भदौ २९,कञ्चन ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले नेपालबाट ओडिआई क्रिकेटमा दुई नयाँ कीर्तिमान बनाएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग खेलमा अर्धशतक प्रहार गर्दै रोहितले नयाँ कीर्तिमान कायम गरेका हुन् ।
सोमबार राती अमेरिकालाई ५ विकेटले हराउन रोहित नायक बन्दै ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहनेक्रममा दुई नयाँ कीर्तिमान बनाए । रोहित नेपालबाट ओडिआईमा तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै उनी नेपालबाट ओडिआईमा लगातार दुई अर्धशतक प्रहार गर्ने पनि पहिलो खेलाडी हुन् । ओडिआईमा नेपालबाट कुल नौ खेलाडीले अर्धशतक प्रहार गरेका छन् । तीन अर्धशतक प्रहार गर्ने रोहित एक्लो खेलाडी हुन् ।
रोहितपछि पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा दुई दुई अर्धशतक छ । तर लगातार दुई अर्धशतक यसअघि ओडिआईमा नेपालबाट थिएन । ओडिआईमा हालसम्म नेपालका ९ खेलाडीले अर्धशतक बनाएका छन् । सोमपाल कामी, सुवास खकुरेल, शरद भेषावकर, कुशल मल्ल, विनोद भण्डारी, कुशल भुर्तेलको नाममा १-१ अर्धशतक छ ।
रोहितले यसै साता पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा ८६ रनको उत्कृष्ट इनिङ खेल्दै नेपाललाई सानदार जित दिलाएका थिए । पहिलो अर्धशतक २०१९ मा युएईसँग दोस्रो ओडिआई खेलमा ५५ रनको इनिङ खेलेका थिए । उक्त समय रोहित ओडिआईमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । उक्त कीर्तिमान गत वर्ष कुशल मल्लले तोडेका थिए । अमेरिकासँग पहिलो खेलमा पनि रोहितले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै परिपक्व प्रदर्शन गरेपछि नेपालले जित निकालेको थियो ।
२०२० फेब्रुअरीमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलपछि नेपाली टोलीमा पूनरागमन गरेका रोहितले उत्कृष्ट प्रदर्शन गरेका छन् । रोहितले पिएनजीमाथि दुई विकेटको संघर्षपूर्ण जित निकाल्न ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए । नेपालले सोमबार राती अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका विकेटकिपर मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेपनि टोलीले जित्न सकेन । नेपालले आज ओमानसँग खेल्दै छ ।
यो पनि पढ्नुहोस्ः
पुनरागमनमा रोहित रवाफ
नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए ।
पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ८२–७ को कमजोर अवस्थामा पुगेको थियो । नेपालको अन्तिम आशाका रुपमा रोहित र सोमपाल कामी थिए । रोहितले सोमपालसँग आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई अप्रत्याशित हारबाट बचाएका थिए । टोलीलाई जित्नको लागि एक रन चाहिएको अवस्थामा रोहित ४१ रनमा बोल्ड आउट भएका थिए ।
दोस्रो खेलमा रोहितले चौथो नम्बरमा ब्याटिङ गर्दै करिअरकै उत्कृष्ट ब्याटिङ गरे । अनुभवी खेलाडी शरद भेषावकर र आरिफ शेखलाई बेन्चमा रहँदा दीपेन्द्रसिंह ऐरी चोटले खेल्न सकेनन् । रोहितले त्यो भूमिका अझ भरपूर्ण रुपमा निर्वाह गरे । दुवै ओपनर तीन तीन रनमा आउट भएपछि मैदान आएका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । कलिलो उमेरमै धैर्यता र परिपक्वताको नमुना प्रदर्शन गर्दै जिम्मेवारीपूर्ण ब्याटिङका साथ पिएनजीलाई चुनौतीपूर्ण लक्ष्य दिएका थिए ।
