३ पुस, काठमाण्डौ ।
कोरिया पुनः एकीकरण सहयोग समितिको आयोजनामा बिहीबार कोरियाली जनताका प्रिय नेता एवम् साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा किम जङ इलको दशौँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा नेपालका लागि प्रजग कोरियाका राजदूत जो योङ मानद्वारा व्यक्त मन्तव्यको नेपाली अनुवाद–सं।०
सर्वप्रथम महान् नेता कामरेड किम जङ इलको सम्झनामा भेला हुनुभएका सबै साथीहरूप्रति म गहिरो आभार व्यक्त गर्न चाहन्छु । कामरेड किम जङ इलले विश्वमा शान्ति र स्वाधीनता स्थापना गर्नुका साथै महान् नेता राष्ट्रपति किम इल सङले प्रतिपादन गर्नुभएको जुछे विचारधारालाई सफल बनाउन आफूलाई समर्पित गर्नुभयो ।
उहाँले कोरियाको इतिहास र न्याय तथा स्वाधीनता रक्षाको लागि कोरियाली जनताले गरेको सङ्घर्षको प्रस्ट व्याख्या गर्नुभयो ।
महान् नेता कामरेड किम जङ इलले सन् १९६० को दशकको सुरुतिरबाटै कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिमा रहेर लामो समय राष्ट्रपति किम इल सङको सबभन्दा नजिकको कामरेड र इमानदार सहयोगीको रूपमा काम गर्दै कोरियाको विगत, वर्तमान र भविष्यको नेतृत्व गर्नुभयो ।
सन् १९९४ मा राष्ट्रपति किम इल सङको निधन भयो ।
त्यही बेला प्रजग कोरियालाई एक्लो बनाउन र यसको श्वास अँठ्याउन साम्राज्यवादी शक्तिहरूले दुष्प्रयास गरे । देशभित्र र बाहिरको यस्तो जटिल परिस्थितिमा कामरेड किम जङ इलले स्वाधीनताको युगमा मार्गनिर्देशक सिद्धान्तको रूपमा जुछे विचारधारालाई विकास गरी समृद्ध बनाउनुभयो । जुछेमा आधारित समाजवादको रक्षा गर्नुभयो र आत्मविश्वासका साथ महान् राष्ट्रिय एकताको आदर्शमा आधारित भएर कोरियाको पुनःएकीकरणको विषयलाई प्रवद्र्धन गर्नुभयो ।
आफ्नो सेनाप्रधान सोन्गुन क्रान्तिकारी नेतृत्वमार्फत उहाँले आफ्नै खुट्टामा उभिएको राष्ट्रिय रक्षा व्यवस्थालाई बलियो बनाउन सिङ्गो देशसमक्ष आह्वान गर्नुभयो र सिङ्गो देशलाई आफ्नोसामु रहेका रहेक कठिनाइ एवम् चुनौती सामना गर्ने कामको नेतृत्व गर्नुभयो । अनि, एउटा शक्तिशाली समाजवादी देश बनाउने बृहत् लक्ष्य हासिल गर्न फराकिलो बाटो खन्नुभयो ।
कोरियाली जनताको लागि सन् १९९० को दशक भनेको ऐतिहासिक अवधि हो । त्यो दशकमा प्रजग कोरियाली जनताको राजनीतिक, वैचारिक र भावनात्मक जीवनमा धेरै उल्लेखनीय घटनाहरू भएका थिए ।
इतिहासको प्रगतिशील गतिलाई उल्टाउने लक्ष्यसहित समाजवादविरोधी रणनीति अघि बढाइरहेका साम्राज्यवादी र प्रतिक्रियावादीहरूसँग मिलेर संशोधनवादीहरूले प्रतिगमन गर्दा पूर्वसोभियत सङ्घ र अन्य पूर्वी युरोपेली देशहरूमा समाजवादी व्यवस्था विघटन भइरहेको थियो । सोभियत सङ्घको विघटनको परिणामस्वरूप त्यसअघि विद्यमान दुई ध्रुवीय पूर्व–पश्चिमको संयन्त्र पनि ध्वस्त भएपछि संरा अमेरिका संसारकै एकमात्र महाशक्तिको रूपमा उदायो । संरा अमेरिकाले समाजवादको आधार बनेको प्रजग कोरियालाई एक्लो बनाउन र दबाउन हरेक प्रयास गरिरहेको थियो । फलतः फेरि पनि अर्को आक्रामक युद्धको खतरा अझ बढ्दै थियो ।
