२७ भदौ, बुटवल/बाबुराम आचार्य
राष्ट्रिय जनमोर्चा प्रदेश नम्वर २ ले विद्रोह गरेको छ । सुदुरपश्चिम प्रदेशबाट सुरु भएको विद्रोह प्रदेश २ मा पनि देखिएको हो । जनमोर्चा प्रदेश नम्बर २ को आइतवार वारामा सम्पन्न भेलाले नयाँ प्रदेश समिति पुनर्गठन गरेर विद्रोह सुरु गरेको छ । भेलाले कर्ण थापाको नेतृत्वमा १३ सदस्यीय प्रदेश नम्बर २ को कार्यकारी समिति र २५ सदस्यीय प्रदेश परिषद गठन गरेको छ ।
नव गठित समिति पार्टी केन्द्रबाट तोकिएका व्यक्तिहरुको समिति नभएको र समानान्तर समिति समेत नभई प्रदेशका कार्यकर्ता र नेताहरुको भेलाबाट पुनर्गठन गरिएको नवगठित समितिका अध्यक्ष थापाले जनाकारी दिए । प्रदेश २ का अधिकांश जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेकाले समिति आधिकारिक र बैधानिक रहेको उनको दावी छ ।
प्रदेश भेलाको उद्घाटन गर्दै राजमोका केन्द्रिय सदस्य चिन्तामणी पौडेलले पार्टीले दक्षिणपन्थी लाइन लिएकाले प्रदेश तथा जिल्लाहरुले विद्रोह सुरु गरेको बताए । उनले राजमो केन्द्रिय कार्यालयले मनोमानी ढंगले कार्यालयमा बसेर बनाइएको समिति अबैधानिक भएकोहुँदा समितिको पुनर्गठन गर्नुपरेको बताए ।
पार्टीलाई क्रान्तिकारी दिशाबाट दक्षिणपंथी विसर्जनवाद तर्फ लैजान उद्दत रहेकोे भन्दै प्रदेश २ ले विद्रोह गरेको जनाएको छ । आमजनतामा राजमोको स्थिति कम्जोर हुँदै गएका, पार्टी नेतृत्वको अधिनायकवाद र स्वेच्छाचारीताका कारण संगठन अस्तव्यस्त भएकाले पूनर्गठन गर्नुपर्ने बाध्यता आईलागेको हुँदा विधानले दिएको व्यवस्था अनुसार भेलाबाट पुनर्गठन गरिएको अध्यक्ष थापाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
‘राष्ट्रय जनमोर्चाको नीति निरन्तर दक्षिणपन्थी बन्दैगएको र यो नीतिको आधारमा केन्द्रिय नेतृत्वले दक्षिणपंथी नीतिहरु कार्यान्वयन गर्दै कांग्रेस परस्त हुँदै गएको छ,’ भेला पछि जारी विज्ञप्तीमा भनिएको छ, ‘हामीले केन्द्रिय नेतृत्वलाई आप्mना नीति सच्याउनकोलागि बारम्बार अनुरोध गर्दा पार्टी नेतृत्वले वेवास्ता गरेको हुँदा यो पुनर्गठन गर्न आवश्यक परेको हो ।’ लामो समय देखि वामपंथी राजनीति बोकेको पार्टीको पहिचान ध्वस्त पार्न पार्टी नेतृत्व लागि परेकाले दक्षिणपंथी संशोधनवादी प्रवृति विरुद्धको कदम भएको विज्ञप्तीमा भनिएको छ ।
जनमोर्चाको भेलाले वारा, पर्सा, रौतहट लगाएतका जिल्लाहरुमा जिल्ला भेला गर्ने निर्णय समेत गरेको छ । भेलाले २०७७ चैत्र २४, २५ र २६ गतेको राष्ट्रिय सम्मेलनले पारित गरेको विधान अनुसार प्रदेश समितिको गठन भेला÷सम्मेलनबाट निर्वाचन गर्नुपर्ने र उक्त समिति कार्यकारी अधिकार सहितको हुने ठहर गरेको छ । भेलाले पार्टी नेतृत्व आत्म सुरक्षाबाट ग्रसित भएर तराईमा संगठन गर्ने कार्यलाई उपेक्षा गर्दै आएको ठहर गरेको छ । पार्टी भित्रका क्रान्तिकारी वामपंथी विचार राख्नेहरुलाई कार्यवाही गर्दै आएको, जिम्मेवार कामरेडहरुलाई घटुवा गर्ने, जिम्मेवार विहीन बनाउने, झुट्टा आरोपहरु लगाउने कृयाकलाप तिव्र बनाउदै शत्रुतापूर्ण व्यवहार गरेको ठहर गरेको छ ।
त्यस्तै भेलाले भिन्नमत राख्नेहरुलाई “घुसपैठीया”, “दुश्मनका एजेन्ट”, “रअ” बाट संन्चालित, “सीआईडी” बताउने गरिएको मा खेद प्रकट गरेको छ । पार्टी केन्द्रले निर्वाचित विभिन्न क्षेत्र, जिल्ला र समितिहरुलाई विनाकारण विघटन गर्र्नु विधान विपरित भएको भेलाले निष्कर्ष निकालेको छ । त्यस्तै एम.सि.सि.जस्तो राष्ट्रघाती सम्झौतालाई पारित गर्न विगत कैयौं वर्ष देखि आतुर रहेको कुरा जान्दाजान्दै नेपाली काँगे्रसलाई समर्थन र उसको गठबन्धनमा बसेको विषयमा पार्टी नेतृत्वले ठोस जवाफ दिन नसकेको समेत विज्ञप्तीमा भनिएको छ ।
यसैविच थापाको नेतृत्वमा गठन गरिएको प्रदेश नम्बर २ को समितिमा उपाध्यक्ष खगेश्वर पौडेल–पर्सा, सचिव चिन्तामणी पौडेल–पर्सा, कोषाध्यक्ष दिपक चौधरी–वारा, सहसचिव टीका थापा–वारा, सदस्यहरुमा तपसी चौधरी–पर्सा, डिल्लीराम पौडेल–पर्सा, केदार प्याकुरेल–वारा, हरिकीशोर महतो–रौतहट, निर्मला थापा–वारा, जयनारायण पासवान–पर्सा चयन भएका छन् । प्रदेश समितिका सदस्यहरु सहित परिषद सदस्यहरुमा महेश थपलिया–वारा, रामबाबु शाह–वारा, ज्ञनु शाह–वारा, राधा थापा–वारा, अलिम मियाँ–पर्सा, राजकुमार चौधरी–पर्सा, प्रेम भण्डारी–वारा, राजाराम कार्की–सर्लाही, राधाकृष्ण बुढाथोकी–महोत्तरी, बालकृष्ण दनुवार–धनुषा, केशव पौडेल– वारा र सुजित झा–वारा चयन भएका छन् ।