पुस २२,कञ्चन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक सबै एजेन्डामा छलफल गर्न समय पर्याप्त नभएपछि शुक्रबारको लागि सरेको छ ।
विहिबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विविधसहित २० एजेन्डा रहेका थिए । तर साँझ ७ बजेसम्म पनि बैठकमा ८ एजेन्डामा मात्र छलफल भएपछि शुक्रबारको लागि स्थगित गरिएको हो । शुक्रबार विहान ९ बजेबाट बैठक सुचारु हुनेछ । बैठकका सम्पूर्ण निर्णय बैठक समापन भएपछि मात्र सार्वजनिक हुने एन्फाले वेबसाइट मार्फत जनाएको छ ।
बैठकमा राष्ट्रिय खेलाडीलाई पुरस्कृत गर्ने, मैत्रीपूर्ण खेल संचालन गर्ने, डिभिज लिगको आयोजना, महिला राष्ट्रिय लिग लगायत विषयमा छलफल भएको छ । यस्तै विभिन्न समिति र उपसमिति गठन तथा पुनर्गठन, आर्थिक र कर्मचारी नियमावली संसोधन र राष्ट्रिय टिमको खेलाडी, प्रशिक्षक र अफिसियलको सेवा सुविधा सम्बन्धमा पनि बैठकमा छलफल भयो ।
फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझाव शिर्षकको एजेन्डामा छलफल चलिरहँदा बैठक स्थगित भएको हो । शुक्रबार यसै एजेन्डाबाट बैठक सुचारु हुनेछ । बाँकी एजेन्डामा फिजियोथेरापी समान खरिद गर्ने, एनएसएल सम्झौता, जिल्ला-प्रदेश-एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग, जिल्ला-प्रदेश र विभिन्न सदस्य संघको निर्वाचन, एन्फाको साधारण सभा र निर्वाचन लगायत विषय रहेका छन् ।
त्यस्तै शुक्रबार निर्वाचन नियमावली र निर्वाचन समिति गठन, अर्ह्तिक सहयोग तथा औषधि उपचार, वार्षिक बजेट तथा विविध एजेन्डामा छलफल हुनेछ ।