असोज १,कञ्चन ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको छ ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ७८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ३७ बलमा २ चौका सहित २१ रनमा अविजित छन् । विनोद भण्डारी ५ रनमा अविजित छन्
नेपालले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । डेब्यू खेल खेलेका तीव्र गतिका बलर काइल फिलिपको बलमा आसिफ ठूलो सट खेल्ने धुनमा टप एज लागेर करिमा गोरबाट तीन रनमा क्याच आउट हुन पुगेका थिए । आसिफ आउट हुँदा नेपाल ५–१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।
स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए । कुशलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एल्मोर हचिन्सनको १५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ । कभरमा करिमाले एक हातले उत्कृष्ट क्याच लिएपछि रोहित पेभिलिएन फर्किनु परेको छ ।
अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिँदा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर गुलशन झालाई डेब्यू दिएको छ । विक्रम सोबलाई बेन्चमा राखेको छ । गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए ।
नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी
नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।