पुस २०,कञ्चन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा एन्फा कार्यसमितिमा राख्नका लागि समय माग गरेका छन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई मंगलबार पत्र लेख्दै झण्डै दुई दशक एन्फाको नेतृत्व गरेका थापाले लेखेका छन्, ‘२०७८ साल पुस २२ गते बस्न लागेको संघको कार्यकारिणी समितिको बैठकमा मलाई आफ्ना धारणा राख्नका निमित्त अवसर मिलाइदिनुहुन यो अनुरोध पत्र लेख्दैछु । तपाईले लगाएका आधारहिन आरोपहरुबारे संघको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिवार्य बनेको छ ।’
भ्रष्टाचारको अभियोगमा फिफाबाट १० बर्ष फुटबलका कुनै पनि गतिविधमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध खेपिरहेका थापाले एन्फा अध्यक्ष शर्पाले आफूमाथि लगाएका आरोपहरुका कारणले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमान्दारीपूर्वक गरेको काममाथि भ्रम सिर्जना भएको बताएका छन् ।
‘म अखिल नेपाल फुटबल संघको अध्यक्ष हुँदा यहाँको नेतृत्वमा ममाथि लिखित रुपमै विभिन्न निकायमा थुप्रै निराधार आरोपहरु लगाउनुभएको थियो । तर तपाईले लगाएका आरोपहरुमाथि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर अखिल नेपाल फुटबल संघमाथि गरेको छानविनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो , थापाले भनेका छन् ।
संवैधानिक आयोगको निर्णय स्वीकार्दै एन्फा बैठकमा आरोपप्रति आत्मालोचना गरेपनि अध्यक्ष शेर्पाले पछि मैले बोलेको होइन भन्दै औपचारिक बैठकमा बोलेका कुरा फिर्ता लिएको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यसबाट म र मेरो परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको छ । मैले तपाई एन्फाको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईंले पूर्ण रुपमा बेवास्था मात्र गर्नुभएन, थप आधारहिन भ्रमहरुको सिर्जना गरेर मेरो थप चरित्र हत्याको प्रयास गर्नुभयो ।’
थापाले फिफाको प्रतिबन्धमा रहेपनि एन्फा बैठकमा आफ्नो धारणा राख्नु कुनै फुटबल गतिविधि नभएको आफ्नो व्यक्तिगत विषयमा कार्यसमिति बैठक राख्न चाहेको बताएका छन् । उनले शर्पाले विगतमा लगाएका आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।