प्रजग कोरियाविरोधी, समाजवादविरोधी र संरा अमेरिकाले नेतृत्व गरेको मोर्चाबद्ध शक्तिहरूको एक्ल्याऊ र दबाऊ रणनीतिले निम्त्याएको अवस्थाको वैज्ञानिक विश्लेषण गर्दै किम जङ इलले शत्रुले तेर्साएका सबै खालका चुनौती असफल बनाउन निकै मिहिनेत गर्नुभयो । उहाँले समग्र पार्टी र सिङ्गो समाजबीचको अपराजयी सहकार्य तथा नेता, पार्टी र जनताबीचको एकमनको एकताबाट कोरियाली शैलीको जनताकेन्द्रित समाजवादको रक्षा र प्रवद्र्धनको निम्ति काम गर्नुभयो ।
किम जङ इलले कोरियाली शैलीको समाजवादको राजनीतिक र वैचारिक आधार बनाउने कामलाई जुछे समाजवादी विचारधारा सफल बनाउन गर्नुपर्ने प्रमुख जिम्मेवारी बनाउनुभयो र त्यसको निम्ति उहाँले बुद्धिमत्तापूर्ण नेतृत्व गर्नुभयो ।
वैचारिक किल्ला बलियो बनाउनु सबभन्दा आवश्यक काम हो किनभने प्रजग कोरियाको समाजवादी व्यवस्था असफल बनाउन साम्राज्यवादीहरूले वैचारिक र सांस्कृतिक घुसपैठका हरेक प्रयास गरिरहेका छन् । त्यही भएर किम जङ इलले परिवर्तित परिस्थितिका आवश्यकता पूरा गर्न समाजवादी विचारधाराको विकासको निम्ति सैद्धान्तिक काममा आफूलाई समर्पित गर्नुभयो ।
‘समाजवाद विज्ञान हो’ नामको आफ्नो कृतिमा उहाँले जुछेमुखी समाजवादी विचारधारा र सिद्धान्तबारे प्रकाश पार्नुभएको छ । त्यो लेखमा उहाँले इतिहासबारे भौतिकवादी दृष्टिकोणमा आधारित समाजवादी आन्दोलनबाट मानिसबारे जुछे विचारधारामा आधारित समाजवादी आन्दोलनमा जाने बाटोबारे प्रस्ट व्याख्या गर्नुभएको छ ।
आफ्ना रचनाहरूमा उहाँले विभिन्न देशमा समाजवादी व्यवस्था असफल भए पनि समाजवाद एउटा विज्ञानको रूपमा मानिसको दिमागमा अझै जीवित रहेको लेख्नुभएको छ । अस्थायीरूपमै भए पनि अवसरवादको कारण समाजवादी आन्दोलनले ठूलो उथलपुथलको सामना गरिरहेको छ । तर, सबै सन्देहको पर्खाल तोडेर समाजवाद फेरि पनि उदाउनेछ र अन्तिम विजय समाजवादकै हुनेछ । समाजवादी व्यवस्थाको वैज्ञानिक चरित्र र सत्यनिष्ठाको कारण त्यसो हुन अवश्यम्भावी छ ।
कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रजग कोरियाली राजदूत जो योङ मान
कोरियाली मजदुर पार्टीका महासचिव कामरेड किम जङ उनको विलक्षण नेतृत्वअन्तर्गत कोरियाली मजदुर पार्टीले नेतृत्व गरेको हाम्रो देशमा समाजवादको महान् विजयले समाजवादको वैज्ञानिक चरित्र र सत्यनिष्ठा प्रमाणित हुन्छ ।
किम इल सङ र किम जङ इलका विचारद्वारा निर्देशित भएर विजयको बाटोमा अघि बढ्दै गरेको हाम्रो आफ्नै शैलीको समाजवाद निर्माण पार्टीको आठौँ महाधिवेशनले राज्य प्रधान सिद्धान्तको विस्तृत पालना गर्ने निर्णय गरेपछि नयाँ चरणमा प्रवेश गरेको छ ।
प्रतिकूल परिस्थिति र कठिनाइबीच समाजवाद निर्माणका निर्देशक शक्ति–पार्टी र जनताबीचको एकमनको एकताको शक्तिको कारण निर्देशक शक्ति र आन्तरिक सामथ्र्य बढाउन पार्टी र सरकारले गरेको लगातारको गहन र गतिशील सङ्घर्षले सफलता पाएको छ ।
