असोज ११,कञ्चन ।
साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपालले ७-२ को हार बेहोरेको हो ।
पहिलो हाफमा २-१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो । नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो । पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताएपनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो । साफले अन्तिम टोलीमा २३ सदस्य रहने भएपनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लग्न पाउने प्रावधान छ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
साफको लागि घोषणा गरिएको अन्तिम टोली :
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