पुस १३,कञ्चन ।
कप्तान तथा विकेटकिपर मित भावसारले सानदार अविजित शतकीय इनिङ खेलेपछि एसिसी यु-१९ एसिया कपमा कुवेतले नेपाललाई एक विकेटले पराजित गरेको छ । योसँगै नेपाल यू-१९ एसिया कप २०२१ मा जित विहीन हुँदै बाहिरिएको छ ।
२ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ४८.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतको जितमा कप्तान तथा विकेटकिपर मित भावसारले १ सय ४९ बलमा २४ चौका र १ छक्कासहित १ सय ७५ रनको अविजित शतकीय इनिङ खेले । मितले कुवेतको सिनियर टोलीबाट १३ टि२० आई खेलि सकेका छन् । अन्तिम १२ बलमा ११ रन चाहिँएको अवस्थामा मितले विवेक यादवलाई ४९ औं ओभरमा दोस्रो, चौथो र पाँचौं बलमा चौका प्रहार गर्दै जित पक्का गराए ।
मित भावसार र जोहन साल्डान्हाले पहिलो विकेटका लागि १ सय ५ बलमा १ सय ९ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । १८ औं ओभरको दोस्रो बलमा गुलशन झाले अर्जुन साउदबाट जोहनलाई २५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।
१९ औं ओभरमा विवेक यादवले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्किने संकेत दिएका थिए । १९ औं ओभरको पाँचौं बलमा अब्दुल सदिक २ रनमा सन्तोष कार्कीबाट क्याच आउट गराए । अन्तिम बलमा मोहम्मद तोफिकलाई गोल्डेन डक पेभेलिएन पर्काए । तर अर्को एण्डबाट भावसारले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई खेलमा निरन्तर दबाबमा राखेका थिए ।
अब्दुल्लाह जाहिरलाई स्पिनर शेर मल्लले १ रनमा बोल्ड आउट गरे । बशिर अहमदले मोहम्मद उमरलाई १ र मोहम्मद बास्तकीलाई ५ रनमा आउट गरेपछि कुवेत ३४.५ ओभरमा १५५–६ को अवस्थामा पुगेको थियो । तर मितले आफ्नो उत्कृष्ट एकल प्रदर्शनमा टोलीको जित पक्का गरे ।
जितको लागि अन्तिम १३ रन चाहिँएको अवस्थामा ४८ औं ओभरमा गुलशन झाले लगातार दुई विकेट लिएपछि खेल रोचक बनेको थियो । तेस्रो बलमा मोहम्मद अब्दुल्लाहलाई ७ रनम कटएण्ड बोल्ड आउट गरे । अर्को बलमा जिशान अजिमलाई बोल्ड आउट गरे ।
नेपालका स्पिनर बशिर अहमदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । स्पिनर शेर मल्लले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १० ओभरमा १ मेडनसहित ७० रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ७.३ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको नेपाल ४२.३ ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ बनाए । मध्यक्रमका ब्याटर विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रन जोडे ।
एक समय ४.३ ओभरमा २७–३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि विवेक रानामगर र बशिर अहमदले १ सय १५ बलमा ९२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । आदिल अन्सारीले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा आउट भए । अन्य ब्याटरको प्रर्दशन राम्रो हुन सकेन ।
कुवेतका तीव्र गतिका बलर मिर्जा अहमदले शीर्षक्रमका तीन ब्याटरलाई आउट गरेपछि पावर प्लेमै नेपाल धरासय बनेको थियो । पहिलो ओभरको पाँचौं बलमा अहमदले सन्तोष कार्कीलाई मिट भाभ्सरबाट ५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।
तेस्रो ओभरको दोस्रो बलमा कप्तान देव खनाललाई ५ रनमा बोल्ड आउट गरे । विवेकटकिपर अर्जुन साउदलाई मिर्जाले १० रनमा बोल्ड गर्दा नेपाल ४।३ ओभरमा २७–३ को अवस्थामा पुगेको थियो । त्यसपछि विवेक रानामगर, बशिर र आदिल अन्सारीले इनिङ उकासेका थिए ।
विवेक यादव शून्य र गुलशन झा ७ रनमा आउट भए । तल्लोक्रमका आठौं विकेटका लागि आदिल र शेर मल्लले ६० बलमा ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । शेर २६ बलमा ३ चौकासहित २१ रनमा आउट भए । दीपेश कँडेलले २१ बलमा २ चौका र १ छक्कासहित १५ रनको योगदान दिए ।
कुवेतका मिर्जा अहमदले ५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । अब्दुल सदिकले ७.३ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । हेनरी थोमसले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । मोहम्मद बास्तकीले ५ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रन र दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल तीन खेलमा तीनमा नै पराजित हुँदै अंक विहीन बनेर बाहिरियो ।