रोहित ४९ औं ओभरको चौथो बलमा स्कुप सट खेल्नेक्रममा टोनी उराबाट लेगमा क्याच आउट भएपछि शतकबाट चुकेका थिए । व्यक्तिगत रुपमा ठूलो उपलब्धिबाट चुकेपनि टोलीलाई भने सुरक्षित योगफलमा पुर्याएपछि आउट भएका थिए । रोहित १ सय २३ बलमा २ चौका र ३ छक्का सहित ८६ रनमा आउट भएका थिए । पहिलो पटक डे नाइट ओाडिआई खेल खेलेका रोहितले अल अमरेत क्रिकेट मैदानको उच्च तापक्रममा अन्तिम सम्म डटेर लागि परे ।
चौथो ओभरको पाँचौ बलमा कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका रोहित इनिङ सकिन ८ बल बाँकी रहँदा आउट भएका थिए । लगभग पुरै इनिङ भर उनी क्रिजमा रहँदै पिएनजीका बलरलाई दबाबमा राखेका थिए । स्लो आउटफिल्ट, उच्च तापक्रम अनि लगातार विकेट पतनको दबाबका बाबजुद १९ वर्षिय रोहितले परिपक्क प्रदर्शन गरे ।
१९ महिनापछि रोहितले टोलीमा सानदार प्रदर्शनका साथ पूनरागमन गरेका थिए । रोहितले पछिल्लो पटक २०२० फेब्रुअरीमा ओमानविरुद्ध खेलेका थिए । टियु मैदानमा ओमानविरुद्ध पहिलो खेलमा कप्तान जिशान मकसुदको बलमा रोहित फस्ट स्लिपमा खवर अलीबाट पहिलो बलमै क्याच आउट भएपछि टोली बाहिर रहँदै आएका थिए । दोस्रो खेलमा रोहितको स्थानमा नेपालले अमेरिकाविरुद्ध कुशल मल्ललाई मौका दिएको थियो ।
कुशलले डेब्यूमै कीर्तिमानी अर्धशतक प्रहार गरेपछि बाँकी खेलमा रोहितको ढोका बन्द भएको थियो । एसिसी इस्टर्न रिजन टि२० एसिया छनोटको लागि नेपाली टोली थाईल्यान्ड भ्रमण गर्दा उनी टोलीमै थिएनन् । वैशाखमा घरेलु मैदान टियुमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा बन्द प्रशिक्षणमै थिएनन् ।
रोहित टिममा पर्न नसक्नुमा प्रदर्शन हुन नसकेको बताउँछन् । ‘त्यो समयमा मैले राम्रो प्रदर्शन गरेको थिइनँ । टिमबाट बाहिर हुँदा नराम्रो त लागिनै हाल्छ । तर मलाई किन बाहिर छु भन्ने थाहा थियो,’ हाम्रो खेलकुदसँग कुरा गर्दै रोहितले भने, ‘मैले आफ्नो गल्तीहरु सुधार गरेर ब्याटिङमा अझ उत्कृष्ट गर्ने गरी आउँछु भन्ने सोचेको थिए । टिममा नपर्दा आफ्नो गल्ती सुधारमै निरन्तर ध्यान दिएको थिए ।’
रोहित अहिले सबै कुरा सामान्य राख्न खोजिरहेको बताउँछन् । ‘अहिले सबै सामान्य राख्न खोजिरहेको छु । बलमा बढी केन्द्रित छु । मेरो विशेष ध्यान मैदानमा बल हेरेर खेल्नेमा छ । अरु पहिला भन्दा खासै केहि फरक छैन । मेरो दिमागमा टिमलाई केहि योगदान गर्न सक्छु भन्ने हुन्छ । टिम म बाट जस्तो चाहन्छ त्यस्तै खेल्दैछु’, रोहितले भने ।
रोहित एक समय शतक नजिक थिए । तर रोहितले व्यक्तिगत शतक भन्दा टोलीको योगफललाई प्राथमिकतामा राखे । ‘शतकको आशा त थियो । तर करण दाइ र मेरो साझेदारी राम्रो भयो । करण दाइले ठूलो सट प्रहार गरिरहनु भएको थियो । त्यसैले मैले मेरो शतक भन्दा पनि दाइलाई स्ट्राइक दिने प्रयास गरें । पाएको बललाई म आफै हान्ने सोचमा थिए,’ उनले भने ।
‘शतकबाट चुक्दा दुःख त लागिहाल्छ । तर टिमले जित्यो । त्यो हामीलाई धेरै महत्वपूर्ण भयो, ‘त्यसैमा उनले थपे, ‘आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने छु । अब आउने खेलहरु हाम्रो लागि निकै महत्वपूर्ण छन् । सबै खेल जित्दै ८ अंक बटुल्न उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’
