मंसिर ८,कञ्चन ।
अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक गरिएको छ ।आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी बुधबार सार्वजनिक गरेको हो ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दीपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन कृष्ण ताम्राकार, नेपाल पुलिस क्लबका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
महिलातर्फ शीर्ष आठमा रहेका नङ्सलदेवी तामाङ, अमिता गिरी, अनुमाया राई, रशिला महर्जन, शोभा गौचन, सुनैना मुखियासँगै नवौं र १०औं वरीयतामा रहेका सीमा राजवंशी र सम्झना शर्माले च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।
पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीतामाया राई चोटका कारण खेल्ने नसक्ने भएपछि उनीहरुको स्थानमा सीमा र सम्झनाले अवसर पाएकी हुन् । सीता गत वर्षदेखि नै कोर्ट बाहिर रहँदा जेसिकाले गत असोजमा रिभाइभ लिजरपार्क ब्याडमिन्टन दौरान चोट बोकेकी थिइन् ।
खेलाडीहरुको खेल्ने टिमको घोषणा भने केही दिनमा गरिने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।
पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्रपत खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ ।
च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् । टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् ।
करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।
खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को २०७७ पुसमा स्थापना भएको थियो । त्यसपछि एकेडेमीले जेठमा च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेपनि कोरोना महामारीका कारण च्याम्पियनसिप स्थगित भएको थियो ।
एकेडेमीले बुल्स इन्डोर स्पोर्ट्स हल (नख्खु) बाट प्रशिक्षण थालेको थियो । हाल देवीनगर क्लब (बानेश्वर) र धर्मश्री स्पोर्टस् एकेडेमी (जोरपाटी) मा प्रशिक्षण भइरहेको छ ।