असोज १५,कञ्चन ।
विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसमाथि ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लगातार दोस्रो सिजन फाइनलमा स्थान पक्का गरेको हो ।
भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी समेटेको हेल्प नेपाले राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसमाथि पहिलो सेटमा २५–१७ को सोझो सेटमा जित निकालेको थियो । दोस्रो सेटमा पनि आफ्नो लयलाई कायमै राख्दै हेल्प नेपालले २५–१८ को सेटमा जित निकाल्दै जित नजिक पुग्यो ।
तेस्रो सेटमा पुलिसले बलियो चुनौती पेश गरेपनि हार टार्न सकेन । तेस्रो सेटमा हेल्प नेपालले २५–२१ को सेटमा जित निकाल्न सफल भयो ।
पुरुषतर्फको दोस्रो सेमिफाइनलमा केही वेरमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि महिलातर्फ नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले फाइनलमा स्थान पक्का गरे । एपीएफले त्रिभुवन आर्मी क्लबलाई तथा डायमन्डले नेपाल पुलिस क्लबलाई समान ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।