
अनुसा थापा
२०६४ चैत २८ गते पहिलोपटक नेपालमा संविधान सभाको चुनाव भयो । त्यतिखेर सांसदको संख्या ६०१ थियो । २४० सिटमा माओवादीले जित हासिल गर्यो, प्रत्यक्ष र समानुपातिक दुवै जोडेर । बहुमत हुनका लागि ६१ सिट नपुग्दा माओवादी एमालेसँग मिल्यो, सरकार बनायो ।
लोकतन्त्र गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल भए । सरकार गठनको ९ महिनासम्म दाहालले केही गर्न सकेनन् । न संविधान बनाउन सके न छिमेकीले मिचेको भूमि फिर्ता ल्याउन, भ्रष्टाचार छानबिन गर्न र देशको हितमा हुने काम गर्न । उनी वालुवाटारस्थित प्रधानमन्त्री निवासमा डेढ लाखको खाट किन्नलगायत विलासितामै अल्मलिए ।
कर्मचारी सरुवा बढुवामै उनी केन्द्रित भए । नेपाली सेनाका चिफ रुक्मानद कटुवाल र पशुपतिनाथ मन्दिरको पुजारी हटाउँदा उनले पदबाट राजीनामा दिनुपर्यो । काम गर्न नसक्दा माओवादीका सांसद झक्कुप्रसाद सुवेदीले दिँउसै कुटाइ खानुपरेको थियो । एमालेका महासचिव माधवकुमार नेपाललाई काठमाडौं क्षेत्र नम्बर २ मा हराएका उनी सदनबाट निवासतर्फ फर्किँदै थिए ।
चिया पसलेले उनलाई बोलाएर दिउँसै रामधुलाई हुनेगरी कुटे । दाहालले राजीनामा दिएपछि माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर, कसैले संविधान बनाउन सकेनन् । संविधान नै बनाउन नसकेको तत्कालीन सरकार विघटन भयो । खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन गरेर दोस्रो संविधान सभाको निर्वाचन गरियो ।
२०७० सालको निर्वाचनमा पहिलो काँग्रेस, दोस्रो एमाले, तेस्रो माओवादी र चौंथो राप्रपा भयो । सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । २०७२ असोज ३ गते कोइरालाकै सरकारले नेपालको संविधान घोषणा गर्यो । संविधान बनेपछि केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, सुशीला कार्की, बालेन्द्र साहसम्म प्रधानमन्त्री बनेका छन् ।
दुई दशकअघि देशकै सबैभन्दा ठूलो पार्टी बनेको माओवादीको फागुन २१ गतेको निर्वाचनमा १७ सिट छ । एमालेको २५, काँग्रेसको ३८ सिट रहेको छ । केही वर्षअघि मात्रै उदाएको रास्वपाको १८२ सिट छ । आउँदो कात्तिक २१ गते चुनाव भएको आठ महिना पुरा भएर ९ महिना लाग्छ ।
बालेन्द्र साह प्रधानमन्त्री भएको कात्तिक १३ गते सात महिना पुरा भएर आठ महिना लाग्छ । यो अवधि हेर्ने हो भने खासै मूल्याङ्कन लायक काम भएका छैनन् । यत्रो देश जलाएर आएको पार्टीले के गर्यो ? संविधान संशोधनको नारा लगाइएको थियो । प्रदेश खारेजी भनिएको थियो ।
खोइ त कहाँ पुग्यो प्रक्रिया ? भदौ २३ र २४ गते भएको देश खरानी बनाउने आन्दोलनअघि जुन व्यवस्था थियो, अहिलेपनि त्यही व्यवस्था छ । त्यही पुरानो संविधानमा टेकेर यो सरकार गठन भएको छ । जेनजी हिजो जुन माग राखेर सडकमा आएका थिए, त्यो पुरा भयो ?