मस्कटको अल अमरेत क्रिकेट मैदानको तापक्रम ३५ डिग्री माथि छ । १ सय २३ बल खेलेका उनले २ चौका र ३ छक्का सहित ८६ रन जोडेका थिए । रोहितले बाउन्ड्रीबाट २६ रन जोड्दा बाँकी ६० रन डबल सिंगल डबलबाट थियो । युवा स्टार रोहितले अन्तिम समय सम्म क्रिजमा टिक्दै उक्त उच्च तापक्रममा रन बनाउनु पक्कै सामान्य कुरा भने थिएन । अन्तिम सम्म उनको जोश र क्षमतामा कुनै कमी आएको थिएन । सुरुवातमा जसरीनै तीव्र रुपमा दौडिएर डबल सिंगल रन जोडेका थिए ।
गतवर्ष ओमानविरुद्ध शून्यमा आउट भएपछि गल्ती सुधार गर्ने अवसर पाएनन् । त्यसपछि उनलाई बन्द प्रशिक्षणमै पर्न कठिन भयो । पछिल्ला दुई घरेलु प्रतियोगितामा औसत प्रदर्शनका साथ रोहितले पूनरागमनको संकेत दिएका थिए । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने रोहितले काठमाडौं मेयर्स कपमा एपिएफविरुद्ध ५६ रनको इनिङ खेलेपछि पूनरागमनको सहज भएको थियो ।
प्रमुख ब्याट्सम्यान पारस खड्काको सन्न्यास र कोरोना महामारीले गर्दा १७ खेलाडी ओमान भ्रमण गर्ने भएपछि उनलाई अन्तिम टोलीमा स्थान बनाउन सहज भएको थियो । उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइते हुँदा सुरुवातमै प्लेइङ ११ मौका अवसर मिल्यो । र उक्त अवसरको महत्त्व बुझ्दै भरपुर फाइदा उठाए ।
जिम्मेवारी र परिपक्क ब्याटिङ रोहितबाट पहिलो पटक भएको भने होईन । नेपाललाई ओडिआई मान्यता दिलाउन २०१८ मा डिभिजन–२ र विश्वकप छनोट प्रतियोगिता निर्णायक खेलमा रोहितनै नायक बनेका थिए । केन्याविरुद्ध गर वा मरको अवस्थामा १ सय ७८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल एक समय ८२–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि रोहितले आरिफ शेखसँग ८७ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको सम्भावना कायमै राखेका थिए । रोहितको ४७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
एकदिवसिय विश्वकप ग्लोबल छनोटमा ओडिआई मान्यताको लागि निर्णायक खेलमा रोहितले हङकङविरुद्ध प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । नेपालले ओडिआई मान्यता पाउन हङकङलाई जित्नै पर्ने थियो । उता अफगानिस्तान हङकङकसँग डकवर्थ लेविस पद्धतिको आधारमा ३० रनले पराजित भएपछि समूह बी को तालिका रोमान्चक बनेको थियो । अफगानिस्तानलाई अघिल्लो चरणमा पुग्न नेपालले खेल जित्नै पर्ने हुन्थ्यो ।
हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २० ओभरमै नेपाल ६६–५ को संकट अवस्थामा पुगेको थियो । रोहितले छैटौं विकेटका लागि सोमपाल कामीसँग ८९ रनको अविजित साझेदारी प्ले अफमा पुर्याएका थिए । रोहित ८६ बलमा ५ चौका सहित ४८ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच बने । १६ वर्षिय रोहितको खेलबाट प्रभावित हुँदै अफगानिस्तानका तत्कालिन कप्तान अस्गर अफगानले आफूले खेल्ने ब्याट उपहार दिएका थिए । त्यसपछि नेपालले पिएनजीलाई प्ले अफमा पराजित गर्दै नेपालले ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।
