असोज ६,कञ्चन ।
स्वास्थ्यमा समस्या देखिएपछि विश्राममा रहेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पुनम जर्घामगरको शल्यक्रिया भएको छ ।
केहि साता अघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि गरिएको परिक्षणमा मुटुमा समस्या देखिएपछि पुनम विश्राममा रहेको थिइन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीको प्रि कम्पिटिसन मेडिकल एसेस्मेन्ट (पिसिएमए) दौरान पुनमको मुटुमा समस्या देखिएको थियो । उक्त समस्या देखिएपछि सक्रिय खेलबाट विश्राम लिएकी पुनमको शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मंगलबार शल्यक्रिया भएको हो ।
पुनमको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोरेको संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फा र गंगालालबीच यसअघि नै खेलाडीको स्वास्थ्य परिक्षणका लागि सम्झौता गरेको थियो । सोहि अनुरुप राष्ट्रिय टोलीको परिक्षण गर्दा समस्याबारे थाहा भएको थियो ।
मंगलबार डाक्टर रिजु महर्जनको टोलीले उनको शल्यक्रिया गरेको थियो । डाक्टर महर्जनका अनुसार अब केहि महिनापछि उनको स्थितिमा सुधार हेरेर मैदानमा फर्कने सम्भावना छ । ‘हामीले उहाँको समस्या थाहा पाएपछि सकेसम्म चाँडो उपचार गर्न सुझाव दिएका थियौं । मंगलबार अत्याधुनिक पद्दतिबाट शल्यक्रिया भएको छ । आज डिस्चार्ज पनि हुनुभयो,’ उनले भने, ‘ अब ६ महिनापछि उहाँको अवस्था हेरेर खेल्ने नखेल्ने भन्न सकिन्छ । फेरी सक्रिय खेल जीवनमा फर्कने सम्भावना छ ।’
यता शल्यक्रियापछि पुनमले भने आफूलाई कुनै समस्या नभएझैं लागेको बताइन् । ‘मलाई समस्या छ भन्ने थाहा थिएन । अब डाक्टरहरुको सल्लाहअनुसार विश्राम लिएर शल्यक्रिया भएको छ । अहिले पनि केहि समस्या छ जस्तो भएको छैन । अब उहाँहरुकै सुझाव अनुसार अघि बढ्नेछु,’ उनले भनिन् ।
राष्ट्रिय टोली उज्वेकिस्तानमा एसियन कप छनोटमा प्रतिस्पर्धा गरिरहँदा पुनमको शल्यक्रिया भएको थियो । उक्त प्रतियोगिताको तयारीस्वरूप राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्दा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पुनमको अवस्थाबारे जानकारी दिएका थिए । प्रशिक्षक फिलिप्स र टोलीले पुनमलाई बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विशेष सम्मान दिने निर्णय लिएको थियो ।
सोही योजना अनुसार बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरेका थिए । पुनम १२ औं खेलाडीका रुपम मैदान प्रवेश गरेकी थिइन् । राष्ट्रिय गानको धुन सकिएसँगै पुनम लाइनअपबाट अलग्गिएर पुनः बेन्च फर्किएकी थिइन् ।
नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम त्यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी पुनम नियमित रुपमा राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेलिरहेकी छिन् । उनी विभागीय टोली आर्मीकी महत्त्वपूर्ण सदस्य हुन् ।