२२ मंसिर,कञ्चन
घरैबाट शुरु गरौं, महिला हिंसा अन्त गरौं भन्ने नारा सहित मंगलवार रुपन्देहीको कञ्चन गाउपालिकामा लैंिगक हिंसा बिरुद्ध सरोकारवालाहरुसंग अन्तरकृया गरिएको छ। अन्तरकृयामा सहभागीहरुले लैंगिक हिंसाको अन्त्य गर्न आफुबाटै शुरु गर्नु पर्ने कुरालाई प्राथमिकता दिएका छन।
पहिले पहिले जस्तो शारिरीक संसर्ग गरेर हुने हिंसाको परिवर्तित रुप अहिले सामाजिक सञ्जालका माध्यमबाट लैंगिक हिंसा बढिरहेको त्यसको समाधानका लागि त्यति नै चुनौती थपिदै गएको बक्ताहरुले बताएका छन। कञ्चन गाउपालिकाका अध्यक्ष तथा अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले आफ्नै घरबाट घर र समाजमा हुने कुनैपनि हिंसाको अन्त्य गर्न स्थानिय सरकार सरोकारवालाहरुसंग सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बर्षका ३६५ दिन नै लैंगिक हिंसा बिरुद्ध दिन बनाउन समाजलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा सचेत बनाइनु पर्नेमा आफु सधै तत्पर रहदै आएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

लैंगिक हिंसा बिरुद्ध सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले समाजमा हिंसाका अनेक रुपहरु देखा परेको र धेरै जसो हिंसाका बिषयहरु आफु र आफ्नो परिवारको इज्जत जाने भन्ने दरले पनि बाहिर आउन नसकेके बताउनु भयो । शारिरीक रुपमा हुने हिंसा प्रत्यक्ष देखिने हिंसा भन्दा बिभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट हुने यौन हिंसा, मानसिक हिंसा, पारिवारिक हिंसा, महिला महिला बिच हुने हिंसा र पुरुषले महिलालाई गर्ने हिंसाहरुको निरुपण गर्न आफै नै सकृय हुनु पर्नेमा उपाधयक्ष तरामुले जोड दिनु भयो ।
सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले समाजमा हुने बिकृतिजन्य महिला हिंसा, यौन दुराचार, शारिरी श्रम शोषण, मानसिक हिंसाको अन्त्य गर्न सरोकारवालाहरु नै सचेत र संगठित हुनु पर्नेमा जोड दिनु भयो । शैक्षिक र आर्थिक रुपमा पछाडी पारिएका समुदाय, सामाजिक तथा सांस्कृतिक रुपमा पछि परेका समुदायहरुमा बढी महिला हिंसा हुने गरेको सरस्वती माधयमिक विधालयका प्रधानाध्यापक शिवकला खनालले उल्लेख गर्नु भयो ।
कार्यक्रममा अधिबक्ता विनोद गौतमले हिंसाको प्रकृति, कुनै पनि हिंसामा परेको ब्यक्ति, समूहले पाउने न्यायिक उपचार र हिंसामा संलग्न व्यक्ति वा समूहले पाउने कानुनी दण्ड सजाय आदीका बारेमा जानकारी गराउनु भएको थियो भने सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी अधिकृत गोपाल बहादुर के.सी.ले नेपालमा लैंगिक हिंसा र त्यसबाट समाजमा परेका प्रत्यक्ष तथा अप्रत्यक्ष असर र निरुपणका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनु भएको थियो भने कञ्चन गाउपालिका महिला तथा बालबालिका शाखाका महिला बिकास निरीक्षक राधा भट्टराइले कञ्चनमा महिला तथा बालबालिका सम्बन्धी हिंसा, हिंसाका प्रकार तथा प्रकृति र न्यायिक समितिबाट निरुपण गरिएका मुद्धाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
कञ्चन गाउपालिका वडा नं. ४ मा रहेको सामुदायिक सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन सुनगाभा सामुदायिक बिकास केन्द्रका सचिव हिमा बेलवासेले गर्नु भएको थियो भने कञ्चन गाउपालिकाका महिला बिकास निरीक्षक राधा भट्टराइले स्वागत गर्नु भएको थियो ।कञ्चन गाउपालिकाको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन४,रुपन्देही, सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देही गैरसरकारी संस्था महासंघ,रुपन्देही, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह लगायत स्थानिय संघ संस्थाहरुको सहआयोजनामा सञ्चालित अन्तरकृया कार्यक्रममा कञ्चनका महिला तथा आमा समूह र बिभिन्न संघसस्थाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।