भदौ २८,कञ्चन ।
शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको शतकसँगै अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो ।
अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । पटेल अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले १ सय १३ बलमा ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । विक्रम सोबको ४७ औं ओभरको पहिलो बलमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।
शतक प्रहार गरेको अर्को बलमा ठूलो सट खेल्नेक्रममा कुशल भुर्तेलबाट लङअफमा क्याच आउट हुन पुगेका थिए । यसै साता पिएनजीविरुद्ध १ सय ७३ रनको इनिङ खेल्दै जसकरण मल्होत्रा अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।
मोनांक पटेल बाहेक अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई ओपनर स्टिभ टेलर र मोडानीले पहिलो विकेटका लागि ३.५ ओभरमा १७ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर विक्रम सोबको बलमा टेलर एज लागेर सकेन्ड स्लिपमा कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट हुन पुगेका थिए । टेलरले १७ बलमा १ चौका प्रहार गरे ।
१० औं ओभरको अन्तिम बलमा मोडानीलाई स्पिनर सन्दीप लामिछानेले १६ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । मोडानीले २८ बलमा १ चौका प्रहार गरे । तेस्रो विकेटको लागि मोनांक पटेल र निसर्ग पटेलले ४९ रनको साझेदारी गर्दैै इनिङ खेलेका थिए । स्पिनर कुशल मल्लले निसर्गलाई २१ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । अमेरिकाले नेपाललाई सरप्राइज दिँदै तल्लोक्रमका ब्याट्सम्यान नास्टुश केंजोगेलाई पाँचौ नम्बरमा पठाएको थियो । उनी १३ रनमा आउट भए ।
३७ औं ओभरको दोस्रो बलमा स्पिनर सुशान भारीले जसकरण मल्होत्रालाई ११ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । मल्होत्राले यसै साता पपुवा न्युगिनीविरुद्ध ६ बलमा ६ छक्का सहित १ सय ७३ रनको अविजित उत्कृष्ट शतकीय इनिङका साथ विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए ।
भारीकै बलमा ठूलो सर्ट खेल्ने धुनमा सन्जय कृष्णमुर्ती १३ रनमा करण केसीबाट क्याच आउट भएका थिए । करिमा गोरलाई सन्दीपले १६ रनमा रन आउट गराए । अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रवालकार ६ रनमा अविजित रहे ।
नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।