सरकारी र निजी गरेर खर्बौंको सम्पत्ति जलाइयो, ७७ जनाको ज्यान गयो, हजारौं घाइते भए तर उपलब्धि के ? सदनमा झण्डै दुई तिहाई भएको पार्टीले कानुन बनाउन सकेको छैन । देशमा सुशासन ल्याउँछु भनेर सरकार आएपछि कुशासन बढेको छ । भ्रष्टाचारको फाइल खोल्ने भनिएकोमा त्यो पनि हुन सकेको छैन ।
बालेन्द्र सरकार बनेपछि महँगी ह्वात्तै बढेको छ । सरकारले सिन्कोसमेत भाँच्न नसकेको अवस्था छ । जसका कारण जनतामा आक्रोश बढ्दै गएको छ । सरकारका मन्त्रीदेखि सांसदसम्म नौटंकी देखाउनमै ध्याउन्न छन् । पुष्पकमल दाहालले प्रधानमन्त्री हुँदा डेढ लाखको किन्दा व्यापक विरोध भएको थियो ।
बालेन्द्र साहले एक करोड ४० लाख वालुवाटारमा खन्याएका छन्, खाट, एसी, फ्रिजलगायत खरिद गर्न । यहाँ कोही भन्दा कोही कम छैनन् । तर, पुष्पकमल दाहालले बालेन्द्रभन्दा बढी काम गरेका थिए । तैपनि, जनताले उनको सांसदलाई दिनदहाडै कुटे । दाहाल १० वर्ष जनयुद्ध लडेर आएका नेता हुन् ।
उनकै लडाइँले देशबाट राजतन्त्र हट्यो, जनताका छोराछोरी राष्ट्रपति बन्न पाउने भए । सात प्रदेश उनैको कारणले आएको छ । उनले सकेनन् होला तर उनका माग धेरै पुरा भएका छन् । देशमा संविधान बन्यो । तैपनि जनताले पिटे । १० वर्ष जनयुद्ध लडेको पार्टीलाई जनताले एक मौका दिए ।
काम गर्न नसकेपछि माओवादी खुम्चिएको छ । कुनै समयको सबैभन्दा ठूलो पार्टीले अहिले तेस्रो–चौंथो हुँदापनि चित्त बुझाउनुपरेको छ । माओवादीको त यो हालत बन्यो भने रास्वपाको के होला ? रास्वपाले हिजो जनतासँग जे वाचा गरेको थियो, त्यो पुरा हुने कुनै छाँटकाँट देखिएको छैन ।
त्यसैले रास्वपाका सांसदले पनि झक्कुप्रसादझैं कुटाइ खान नपर्ला भनेर भन्न सकिन्न । जनता सर्वशक्ति हुन् । जनताले चाहे भने पदमा पुर्याउन पनि सक्छन्, खसाल्न पनि । रास्वपाले पनि माओवादीबाट पाठ सिक्न आवश्यक छ । नत्र माओवादीकै हविगत हुन सक्छ । बालेन्द्र सरकारले शेरबहादुर देउवालाई पक्रिन के सम्म गरेन ?
बारम्बार रेड कर्नर नोटिस् जारी भयो । देउवा नेपाल फर्किएको तीन महिना हुन लागिसक्यो । उनलाई समात्न केले रोक्यो ? हिजो देउवालाई समात्न मरिहत्ते गरेको सरकार अहिले के हेरेर बसेको ? सरकार गठन भएपछि कतिवटा भ्रष्टाचारको फाइल खोलियो ? कति भ्रष्टाचारी जेल पुगे ?
जिबी राई कहाँ छन् ? रास्वपाका सांसदहरु घोक्रो सुक्नेगरी जिबी राईको कुरा सदनमा उठाउँथे । अहिले के भयो ? किन चुप लागेको ? कुनै सांसद जिबी राईको कुरा नै उठाउँदैनन् । सहकारी बचतकर्ताको पैसा एक सय दिनभित्र फिर्ता गर्ने भनिएको थियो । एक सय दिन भनेकोमा सात महिनासम्म पनि सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन् ।
बन्द उद्योग खोल्ने भनिएकोमा कति खुले ? सात महिना भनेको सानो अवधि होइन ? फागुन २१ गतेको चुनावमा जुन अर्बौं रुपैयाँ खर्च भएको छ, त्यो यिनलाई पदमा पुर्याउन होइन । देशमा विकास हुन्छ, परिवर्तन आउँछ भनेर रास्वपालाई भोट दिइएको छ । तर, यो सरकार विगतको सरकारभन्दा नाकाम र खत्तम देखिएको छ ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा मिलाउने न्यायाधीशलाई कसरी हित हुने काम गरियो ? जनताको आँखाअगाडि छर्लङ्ग छ । रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता भइसकेको छ । खुला प्रतिस्पर्धा भनेर गरिएको एकपछि अर्को नियुक्तिहरु विवादमा परेको छ ।
अरु पार्टीको मान्छेलाई बिना कसुर रातारात उठाउने, आफ्नो सांसदको घृणास्पद अडियो आउँदा पनि कारबाही नहुने ? यही हो सुशासन ? हिजो रविलाई राति समाउँदा त्यत्रो विरोध भयो । रविमाथि त सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्तो गम्भीर आरोप थियो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिनाकसुर रातारात घरबाट उठाइयो । भोलिपल्ट यत्तिकै छोडियो । यस्तो सरकारलाई के भन्ने ? पुराना नेताहरुलाई आठ कक्षा पास भनियो । तर, यिनले पढेर के गरे ? न कानुन बुझेका छन् न बोल्ने ढंग र काम गर्ने कार्यशैली नै छ ।
करोडौंको मालिकहरु तलबसमेत छोड्दैनन् । तर, यिनकै कुरा ठूलो छ । रास्वपा पनि अरु पार्टीभन्दा फरक होइन भनेर जनताले अहिले नै बुझ्दा हुन्छ ।
भक्तपुर