पुस १०,कञ्चन ।
साविक विजेता प्रदेश एक र नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रधानमन्त्रप कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेका छन् । शनिबार फाइनलमा एपिएफले लुम्बिनी प्रदेश र प्रदेश एकले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेमिफाइनलमा प्रदेश एकले सुदूरपश्चिमलाई ९ विकेटले हरायो । ८६ रनको विजयी लक्ष्य प्रदेश एकले १६.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । प्रदेश एककी कप्तान रुविना क्षेत्री ४४ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहिन् । काजल श्रेष्ठ ३१ बलमा ४ चौकासहित २८ रनमा बोल्ड आउट भइन् । अप्सरी बेगम ९ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी कविता जोशीले एक विकेट लिइन् ।
त्यसअघि फाल्पा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनायो । सुदूरकी कप्तान ऋतु कनोजियाले ४२ बलमा १ चौकासहित २५ रनमा आउट भइन् । सम्झना खड्काले ३३ बलमा १ चौकासहित २७ र डली भट्टले १२ रन बनाइन् । प्रदेश एक की ज्योति दनुवार, अलिसा खडिया, रुविना क्षेत्री बेलबासे र संगिता राईले १–१ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा एपीएफले लुम्बिनीलाई ३८ रनले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २९ रन बनायो । एपीएफकी रोमा थापाले ४१ बलमा ४ चौकासहित ४२ रनको अविजित इनिङ खेलिन् । ममता चौधरी २२ बलमा ४ चौका सहित २७ रनमा आउट भइन् । सीता रानामगर १८, ज्योति पाण्डे ११ र राजमती ऐरीले १४ रन बनाए । लुम्बिनीको नेरी थापा, मधु डिसी, कृतिका मरासिनीले १–१ विकेट लिए ।
१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनायो । लुम्बिनीको नेरी थापाले ४८ बलमा ५ चौकासहित ३८ रनमा आउट भइन् । नितु भण्डारी १८, लक्ष्मी चौधरी ९ र सरस्वती पुनले ५ रन जोडे । एपिएफकी रेखा रावलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् । फाइनल आइतबार हुनेछ ।
प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन् । प्लेयर अफ द सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले समान १५ हजार प्राप्त गर्नेछन् ।