नेपाली क्रिकेटमा पछिल्लो समय थुप्रै युवा प्रतिभाहरु देखिएका छन् । राष्ट्रिय टोलीमा युवा खेलाडीकोनै बाहुल्यता छ । तर युवा खेलाडीको गैर जिम्मेवार पन सर्वाधिक ठूलो चिन्ता विषय हो । रोहितमा सुरुवात देखिनै जिम्मेवारी ब्याटिङ गर्दै आएका छन् । उनी टोलीको आवश्यकता अनुसार आफ्नो भूमिका निर्वाह गर्ने गर्दछन् । हतपत आफ्नो विकेट गुमाउँदैनन् । दबाबमा रन जोड्न निकै सिपालु छन् ।
त्यसैले १६ वर्षको कलिलो उमेरमै परिवक्क र जिम्मेवारी प्रदर्शनले डिभिजन–२ मा नामिबियाविरुद्ध डेब्यू गरेका थिए । डेब्यू खेलमै उनले १७ रन जोड्दै नेपाललाई एक विकेटको महत्वपूर्ण जित दिलाउन सहयोग गरेका थिए । त्यसपछि रोहित नेपाली टोलीको पहिलो रोजाईमानै खेले । नेदरल्यान्ड्सविरुद्ध दोस्रो ओडिआई खेलमा रोहितले डेब्यू गरेका थिए ।
रोहितले २०१९ को मा युएईसँग तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए । १६ वर्ष १ सय ४६ दिनमा ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बन्दै विश्व क्रिकेटमा राम्रो चर्चा कमाएका थिए । रोहितले पाकिस्तानका चर्चित ब्याट्सम्यान शाहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकर जस्ता ब्याट्सम्यानको कीर्तिमान तोडेका थिए । उक्त कीर्तिमान गतवर्ष कुशल मल्लले अमेरिकाविरुद्ध १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाउँदै तोडिसकेका छन् ।
रोहितको यू१९ ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदाएका युवा स्टार हुन् । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा पर्दा तत्कालिन यू१९ प्रशिक्षक विनोद दासले २०१६ मा ट्यालेन्ट हन्टमार्फत टोली निर्माण गरेका थिए । रोहितको पछिल्लो समय खेल्ने शैलीमा केहि परिवर्तन देख्न सकिन्छ । सुरुवातमा रोहित आक्रामक ब्याटिङका लागि निकै चर्चित युवा स्टार थिए ।
सन् २०१६ को यू१९ एसिया कपमा भारतविरुद्ध रोहितले ९३ बलमा ७ चौका र २ छक्का सहित ६६ रनको अविजित इनिङ खेल्दै सबैको ध्यानआफू तिर केन्द्रित गरेका थिए । तीव्र गतिका बलर कमलेश नगरकोटीलाई अन्तिम ओभरमा ३ चौका र २ छक्का सहित एकै ओभरमा २४ रन जोडेपछि उनको चर्चा नेपाली क्रिकेटमा चुलिएको थियो ।
रोहितले सन् २०१७ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैहरवा ग्ल्याडियटर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शनका साथ सिनियर टोलीमा स्थान बनाएका थिए । लिग खेलमा ललितपुरविरुद्ध भैरहवालाई अन्तिम १२ बलमा जितको लागि २९ रन चाहिँएको थियो । १५ वर्षिय रोहितले नेपाली क्रिकेटका चर्चित तीव्र गतिका बलर महबुब आलमलाई १९ औं ओभरमा तीन चौका र १ छक्का सहित १९ रन जोडेपछि टोलीको जित र सिनियर टोलीको ढोका सहज बनेको थियो । सन् २०१९ को क्वालिफायरमा ललितपुर प्याट्रियटर्सलाई पराजित गर्न रोहितले १७ बलमा १ चौका र २ छक्का सहित २८ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।
रोहितलाई ओमान भ्रमणमा राम्रो अवसर छ । सुरुवाती दुई खेलको प्रदर्शनले विश्वकप लिग २ मा अमेरिका र ओमानविरुद्ध पनि पहिलो रोजाईमा खेल्ने लगभग निश्चित छ । जुन पाएको मौकामा रोहित चुक्नु हुँदैन । अर्कोतर्फ रोहित नेपाली क्रिकेटका भविष्य हुन् । एक गल्तीको कारण कुनैपनि खेलाडीलाई टोलीमा हटाउने हतार गर्नु हुँदैन । नेपाली क्रिकेटमा ब्याटिङ सुधार गर्ने हो भने रोहित जस्ता भविष्य मानिएका खेलाडीमाथि धैर्यता र विश्वास देखाउन निकै आवश्यक देखिन्छ ।