पुस २४,कञ्चन ।
विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । आर्मीले एनआरटीमाथि १–० को जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीको जितमा पहिलो हाफमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए ।
त्यसअघि खेलको सातौं मिनेटमा स्टेफन समिर विनोङको पासमा राजेश परियारको डि बक्सबाहिरको प्रहार आकासियो । १३औं मिनेटमा जगजित श्रेष्ठको एकल प्रयासलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले विफल पारे ।
१६औं मिनेटमा जर्जप्रिन्स काकीको प्रयास पोस्ट नजिकैबाट आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा गोलरक्षक अजित प्रजापति अघि बढेको अवस्थामा दिनेशको हेडर आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३३औं मिनेटम जगजितको कर्नरलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाए ।
६२औं मिनेटमा जर्जप्रिन्स कार्कीले एक डिफेन्डलाई बिट गर्दै गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६६औं मिनेटमा शिव गुरुङको गल्तीमा जर्जसप्रिन्सले बल खोस्दै गरेको प्रहार गोलरक्षक अजितले अघि बढ्दै बचाए ।
७३औं मिनेटमा दिनेशको पासमा कप्तान भरत खवासको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै एनआरटीको अर्काे खतरा टारे । ८४औं मिनेटमा जर्जप्रिन्स कार्कीको झन्डै ३५ यार्ड टाढाको सशक्त प्रहार गोलरक्षक अजितले नियन्त्रणमा लिन नसक्दा बाहिरियो । एनआरटीले भने कुनैपनि समय आर्मीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा लगमा दोस्रो हार बेहोर्न पुग्यो ।
जितपछि अपराजित आर्मी ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान १४ अंक रहेपनि आर्मी संकटासँग पछि परेको हो । लिगमा दोस्रो हार बेहोरेको एनआरटी १० अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।