कात्तिक १५,कञ्चन ।
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा श्रीलंका कप्तान दाशुन शनकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलाडी परिवर्तन गरेका छैनन् । उपाधिको दाबेदार इंग्ल्यान्ड लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बेन्ने सोचमा छ ।
सुपर १२ को समूह १ मा रहेको श्रीलंकालाई सेमिफाइनको झिनो आशा कायमै राख्न यो खेल जित्नै पर्ने दबाब छ । यस खेलमा पराजित भएमा श्रीलंका औपचारिक रुपमा बाहिरिनेछ । इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट, दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो ।
पहिलो चरणको समूह ए को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । अष्ट्रेलियासँग ७ विकेट र दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएपछि श्रीलंकाको अघिल्लो चरण कठिन बनेको हो ।
इंग्ल्यान्डको प्लेइङ ११ :
ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, जस बटलर, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, क्रिस वोक्स र ।
श्रीलंकाको प्लेइङ ११ :
दासुन शनका (कप्तान), कुसल पेरेरा, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, लाहिरु कुमारा, दुश्मन्था चामिरा, पाथुम निसंका र महेश थेक्शेना ।
अंक तालिका
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।