पुस ११,कञ्चन ।
विकेटकिपर अर्जुन साउदको अर्धशतकको सहयोगमा उत्कृष्ट ब्याटिङ गरेपनि नेपाल एसिसी यू-१९ एसिया कपमा श्रीलंकासँग पराजित भएको छ । श्रीलंकासँग आइतबार ६० रनले पराजित भएसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।
३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा २ सय ६२ रनमा अल आउट भयो । यू१९ एसिया कपमा टेस्ट टोलीविरुद्ध नेपालले बनाएको यो एक उत्कृष्ट योगफलमा पर्दछ ।
नेपालका अर्जुन साउदले ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रनको उत्कृष्ट अर्धशतक इनिङ खेले । विवेक यादवले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ३ चौका र ३ छक्का सहित ४६ रनमा आउट भए । जारी यू-१९ एसिया कपमा नेपालबाट अर्धशतक प्रहार गर्ने अर्जुन पहिलो खेलाडी हुन् । अर्जुनले ७३ बलमा अर्धशतक पूरा गरेका थिए ।
कप्तान देव खनाल ४५ बलमा ४ चौकासहित २८ रनमा क्याच आउट भए । ओपनर सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । ओपनर देव खनाल र सन्तोष कार्कीले ११ ओभरमा ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सन्तोष माथिशा पाथिरानाको बलमा बोल्ड आउट हुन पुगेका थिए । १७ औं ओभरको तेस्रो बलमा देवलाई रविन डि सिल्भाले सदिशा राजपक्षेबाट क्याच आउट गराए ।
डि सिल्भाले नै २१ औं ओभरको तेस्रो बलमा वसन्त कार्कीलाई १ रनमा क्याच आउट गराए । रविन डि सिल्भाको बलमै विवेक रानामगर २ रनमा आउट भएका थिए । तर पाँचौं विकेटका लागि अर्जुन साउद र बशिर अहमदले ८७ बलमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । बशिर शेभन डेनियलको ३६ औं ओभरको पाँचौं बलमा सहान कुमाराबाट ४३ रनमा क्याच आउट भए । उनले ५१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
अर्जुन र विवेक दुबै रन आउट हुन पुगेका थिए । गुलशन झा १३ र मोहम्मद आदिल अन्सारी ७ रनमा आउट भए । श्रीलंकाका रविन डि सिल्भाले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मथिशा पाथिरानाले ८.५ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २२ रन बनाएको थियो । श्रीलंकाका सदिशा राजपक्षेले १ सय १९ बलमा ११ चौका र २ छक्का सहित १ सय ३१ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।ओपनर चामिन्दु विक्रमसिंघे १ सय २६ बलमा ८ चौका र २ सहित १ सय ११ रनको शतकीय इनिङ खेले । दोस्रो विकेटका लागि चामिन्दु र सदिशाले १ सय ९७ बलमा २ सय २३ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि नेपाली बलर श्रीलंका ब्याटर सामू निरीह बनेका थिए ।
ओपनर चामिदु र शेभन डेनियलले पहिलो विकेटका लागि १०.१ ओभरमा ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । नेपालले दोस्रो विकेट ४३ औं ओभरको अन्तिम बलमा लिएको थियो । आदिल अन्सारीको बलमा चामिन्दु विवेक रानामगरबाट क्याच हुन पुगेका थिए ।
सदिशालाई आदिल अन्सारीले ४९ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । दुनिथ नेथमिका बलमा चौका सहित रनमा अविजित रहे । नेपालका मोहम्मद आदिल अन्सारीले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । कप्तान देव खनालले ९ ओभरमा १ मेडनसहित ५५ रन खर्चेर १ विकेट लिए । विवेक यादवले ७ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ६ ओभरमा ३० रन खर्चेपनि विकेट लिन सकेनन् ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार कुवेतसँग खेल्नेछ ।
अंक तालिका
पाकिस्तान समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समान २ खेलमा अंक विहनी हुँदै नेपाल तेस्रो र कुवेत पुछारमा छन् । नेपालले आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी दुई खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।