मंसिर २६,कञ्चन ।
रुस्लान थ्री स्टार क्लबलाई बराबरीमा रोक्दै नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । एपिएफले थ्री स्टारलाई रोक्दै लिगमा पहिलो अंक बटुलेको हो ।
एपिएफले लिगको चौथो खेलमा अंक बटुलेको हो । यसअघि एपिएफले सुरुवाती तीन खेलमा नै हार बेहोरेको थियो । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२, च्यासलसँग १–० ले तथा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा मणि कुमार लामाको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले मुस्किलले नियन्त्रणमा लिदै एपिएफको अग्रता टारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अनन्त तामाङले सुवर्ण अवसर पाएपनि उनको प्रहार फितलो बन्यो । ४८औं मिनेटमा नविन लामाको फ्रिकिकमा राजन गुरुङको प्रहार फितलो बन्दा पोस्ट नजिकैबाट बाहिरियो ।
८१औं मिनेटमा आशिष लामाको हेडर पोस्ट नजिकेबाट बाहिरियो । दोस्रो हाफमा थ्री स्टारले कुनैपनि समय एपिएफको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
लिगमा थ्री स्टारको चौथो खेलमा यो दोस्रो बराबरी हो । यसअघि थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेल्दा च्यासलमाथि ३–० को जित र सातदोबाटोसँग १–० को हार बेहोरेको थियो ।
बराबरीसँगै थ्री स्टारको ४ खेलबाट ५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । समान ५ अंक भएपनि संकटा, पुलिस र एनआरटीलाई गोल अन्तरमा पछि पारेको हो । १ अंक बटुलेको एपिएफले एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको छ । पुछारको जावलाखेल अंकविहीन छ ।