पुस ७,कञ्चन ।
विभागीय टोली नेपाल एपिएफ क्लब धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
बुधबारले एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय २८ रन बनाएको थियो । एपिएफका ओपनर ईन्दु बर्माले ३१ बलमा ५ चौका सहित सर्वाधिक ३३ रन बनाइन् ।
राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन बनाए । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । दिपा जोरा र कविता जोशीले २-२ विकेट लिए ।
१ सय २९ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम १४ ओभरमा ३९ रनमा अल आउट भयो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफकी स्पिनर करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले १-१ विकेट लिए ।
समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ थालेको गण्डकी १७.१ ओभरमा ३९ रनमा अल आउट भयो । गण्डकीकी अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिईन् । त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले १-१ विकेट लिए ।
४० रनको सामान्य विजय लक्ष्य प्रदेश २ ले १०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश २ की साना प्रविनले १३ र अनुराधा चौधरीले १२ रन बनाईन् । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिईन् ।
प्रतियोगिता अन्तर्गत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन् । अर्को खेलमा गण्डकी प्रदेश र एपिएफ खेल्नेछन् । समूह ए बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह बी बाट अव बिहीबार हुने सुदूरपश्चिम र प्रदेश २ बीचको खेलको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनल पुष १० र फाइनल पुष ११ गर्ते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, दोस्रो हुने टोलीले ३ लाख, प्लेयर अफ द सिरिज २५ हजार, बेष्ट बलर र ब्याटरले समान १५-१५ हजार पाउने छन् ।