फागुन २३,कञ्चन ।
बलरहरुको उच्च प्रदर्शनमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ११ रनले हराएको छ । कोलम्बोमा नेपालले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलङ्का नेभी २८ ओभर पाँच बलमा एक सय तीन रन बनाउँदा अलआउट भयो ।
श्रीलङ्काका एम मधुशंकाले ३० रन बनाउनुबाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन, ज्ञानेन्द्र मल्ल र विक्रम शोबले दुई/दुई तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अलआउट हुँदै दुई सय १४ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६, कमलसिंह ऐरीले १५, कुशल भुर्तेलले १३, रोहित पौडेलले १३, सागर ढकालले १३, कप्तान सन्दीप लामिछानेले ११, विक्रम सोबले ११ र ज्ञानेन्द्र मल्लले दुई रन बनाए ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत एकदिवसीय शृङ्खलाका लागि अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्कामा छ ।