२४ जेठ,बुटवल/असल गुरुङ
दर्शन पाठशालाको १२ औं अंक भर्चुअल माध्यमबाट शनिवार विहान सम्पन्न भएको छ । सो पाठशालाका मुख्य वक्ताका रुपमा रहेका लेखक तथा जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र समीरले कोरोनापछि नेपाली साहित्यमा संकट पर्ने बताए । गास,बास र कपासमा नै मानिसको ध्यान जाने भएको हुँदा साहित्यिक पुस्तकहरु प्रकाशन गर्ने प्रकाशकहरु थला परेको वर्तमान अवस्थामा कम पुस्तक प्रकाशन हुने,पाठकमा आम्दानीका अभावले पुस्तक क्रय गर्ने क्षमता कमजोर हुने,पुस्तक पसल वा पुस्तकालयमा समेत पुस्तक पढ्न सामाजिक दूरी कायम गर्नुपर्ने भएको हुँदा साहित्यप्रति थप संकट बढ्ने उनको तर्क थियो ।
डाक्टर समीरले भने नेपालमा कोरोना हाउगुजी भएको र यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा आम नागरिकमा गलत सन्देश प्रवाह भइरहेको अवस्थामा साहित्यकारहरुले समेत कोरोनालाई आफ्नो लेखनीको विषय बनाउनु पर्नेमा जोड दिए । उनले भने साहित्यकारहरुले आफ्नो विवेकले देखेका कुराहरु लेख्नुपर्छ र सरकारलाई समेत सकारात्मक पृष्ठपोषण दिनुपर्छ ।
नेपालमा समाजवादोन्मुख सरकार भएपनि कोरोनाका कारण देखा परेका समस्या,लकडाउन र त्यसका कारण निमुखाहरुमा देखा परेको विकराल अवस्थाका सन्दर्भमा उचित भूमिका निर्वाह गर्न नसकेको बताउँदै प्रगतिशील साहित्यकारहरुले आफ्नो कलमलाई तिर्खानु पर्ने बताए । कोरोनाका कारण भन्दापनि भोकमरी र मानसिक तनावले मानिसहरुले आत्महत्या गर्न थालेको बताउँदै कोरोनाले नेपालमा साउन महिनासम्म थप समस्या पार्ने भएको हुँदा सामाजिक दूरी कायम गर्नुपर्ने,मास्क,सेनेटाईजर र पञ्जा लगाएरमात्र बाहिर निस्किन सकिने बताउँदै सबै साहित्यकारहरुलाई सिर्जनशील तरिकाले आफ्नो लेखन धर्मिता पालन गर्न समेत डाक्टर समीरले अनुरोध गरे ।
सो कार्यक्रममा सहभागीहरुमध्येबाट प्राज्ञ बूँद रानाले केन्द्रमा रहेको कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय सरकारी समितिले सोचे जस्तो काम गर्न नसकेको आरोप लगाउँदै तुरुन्त खारेज गरी विज्ञहरुको समिति गठन गरी कोरोना नियन्त्रणका निम्ति विशेष भूमिका निर्वाह गर्न समेत अनुरोध गरे । साहित्यकारहरुका साहित्यिक रचनाहरु सरकारले नसुन्ने भएको हुँदा सबैले सरकारलाई दबाब सिर्जना गर्न आम नागरिकहरुलाई सचेत गराउँदै साहित्यकारहरु निरन्तर अघि बढ्नु पर्ने बताए ।
सोही कार्यक्रममा पूर्व सांसद एवम् साहित्यकार कपिलबन्धुले साहित्यकाहरुले जे देखे सोही लेख्नु पर्नेमा जोड दिदैं सारकारलाई कोरोना नियन्त्रण र लकडाउनलाई समय मै उचित व्यवस्थापन गर्न जोडदार माग गरे । साहित्यकारहरु बोलेर होइन लेखेर आफ्ना विचारहरु प्रस्तुत गर्न समेत उनले अनुरोध गरे ।
कार्यक्रममा प्रलेस,नेपालका केन्द्रीय महासचिव समीरसिंह,प्रदेश नं.५ का संयोजक एवम् केन्द्रीय सदस्य केशव थापा,केन्द्रीय सदस्यहरु मीन राना,सरद अधिकारी, प्रलेस,प्रदेश ५ का उपाध्यक्ष सरिता श्रीस,रुपन्देही जिल्ला कार्यसमितिका सदस्यहरु,साहित्यकारहरु हरि भण्डारी,पूर्ण वली,माधव पौडेल,झपेन्द्र जीसी,प्रलेस सल्लाहकार संयोजक डा.मुरारि पराजुली,पूर्व अध्यक्ष प्रा.डा.हिरण्य ज्ञवाली,जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्याल,महासचिव कल्पना थापा लगायत ५० जना बढीको विशेष सहभागिता रहेको उक्त कार्यक्रमको आयोजकका रुपमा प्रलेस,नेपाल,रुपन्देही शाखा र जीवराज आश्रित स्मृति प्रतिष्ठान रहेका थिए । प्रलेस रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रलेस,रुपन्देही सचिव श्याम पोखरेलले गरेका थिए ।