असोज १५,कञ्चन ।
ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका ओपनर मोहम्मद शाहजाद ५२ बलमा ७ चौका र २ छक्का सहित ६३ रनमा अविजित रहे । युवा ब्याटर भीम सार्की ४२ बलमा ५ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे ।
ओपनर ईशान पाण्डेलाई शून्यमा गुमाएपनि दोस्रो विकेटका लागि भीम र शाहजादले १ सय २२ रनकोे अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए । भीमले केज्रिक विलियम्सलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पोखराका विक्रम सोबले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । पोखराका युवा ब्याटर विवेक यादव ४५ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे ।
एक समय ४२–५ को कमजोर अवस्थामा पुगेको पोखरालाई छैटौं विकेटका लागि विवेक र असेला गुणरत्नेले ५६ रनको साझेदारी गरेका थिए । गुणरत्ने २६ बलमा १ चौका सहित २५ रनमा रन आउट भए । तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर रित गौतम लङअनमा खडक बहादुर बोहराबाट २ रनमा क्याच आउट हुन पुगेका थिए ।
तेस्रो ओभरको पहिलो बलमा सुनिल धमला शून्यमा रन आउट भए । सोमपाल कामीले पाँचौं ओभरको तेस्रो बलमा मलेसिया युवा स्टार विरनदीपसिंहले मिडअनमा एक हातले उत्कृष्ट क्याच लिएपछि कप्तान विनोद भण्डारी ५ रनमा पेभिलिएन फर्केका थिए । स्पिनर साहब आलमको सातौं ओभरको चौथो बलमा ठूलो सट खेलेका ओपनर रिचार्ड लेभी लङअनमा ईशान पाण्डेबाट २० रनमा समातिन पुगेपछि पोखरा समस्यामा परेको थियो । लेभीले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे । लोकेश बम ८ रनमा क्याच आउट भए ।
चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवनले ३ विकेटले पराजित गरेको थियो । चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्नेछ ।
। पोखराले पहिलो खेल भैहरवासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा पोखराले लािलतपुरलाई ९ विकेटले पराजित गरेको थियो । पोखराले शनिबार विराटनगरसँग खेल्नेछ ।