मंसिर १९,कञ्चन ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाल गल्फ एसोसिएसन (एनजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै यो सिजनको गल्फ प्रतियोगिताको तालिका सार्वजनिक गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी गराएको छ । सुर्य नेपाल काठमाडौं गल्फ टुर रोयल नेपाल गल्फ क्लबमा हुने जानकारी गराएको छ । टुर बिहीबार सम्म चल्नेछ ।
चार दिने प्रतियोगितामा ३४ प्रोफ्रेसनल गल्फरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भुवन नगरकोटी, शुक्र बहादुर राई, रामे मगर र संजय लामा लगायतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै एमेच्योर गल्फर सुवास तामाङले समेत प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । शीर्ष २१ मा रहनेले पनि ११ हजार रुपैया हात पार्नछ । खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।
सुर्य नेपाल इस्टर्न ओपन धरान गल्फ क्लबमा २७ देखि ३० डिसेम्वरसम्म चल्नेछ । सुर्य नेपाल सेन्ट्रल ओपन २०२२ को ११ देखि १४ जनवरीसम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । सुर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा १ देखि ३ फेब्रुअरीमा हुनेछ ।
यस्तै सुर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ क्लब पोखरामा २२ देखि २५ फेब्रुअरीमा सञ्चालन हुनेछ । सुर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा १४ देखि १७ मार्चसम्म चल्नेछ ।
सुर्य नेपाल एनपिएजिए टुर च्याम्पियनसिप १८ देखि २१ अप्रिलमा गोकर्ण फरेष्ट गल्फ रिसोर्टमा हुनेछ । सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा ९ देखि १३ मेमा हुनेछ ।
सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको त्यसमा विदेशी गल्फरको पनि सहभागिता रहने संघका महासचिव दीपक आचार्यले जानकारी गराए ।