जापानविरोधी क्रान्तिकारी सङ्घर्षको बलियो जरा भएको कोरियाली मजदुर पार्टीले ऐतिहासिक क्रान्ति र ठूल्ठूला परिवर्तनहरू गरेका छन् । पार्टीले समाजवादी नीति अघि बढाउनुका साथै जनताको शक्तिको जन्म सुनिश्चित गरेको छ । पार्टीको स्थापनाकालदेखि नै स्वाधीन दिशा र रणनीतिक तथा कार्यनीतिक नीति कायम गर्दै आएको छ ।
कोरियाली मजदुर पार्टीले हाम्रो राज्यको स्वाभिमान, सम्मान र साहसिक चरित्र रक्षा गरेको छ । प्रजग कोरियाले सामना गरिरहेको अभूतपूर्व कठिनाइलाई तोड्दै पार्टीले आफ्नो समयानुकूल नेतृत्वमार्फत साँचो समाजवादको उपादेयता पुष्टि गर्दै आएको छ ।
आफ्नो क्रान्तिकारी नेतृत्वको क्रममा हाम्रो पार्टीले हासिल गरेको सबभन्दा ठूलो उपलब्धि भनेको यसले निराशामा डुबेको, सानो तथा कमजोर देशलाई बलियो आत्मसम्मान र सिर्जनशील पार्टी र नेतृत्ववरपर महान् एवम् उत्कृष्ट जनतालाई एकमनको एकतासहित गोलबद्ध गर्न सकेको छ ।
पार्टीले व्यापक जनतालाई शिक्षित बनाउने, तालिम दिने र सङ्गठित बनाउने काममा अग्रसरता लिँदै आएको छ । त्यस्तै, उथलपुथलपूर्ण इतिहासको भुमरीबीच कोरियाली क्रान्तिलाई अघि बढाउन, क्रान्तिको मुख्य शक्तिलाई जोगाउन र समाजवादको असली चरित्रको रक्षा गर्न काम गर्दैआएको छ ।
समाजवादी व्यवस्थाअन्तर्गत आधारभूत राजनीतिक चरणको रूपमा जनता–प्रथम नीतिको विस्तृत पालना गर्दै हाम्रो पार्टीले राज्य मामिलामा आफ्नो जनप्रिय चरित्र प्रदर्शन गर्दै आएको छ । काम गर्ने तरिका र शैलीमा उल्लेखनीय सुधार गरिएको छ । त्यसले पार्टी र सरकारप्रति जनताको विश्वास अझ गहिरो बन्दै गएको छ । जनतामा देशभक्तिपूर्ण उत्साह र सक्रियता बढेको छ ।
विशेषतः सेना–जनता एकताको प्रशंसनीय परम्परालाई चुस्त ढङ्गले अघि बढाइएको छ । जनताको सेनाले देशभक्तिको पसिना बगाएर जनताको रक्षा गर्दै आएको छ । पार्टीको नेतृत्वमा जनताको निःस्वार्थरूपमा सेवा गर्ने क्रान्तिकारी जिम्मेवारी पनि इमानदारीका साथ सेनाले पूरा गर्दैआएको छ । यसले सेना र जनताबीचको एकता अझ बलियो बन्दै गएको छ ।
आर्थिक निर्माणको क्षेत्रमा ठूल्ठूला परियोजनाले धातु उद्योग र रसायन उद्योगले फड्को मारेको छ । ती उद्योग अर्थतन्त्रलाई धान्ने प्रमुख आधार हुन् । कृषि, भूमि निर्माण, सहर व्यवस्थापन, विज्ञान, शिक्षा र जनस्वास्थ्यजस्ता विविध क्षेत्रमा खोजमा आधारित सुधार गर्न ठूला आकारका प्रमुख निर्माण परियोजनाहरूले गतिशील प्रयास र अग्रगति दिइरहेका छन् । परिणामतः यसरी हासिल भएका उपलब्धिले देशले गरेका विकास र समृद्धिलाई टेवा पु¥याएको छ । यसको एउटा उपयुक्त उदाहरण कोभिड–१९ महामारी हो । प्रजग कोरियामा कोही पनि मानिस कोभिड–१९ बाट सङ्क्रमित भएनन् । तर, पश्चिमा सञ्चारमाध्यमले प्रजग कोरियाबारे झूटा प्रचारहरू गरे ।
