पुस ८,कञ्चन ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको छ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा नेपालले बंगलादेशसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो । घरेलु टोलविरुद्ध नेपालले कुनै पनि समय बलियो चुनौती पेश गर्न सकेनन् ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि १७–२५ ले नै गुमाउन पुगेको थियो । दोस्रो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट नेपाल पछि परेको थियो । तेस्रो सेट पनि नेपालले २५–१९ ले गुमाउँदै पराजित हुन पुग्यो ।
अब नेपालले दोस्रो खेलमा शुक्रबार उज्वेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले मंगलबार फाइनल खेल्नेछन् । त्यसअघि सोही दिन तेस्रो र चौथो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।
पाँच वर्षअघि नेपालले सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । त्यो नेपालले पुरुष भलिबलमा जितेको भलिबलको त्यो पहिलो र एक मात्र अन्तर्राष्ट्रिय पदक हो । त्यसअघि बिहीबारै महिलातर्फको खेलमा नेपालले श्रीलंकामाथि सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै ३–२ को पूनरागमन जित निकाल्न सफल भएको थियो । नेपालले पहिलो र दोस्रो सेट क्रमश १९–२५ र २१–२५ ले गुमाएको थियो । त्यसपछिको तीनै सेट नेपालले २५–१५, २५–१९ र १५–१३ ले जित्न सफल भएको थियो ।
अब नेपाली महिला टोलीले २४ डिसेम्वरमा महिला टोलीले माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ । लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ ।