पुस १०,कञ्चन ।
शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ ।
त्रिपुरेशवरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको
फ्रिकिकमा ओमोलाजा नुरेन करिमको प्रहार सदुपायेग हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन । ३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुवर्ण मौका गुमाउँदा मछिन्द्र अग्रता लिनबाट चुसक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार दोस्रो बार च्याप्दै पोस्टबाट थोरै बाहिरिएको थियो ।
५८औं मिनेटमा सुनिल बलको क्रसमा विशाल राईको हेडर सदुपयोग हुन सकेन । ६४औं मिनेटमा सुनिल बलको लामो प्रहारलाई गोलरक्षक विशाल सुनारले मुस्किलले बचाउँदा रिवाउन्डमा सुनिल बलकै प्रहार डिफ्लेक्ट हुदा गोलरक्षकले सहजै नियन्त्रणमा लिन सफल भए ।
९०औं मिनेटमा सुनिल बलले फ्रिकिकमा दर्शनीय गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाउँदै महत्वपुर्ण ३ अंक दिलाए । जितपछि शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको मनाङको १३ अंक छ ।
मछिन्द्रलाई हराउन सकेको भए मनाङले सातौ चरणको खेल अघि नै एएफसी कप छनोटको यात्रा पक्का गर्ने थियो । तर, हार बेहोरेसँगै अर्काे चरणको खेल नै कुर्नुपर्ने भएको छ । एक खेल कम खेलेको आर्मीको ९ अंक छ ।
सातौ चरणमा मनाङले बिबिसीसँग पोखरामा तथा मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ । एक खेल कम खेलेको आर्मीले आइतबार थ्री स्टारसँग तथा एपिएफसँग खेल्ने तालिका छ ।