मंसिर २६,कञ्चन ।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता एसिसी यू–१९ एसिया कपको लागि नेपाली प्रारम्भिक टोलीमा समावेश भएका छन् । यसअघि आइतबार घोषणा यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सुरुवातमै पर्न नसकेका दुगेशलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको छ ।
वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका सर्वाधिक विकेटकर्ता मोहम्मद हसनको दायाँ खुट्टा एंकलमा चोट लागेपछि उनको स्थानमा क्यानले दुर्गेशलाई बोलाएको हो । दुर्गेश छनोट समितिले बुझाएको २१ औं नम्बरमा हुँदा हसनको स्थानमा उनलाई बोलाएको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदलाई जानकारी दिए ।
लुम्बिनी प्रदेशलाई उपाधि जिताउन दुर्गेशले उत्कृष्ट प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेशलाई उपाधि जिताउन दुर्गेशले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमा १३ विकेट लिएका थिए । तर दुर्गेशनै टोलीमा नपरेपछि क्यानको आलोचना भएको थियो । गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट दुर्गेशले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउन मोहम्मद हसनले ७ खेलमा २१ विकेट लिदै शीर्षस्थानमा थिए । हसन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र बलर चुनिएका थिए । तर हसन चोटका कारण बाहिरिएका छन् ।
यू१९ एसिया कपमा नेपाल समूह बी मा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत नेपालको समूहमा छन्। समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १७ गते सम्म ( डिसेम्बर २३ देखि जनवरी १) युएईमा चल्नेछ ।
नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ ण्डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । फाइनल पुष १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ ।
नेपालको यू१९ टोली :
देव खनाल, दुर्गेश गुप्ता, बशिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी