कात्तिक १८,कञ्चन ।
एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशमाथि एकपक्षीय जित हासिल गर्दै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित बनाएको हो ।
बंगलादेशले प्रस्तुत गरेको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो । टोलीका लागि कप्तान आरोन फिन्चले २० बलमा २ चौका र ४ छक्कासहित ४० रनको योगदान दिए । उनी पाँचौ ओभरको अन्तिम बलमा तस्किन अहमदबाट बोल्ड भएका थिए । त्यस्तै अर्का ओपनर डेविड वार्नरले १४ बलमा ३ चौकासहित १८ रन जोड्दै शोरिफुल अस्लामको बलमा बोल्ड भए । मिचेल मार्श ५ बलमा २ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले दुबईमा १५ ओभर ब्याटिङ गर्दै ७३ रनमा आफ्नो सबै विकेट गुमाएको थियो । पहिलो ओभरमा नै मिचेल स्टार्कले लिटन दासलाई गोल्डेन डकमा बोल्ड गरेका थिए । दोस्रो ओभरमा जोश हेजलवुडले सौम्य सरकारलाई ५ रनमा बोल्ड गर्दै विकेट पतनको सिलसिला जारी राखे । तेस्रो ओभरमा मुश्फिकुर रहमान १ रन जोड्दै ग्लेन म्याक्स्वेलको एलबीडब्लु धरापमा परे । तेस्रो ओभरमा टोली १०-३ को स्थितिमा थियो ।
ओपनर मोहमद नाइमले १६ बलमा ३ चौका सहित १७ रन जोडेपनि उनी छैटौं ओभरमा हेजलवुडको शिकार बने । त्यसपछि स्पिनर एडम जाम्पाले लगातार विकेट लिँदै बंगलादेशका ब्याट्सम्यानलाई टिक्न दिएनन् । उनले अफिफ होसेन (०), शमिम होसेन (०), मेहेदी हसन (०), मुस्ताफिजुर रहमान (४) र सोरिफुल इस्लाम (०) को विकेट लिए । कप्तान महमुदुल्लाहले १८ बलमा २ चौकासहित १६ रन जोडेपनि टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याउन सकेनन् । उनी १३ औं ओभरमा स्टार्कको शिकार बनेपछि टोली ६५-८ को स्थितिमा थियो ।
अष्ट्रेलियाले बंगलादेशले प्रस्तुत गरेको लक्ष्य ८.१ ओभरमा पूरा गरे दक्षिण अफ्रीकालाई उछिन्ने थियो । अष्ट्रेलियाले सातौं ओभरमा नै खेल जित्दै नेट रनरेटमा ठूलो उन्नति गरेको छ । यस समूहमा इंग्ल्यान्ड ८ अंकसहित शीर्षस्थानमा रहँदा दक्षिण अफ्री र अष्ट्रेलियाको समान ६-६ अंक छ । वेस्ट इन्डिजको २ अंक रहँदा श्रीलंका र बंगलादेश अंकविहिन छन् ।
आज हुने दोस्रो खेलमा श्रीलंका र वेस्ट इन्डिज खेल्दैछन् । श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ भने वेस्ट इन्डिज सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न जित हासिल गर्नैपर्ने बाध्यतामा छ । यस समूहको अन्तिम चरणमा अष्ट्रेलियाले वेस्ट इन्डिज तथा इंग्ल्यान्डले दक्षिण अफ्रीकासँग खेल्न बाँकी छ ।