्द्र जडेजा २२ रनमा आउट भए ।
श्रीलंकाका प्रविन जयव्रिकमाले ४ र लासिथ एम्बुल्डेनियाले ३ विकेट लिए । त्यसअघि श्रीलंका पहिलो इनिङमा १ सय ९ रनमा अल आउट भएको थियो । श्रीलंकाका अनुभवी खेलाडी एन्जिलो म्याथ्युजले ८५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । डिक्वेलाले २१ र कुशल मेन्डिसले १० रन बनाए ।
बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका जस्प्रित बुमराहले सर्वाधिक ५ विकेट लिए । रविचन्द्रन आश्विन र मोहम्मद शामीले २–२ विकेट लिए ।
बंगलोरमा टस जितेर ब्याटिङ थालेको भारत २ सय ५२ रनमा अल आउट भएको थियो । भारतका श्रेयस ऐरले ९८ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९२ रन बनाए । पन्त ३९, कोहली २३, विहारी ३१, रोहित १५ र आश्विन १३ रनमा आउट भए ।
अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका स्पिनर प्रविन जयव्रिकमाले र लासिथ एम्बुल्डेनिया ३–३ विकेट लिए । धनन्जय डि सिल्भाले २ विकेट लिए । भारत पहिलो खेलमा २ सय २२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।