कात्तिक २२,कञ्चन ।
कैलालीमा माघ दोश्रो साता आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौँ संस्करणमा पार्टनरका रुपमा बलियो नेपाल न्युट्रिसन इनिसियटिभ जोडिएको छ ।
ललितपुरस्थित सोमबार आफ्नै कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरको रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट नेपाली उमेर समूहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने विश्वास लिएको जनाउँदै अध्यक्ष शाहीले भने,‘यस्तो सहयोगले सुदूरपश्चिममा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने छ ।’
प्रतियोगितामा छैटौं संस्करणमा देशभरका १० विद्यालयको टोलीको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।
त्यस्तै सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौंले पनि प्रतियोगितामा भाग लिने बताइएको छ । लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताका सहभागी टोलीलाई २ समूहमा विभाजन गरिनेछ । हरेक टोलीले कम्तीमा ४ खेल खेल्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । प्रतियोगितालाई थप रोमाञ्चक बनाउन यसपटकदेखि प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने बताइएको छ ।