असोज २,कञ्चन ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स र हङकङको सामना गर्दा टोलीसामु विश्वकपको बाटोमा अघि बढ्ने अवसर पनि हुनेछ । हालसम्म तीन पटक एसियन कप खेलेको नेपालले पहिलो पटक फिफा विश्वकपको छनोटमा सहभागिता जनाउने अवसर पाएको हो ।
सन् १९९९ मा एसियन कप खेलेपछि झन्डै एक दशक महिला फुटबलको अन्तर्राष्ट्रिय गतिविधि शून्य रहयो । सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुदबाट पुन: अन्तर्राष्ट्रिय जगतमा चलायमान भएको नेपाली फुटबल २ दशकको अनुपस्थितिपछि एसियन कप खेल्ने सुरमा छ । यसपटक एसियन कपसँगै विश्वकप पुग्ने बाटो पनि नेपालसामु छ । एसियन कपमा छनोट हुने टोलीसँग मात्र विश्वकप खेल्ने अवसर रहनेछ ।
सन् १९९१ बाट सुरु भएको फिफाको महिला विश्वकपको नवौं संस्करण सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त आयोजना हुँदैछ । नवौं संस्करणमा सहभागी टोली संख्या २४ बाट बढाएर ३२ पुर्याइएको छ । एसियाबाट आयोजक अष्ट्रेलिया स्वत: छनोट हुँदा थप ५ टोलीले छनोट हुने अवसर पाउनेछन् । यसबाहेक २ टोलीले अन्तर कन्फेडेरेसन छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।
एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे प्रष्ट पारेको छैन, तर एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भने उल्लेख गरिएको छ । एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने पनि प्रष्ट छ ।
नेपालले यसअघि सन् १९८६ र १९८९ मा पनि एसियन कप खेलेको थियो । दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो । नेपाल त्यसबेला सबै ६ खेलमा परजित्त हुँदा कुनै गोल गर्न सकेको थिएन । सन् १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो । उज्वेकिस्तानविरुद्ध ६-१ ले पराजित हुँदा नेपालका लागि पेमा लामाले गोल गरेकी थिइन् । नेपालको लागि महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने लामा अहिलेको टोलीमा व्यवस्थापकको भूमिकामा छिन् ।
नेपालले पछिल्लो ५ वर्षयता दक्षिण एसियाबाहिरको टोलीसँग पनि खेल्दै आएको छ । त्यसअघि दक्षिण एसियाली टोलीसँग साफ र सागका खेलमा सिमित टोलीले पछिल्लो समय मैत्रीपूर्ण खेललाई पनि जोड दिएको छ । मलेसियासँग सन् २०१६ मा मैत्रीपूर्ण खेल खेल्दै पहिलो पटक नेपाली भूमिमा महिला टोलीले खेलेको थियो । मलेसियालाई १-० ले पराजित गरेको ५ महिनापछि मलेसियाकै मैदानमा भने नेपाल १-१ को बराबरी र ४-१ को हार बेहोर्न पुगेको थियो ।
त्यसपछि नेपालले चीन भ्रमणमा त्यहाँका स्थानीय टोलीविरुद्ध पनि खेलेको थियो । ओलम्पिक छनोटको तयारीको रुपमा रहेको उक्त प्रतियोगितापछि नेपालले मुख्य प्रतियोगितामा भारत, म्यानमार र बंगलादेश तीनै टोलीसँग १-१ को बराबरी खेल्यो । ओलम्पिक छनोटको दोस्रो चरणमा नेपालले स्थान पनि बनायो ।
लगत्तै भारतमा भएको हिरो गोल्डकपमा भारत र इरानलाई हराएको नेपाली टोली म्यानमारसँग भने फाइनलसहित २ खेलमा पराजित भयो । नेपालले यस प्रतियोगितामा भारतलाई २-१ ले हराउँदै दक्षिण एसियाको महारथीमाथि पहिलो जित हासिल गरेको थियो । तर त्यसको केहि महिनापछि ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल भारत र म्यानमारसँग पराजित भयो । अन्तिम खेलमा भने नेपालले इन्डोनेसियालाई हराएको थियो ।
नेपालले त्यसपछि किर्गिस्तानको नादेझ्दा कप खेल्दै किर्गिस्तान र ताजिकिस्तानलाई पराजित गर्दा उज्वेकिस्तानसँग भने फाइनलसहित २ खेलमा हार बेहोर्यो । त्यसपछि दक्षिण एसियाली खेलकुदमा भारतविरुद्ध लगातार हार बेहोरेको नेपाली टोलीले यसै महिना बंगलादेशविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल जितेको टोली दोस्रो खेलमा भने गोलरहित बराबरीमा रोकियो ।
पहिलो पटक विश्वकप खेल्ने बाटोमा अघि बढेको टोलीसँग यसपटक आफ्नो मुख्य फरवार्ड सावित्रा भण्डारीको साथ छैन । चोटका कारण महिला फुटबलले हालसम्म पाएको सर्वोत्कृष्ट खेलाडी नहुँदा टोलीलाई पक्कै कठिन छ । फिलिपिन्स र हङकङले आफ्नो तयारी राम्रो रहेको बताइरहँदा नेपाली टोली पहिलो पटक विदेशी प्रशिक्षकसँग एक महिना तयारी गरेर उज्वेकिस्तान प्रस्थान गरेको छ ।
फिफा वरीयता हेर्ने हो भने दुवै प्रतिद्वन्द्वी नेपालभन्दा माथि छन् । तर नेपालभन्दा निकै तल रहेको बंगलादेशले गत साता गरेको प्रदर्शनपछि प्रशिक्षक फिलिप्स फिफा वरीयताले खेलको स्तर नदेखाउने बताउँछन् । उनी नेपालको वरीयता भन्दा फिलिपिन्स र हङकङविरुद्ध प्रदर्शन राम्रो हुनेमा आशावादी छन् ।
पछिल्लो समय महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरमा निकै अवसर पाएका छन् । यसपटकको अवसर नेपालको लागि निकै ठूलो छ । एसियन कप छनोट भएको अवस्थामा विश्वकपमा समेत अघि बढ्ने अवसर टोलीसामु छ । अनुभवमा केहि कमी भएपनि क्षमता र कौशलमा नेपाली खेलाडी अब्बल छन् । बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलले टोलीलाई केहि सहज पनि बनाएको छ ।
दक्षिण एसियामा भारतको छायाँमा रहेको टोलीसामु अर्को वर्ष भारतमै हुने एसियन कपमा छनोट हुने अवसर छ । प्रशिक्षक फिलिप्सले युवा खेलाडीलाई विश्वास गर्दै दिएको अवसरमा कस्तो प्रदर्शन हुन्छ, हेर्न बाँकी छ । यस प्रतियोगितामा सुखद नतिजा ल्याउन सके महिला फुटबलका लागि आगामी केहि वर्ष स्वर्णिम हुनेछन् । र त्यसको जिम्मेवारी अब यिनै खेलाडीसामु छ, जसले आफ्नो भविष्य आफैं निर्धारण गर्नेछन् ।