६ पौष,पोखरा
थकाली युवाहरुको राष्ट्रिय भेला पुस दोश्रो साता पोखरामा हुने भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा यहि पुस ७ गतेदेखि ११ गतेसम्म पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला हुने भएको हो ।
थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले थकाली युवाहरुको भेला गर्न लागिएको आयोजक थकाली सेवा समिति, केन्द्रीय युवा समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भेलाको लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले बताएको छ । ‘धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण, संवद्र्धन युवाहरुको अभिभारा’ भन्ने मूल नाराका साथ हुने भेलामा देशभरका १९ क्षेत्र र विदेशका ३ क्षेत्रगरी २२ क्षेत्रका युवाहरुको सहभागिता रहने थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिनु भएको छ। भेलाको अवसरमा ‘थकाली युवा, अवसर, चुनौति र सम्भावना’ विषयक बहस हुने भएको छ । बहसमा सहभागि हुन विभिन्न क्षेत्रका प्रतिष्ठित एवम् प्रबद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शेरचनले जानकारी दिनु भयो।
त्यस्तै, उक्त अवसरमा थकाली युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइने भएको छ । थकाली समुदायका बीचमा आपसमा सम्पर्क, समन्वय एवम् भाईचारा वृद्धि गर्दै थकाली युवाहरुको आत्मबल बृद्धिसहित व्यक्तित्व र नेतृत्व विकासका लागि प्रशिक्षण दिइन लागेको संयोजक शेरचनले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो। ‘गाँस, बास र कपासको जोहो गर्न भन्दै हामी थातथलो छाडेर हिमालबाट पहाड र तराई झ¥यौं, कतिपय युवाहरु विदेशसमेत पलायन भए, जसका कारण हाम्रो भाषा, संस्कृति, परम्परा, भेषभूषा लोपोन्मुख अवस्थामा गयो, त्यसैका जगेर्ना गर्ने उद्धेश्यले प्रशिक्षण राखेका हौं’ आयोजकका तर्फबाट योगेन्द्र शेरचनले पत्रकारहरुलाई भन्नु भयो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले प्रशिक्षण दिने जनाइएको छ ।
भेला तथा प्रशिक्षण आयोजना गर्न करीब १२ लाख खर्च लाग्ने समितिले जनाएको छ । कार्यक्रमलाई प्रभू बैंकले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजकको रुपमा मीनबहादुर शेरचन स्टोर्स तथा प्रायोजकहरुमा जयन्द्र गौचन, पोखरा, हरिध्वज तुलाचन, पोखरा, अर्जुनसिंह तुलाचन, काठमाडौं, विश्व शेरचन, काठमाडौं, शरद शेरचन, हाल क्यानडा, मन्त्र थकाली रेष्टुरेण्ड, पोखरा, कोकिला शेरचन, काठमाडौं, महेश भट्टचन, पोखरा, ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठान, मुस्ताङ रहेका छन् । यसैगरी थकाली सेवा समिति अष्टे«लिया, युके, काठमाडौं र पोखरालेपनि सहयोग गर्ने वचन दिएको संयोजक शेरचनले बताउनु भयो ।