२८ वैशाख,सुर्खेत
भारतले नेपाली भूमि कालापानी अतिक्रमण गरी सडकमार्ग बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रदर्शनको आयोजना गरेको छ ।
आइतबार अपरान्ह गरिएको प्रदर्शनीमाथि प्रहरीले हस्तक्षेप गरी नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर थापा, सचिव धनेन्द्र विक, सदस्य गणेश खड्का र जगत लामिछानेमगरलाई पक्राउ गरेको छ ।
सिमा अतिक्रमणका सुर्खेतमा बिरुद्ध भएको बिरोध प्रदर्शन
मंगलगढीचोकबाट सुरु गरिएको प्रदर्शनी वीरेन्द्रचोक हुँदै नेताचोक पुगी कोणसभामा परिणत भएको थियो । सभामा नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले नेपालको सार्वभौमिकता रक्षाको निम्ति सम्पूर्ण नेपाली एकजूट हुनुपर्ने धारणा राख्नुभयो ।
जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, भारतीय सेना कालापानी छाड्लगायतका नारा लगाइएको थियो ।
यसैगरी भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र कब्जा गरी चीनको मानसरोवरसम्म जाने सडक खोलेको विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुरमा आज विरोध जुलुस तथा सभा सम्पन्न ग¥यो ।
भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस गगनभेदी नारा लगाउँदै च्याम्हासिँह–सूर्यमढी–दतात्रय–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक अरनिको राजमार्ग सडक खण्डमा पुगेर समापन भएको थियो । जुलुसमा भारतीय विस्तारवाद लिपुलेक छोड् , कालापनजी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड्, सीमा अतिक्रमण–बन्द गर, नेक्रायुसंघ–जिन्दावाद, नेक्राविसंघ–जिन्दावाद आदि नारा लगाउँदै अगाडि बढेको थियो ।
सिमा अतिक्रमणका काठमाण्डौमा बिरुद्ध भएको बिरोध प्रदर्शन
जुलुसपछिको सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्रमाणहरूले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति हो भन्नुभयो । विसं २०१८ सालमा कालापनी क्षेत्रको सबै गाउँमा नेपालको जनगणना गराउनुभएका ततकालनि जनगणना अधिकृत वरिष्ठ पत्रकार भैरव रिसाल अझै जीवित रहेको र कालापनी क्षेत्र नेपालको हो भनी बोलिरहेको अवस्थामा पनि नेपाल सरकारले देशको भूमि फिर्ता लिन साहस गर्न नसक्नु नालायकी र लाचारीपन हो भन्नुभयो । भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्देै अध्यक्ष ख्याजुले तबसम्म युवा–विद्यार्थीको आन्दोलन चालु रहने बताउनुभयो ।
यो पुरा भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=K7pmhYYWb8k