राष्ट्रिय सुरक्षाको क्षेत्रमा कोरियाली प्रायःद्विपमा अस्थिर सैनिक अवस्थामा स्थायी नियन्त्रण सुनिश्चित गर्न टेवा दिइएको छ । त्यस्तै आक्रामक शक्तिका सैनिक चाललाई पूर्णतः रोक्न शक्तिशाली नयाँ हतियार प्रणालीको पनि विकास गरिएको छ । निकै तेज गतिमा बनाइएको हाम्रो अत्याधुनिक हतियार र जनसेनाको अर्धसैनिक एवम् सुरक्षा शक्ति दिनानुदिन बढ्दै जानुले समाजवादको विजयको बाटो खोल्न हाम्रो पार्टी र सरकारको शक्ति तथा सामथ्र्यप्रति जो कोही पनि विश्वस्त हुन सक्छ । संरा अमेरिका र उसका पिछलग्गूहरूले हाम्रो आणविक हतियार र ब्यालेस्टिक मिसाइलको विषय उछालेर प्रजग कोरियामाथि नाकाबन्दी थोपर्दै आएको छ ।
सन् २०२१ को सेप्टेम्बर २९ मा कोरियाली मजदुर पार्टीका आदरणीय महासचिव कामरेड किम जङ उनले दिनुभएको नीतिगत भाषणमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई थप सक्रियतापूर्वक र सकारात्मक रूपमा सामना गर्न विदेश मामिलाका जिम्मेवारी अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
अहिले संसारसामु सानातिना मात्र गम्भीर सङ्कट र चुनौती नभएको बरु संरा अमेरिका र उसका पिछलग्गू शक्तिहरूका जिद्दी र मनपरी व्यवहारले अन्तर्राष्ट्रिय शान्ति एवम् स्थायित्वमाथि समेत खतरा बढेको भन्दै उहाँले संरा अमेरिकाको एकपक्षीय गतिविधि र पक्षपातपूर्ण मोर्चा बनाउने शैलीको वैदेशिक नीतिका कारण अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिको संरचना ‘नयाँ शीतयुद्ध’ को अवस्था निम्तिने संरचना भएकोले जटिल रहेको बताउनुभयो ।
प्रजग कोरियाप्रति सैनिक धम्की दिने र आक्रामक व्यवहार गर्ने संरा अमेरिकाको नीतिमा कत्ति पनि परिवर्तन नभएको, बरु अझ धूर्त तरिकाले काम गर्दै गएको छ । संरा अमेरिकामा नयाँ सरकार बनेको आठ महिनाको अवधिमा यस्तै व्यवहार हुँदै आएकोले प्रजग कोरियाप्रति उसको व्यवहारमा कुनै परिवर्तन नआएको प्रमाणित हुन्छ । उहाँले संरा अमेरिकाले ‘कूटनीतिक व्यवहार’ र ‘निःसर्त वार्ता’ को कुरा दोहो¥याइरहे पनि ती सबै कुरा अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउने र आफ्नो आक्रामक व्यवहार लुकाउने चालबाजी मात्र भएको बताउनुभयो । संरा अमेरिकाका हरेक नयाँ सरकारले प्रजग कोरियाप्रति आक्रामक नीतिलाई अझ विस्तार गर्दै गएको छ ।
हाम्रो देशको स्वाधीन विदेश नीतिले न्याय र सत्यको प्रतिनिधित्व गर्छ । त्यसलाई व्यवहारमा लागु गर्न सक्नुले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा गम्भीर प्रभाव पारेको छ । हाम्रो देशको अन्तर्राष्ट्रिय छवि दिनानुदिन बढ्दो छ ।
यी सबै उपलब्धि समाजवाद निर्माणको मार्गनिर्देशक सिद्धान्तको रूपमा महान् नेता किम इल सङले प्रतिपादन गर्नुभएको जुछे विचारधाराको विकास गर्ने कामरेड किम जङ इलको महानता तथा किम इल सङ र किम जङ इलका विचारधारा सफलतापूर्वक पछ्याउनुभएका कामरेड किम जङ उनको विलक्षण नेतृत्वको कारण सम्भव भएको हो ।
आजको यो अवसरमा संसारभर क्रान्ति र समाजवादको निम्ति जीवन समर्पण गर्नुभएका महान् नेता किम जङ इलप्रति हार्दिक सम्मान र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।