सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौँ ।
आज बसन्त पञ्चमी तथा सरस्वती पुजा गर्ने दिन। बिधार्थीहरुका लागि महत्वपुर्ण दिन र नव शिसुहरुलाई अक्षराम्भ गर्ने दिनको रुपमा लिइने हो बसन्त पञ्चमी। आज सबै बिधालय र शिक्षणसंग सम्बद्ध शिक्षण संस्थाहरुमा सरस्वतीको पुजा गरी बसन्त पञ्चमी मनाइदै छ। आजै देखि शिक्षण संस्थाहरुले नव आगन्तुक बिधार्थीहरुलाई सरस्वती पुजामा संलग्न गराई अक्षराम्भ गराइदै छ । अर्थात आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो ।
आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ ।
सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । आजबाट हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्त ऋतुको शुरुवात हुन्छ।
यसैगरी आज नै हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिनको रुपमा लिइन्छ।
विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । हुन त कोभिड सङ्क्रमण जोखिमका कारणले अधिकांश विद्यालयहरू अनलाइन पद्धतिमा चलिरहेका छन्, भौतिक रुपमा विद्यालयहरू बन्द छन् । यस वर्षको सरस्वती पूजाले एउटा नयाँ शिक्षण पद्धति मार्फत हुर्किरहेका पुस्तालाई ज्ञान र अनुशासनको पैरवी गरिरहेको छ ।
तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरू सजाइने गरिन्छ।
कोभिडका कारणले यस वर्षको सरस्वती पूजाको रौनकमा केही कमी देखिएको छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न हुनेछ। आज बिधार्थीहरुले औपचारिक बिधालय पोसाक बिना बिधालय जान पाउने भएकोले बिधार्थीहरुमा खुशी र उमंग छाउदछ। रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न पाइन्छ।
नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।
आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्तस् कालसम्म रहिरहोस् ।
सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असीम कृपाले सकारात्मक शब्दहरू, भावहरू, व्याख्याहरूको पर्दापण भइरहोस्, सर्जकहरू चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सधैँ दूर होस् ।
आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहित भएका थिए, सुफीका महान कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैँ सुफी वसन्तका रूपमा मनाउन थालिएको हो ।
तपाई–हामी जुनै धर्म या संस्कृति या विश्वास राख्ने व्यक्ति भए पनि विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिउन् । ए बी सी डी आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ दियोस् । सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिउन् । मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो ।
महासङ्घले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यो भूमिमा कहिल्यै नहोस् ।
श्रोत : हाम्रो पात्रोबाट