कात्तिक १९,कञ्चन ।
एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियालाई ५२ रनले हराउँदै सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जितसँगै न्युजिल्यान्ड समूह २ को दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।
अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन बनायो । नामिबियाका माइकल भान लिङ्गेनले सर्वाधिक २५ रन बनाए ।
आठौं ओभरको दोस्रो बलमा जेम्स निशमले ओपनर माइकल भान लिङ्गेनलाई २५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा स्पिनर मिचेल सान्टनरले स्टेफन ब्राडलाई २१ रनमा बोल्ड आउट गरे । उनले २२ बलमा २ चौका प्रहार गरे । ईश सोधीले गेरहार्ड इरास्मसलाई ३ रनमा डेभन कन्वेबाट क्याच गराए ।
१५ औं ओभरको तेस्रो बलमा टिम साउथीले १६ रनमा एलबीडब्लू आउट गरेपछि नामिबियाको जित कठिन बनेको थियो । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जेन ग्रिन २३ र जेजे स्मितले ९ रन बनाए । तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । टेन्ट्र बोल्टले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनार, जेम्श निसम र ईश सोधीले १–१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्स २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३९ रन अविजित रहे । जेम्श निसम २३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । पाँचौं विकेटका लागि फिलिप्स र निसमले ३६ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि न्युजिल्यान्ड बलियो योगफलमा पुगेको थियो ।
ओपनर मार्टिन गुप्टिल १८ बलमा १ चौका र १ छक्का सहित १८ रनमा आउट भए । पाँचौं ओभरको पहिलो बलमा डेविड विसेले गुप्टिललाई क्याच गराएका थिए । सातौं ओभरको दोस्रो बलमा मिचेल डर्याल १९ रनमा क्याच आउट भए । मिचेल डर्यालले १५ बलमा २ चौका प्रहार गरे ।
कप्तान गेरहार्ड इरास्मसले १३ औं ओभरको पहिलो बलमा केन विलियम्सनलाई २८ रनमा बोल्ड आउट गरे । विलियम्सनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
डेभन कन्वे १७ रनमा रन आउट भए । एक समय १४ ओभरमा ८७–४ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि फिलिप्स र निसमले उत्कृष्ट ब्याटिङका साथ न्युजिल्यान्डलाई बलियो योगफलमा पुर्याएका थिए । नामिबियाका बर्नार्ड शोल्ट्ज, डेविड विसे र गेरहार्ड इरास्मसले १–१ विकेट लिए ।
समूह २ बाट पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्डले आइतबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा न्युजिल्यान्ड ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । न्युजिल्यान्ड पराजित भएको खण्डमा अफगानिस्तान र भारतको अंक गणीतिय सम्भावना खुल्नेछ । भारतले आजनै स्कटल्यान्डसँग खेल्दैछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग खेल्नेछ । यी दुबै खेलमा फराकिलो अन्तरले विजयी भएमा र न्युजिल्यान्ड पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । भारतको नेटरनरेट ०.०७३, अफगानिस्तानको १.४८१ र न्युजिल्यान्डको १.२७७ रन छ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । भारत ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलमा हारका साथ बाहिरिएको छ ।