माधव अधिकारी,पाल्पा
हाम्रो जीवनमा खास छाप छोड्नेहरु कमै हुन्छन् । चाहे त्यो साथि होस्, छिमेकी होस्, शिक्षक होस् वा कुनै कलाकार । कलाकारको कुरा गर्दा इरफान खानलाई बिर्सनु सिङ्गो कलाकारिताको अपमान हुन जान्छ । हो जीन्दगी चलिरहन्छ, मानिसहरु आउजाउ गरिरहन्छन् । तर कोही यस्ता मानिसहरु पनि हुन्छन, जसको अभाव कसैले पुर्ति गर्न सक्दैन । इरफान खानको भौतिक शरिर यस्तै अभाव खड्काएर सधैँका लागि अलप भयो । भिटिझ्याम्टा बोकेर दिल्ली गएको मानिस आज बलिउड उद्योगलाई गतिलो पाठ सिकाएर खाली हात जमिनमा विलिन भयो । आफ्नो कलाको विरासत सबैका लागि छोडेर । जब एउटा राम्रो कलाकार जान्छ, तब उसको अभिनयको बेजोडपनाले अति रुवाउँछ, पछ्याउँछ ।
आजभन्दा करिब २६ बर्षअघि दुरदर्शन टेलिभिजनमा ‘चाणक्य’ साथै ‘भारत एक खोज‘ जस्तो ऐतिहासिक र ‘किरदार’ जस्तो जीवन्त कार्यक्रमहरु प्रसारण हँुदा म यो धर्तीमा पदार्पण गरेको पनि थिइन । अर्थात मभन्दा जेठोे उनको कलाकारिताको उमेर छ । उनको कलालाई कहिलेबाट हेर्न थालेँ अहिले भन्न सक्दिन । तर, जब उनका विगतका कामहरुलाई नियालेँ, तब त्यसले ममा नमेटिने छाप छोड्यो । भारतीय र दक्षिण भारतीय मसलादार, कापोकल्पित र ‘लार्जर देन लाइफ’ सिनेमाबाट जीवन्त सिनेमा हेर्न रुची जागृत गराउनेमा उनको श्रेय प्रथम श्रेणीमा पर्छ । कलाको शक्ति नै त्यस्तै हुँदौ रहेछ । हजारौ मिल टाढा भएकालाई पनि यसले प्रभाव पार्दो रहेछ । त्यसैले त मुम्बईमा बसेर काम गरिरहेका इरफानको कलाले मध्य नेपालको गाउँमा बस्ने यो साधारण ठिटोलाई प्रभाव पा¥यो र श्रव्यदृश्यको माध्यमबाट आफ्ना भावनाहरुलाई केलाउने र अरुका भावनाहरुलाई बुझ्ने अवसर, जोडदार अवसर प्रदान ग¥यो ।
जसरी यस पंक्तिकार पाठकले आमा उपन्यासमा आमाले कतिखेर क्रान्तिकारी विचारलाई आत्मसात गरिन भन्ने भेउ पाउन सकेन त्यसैगरि यस पंक्तिकार दर्शकले आफुमा इरफानको प्रभाव कतिखेर प¥यो पत्तो पाएन । तर ऊ भारतमा बस्ने, जुन थरले मुसलमान कहलिन्छ, कलाकारको मृत्युमा आँखालाई भिजाउन बाध्य हुनेगरि प्रभावित भएको रैछ । उनको मृत्युमा मन अनायासै अमिलो हुनेगरि प्रभावित भएकाके रैछ ।
राम्रा सिनेमाहरुको चर्चा आजकालको व्यवसायिकताले जेलेको बजारमा कमै हुने गर्छ । तसर्थ उनी अभिनित चलचित्रहरु सिनेमा हलमा प्रसारण गर्न धेरैजसो हलधनि हिच्काउँछन् । यस्तो बजारिया प्रभावको कारणले उनका सिनेमाहरु हलमा हेर्ने साइत जुरेन । त्यस्ता सिनेमाहरु हातमा झटपट पदैनन् पनि । किनकी उनका सिनेमामा व्यवसायिकता कम र जीवन्तता खाँदिएको हुन्छ । उनको ‘पान सिङ तोमर’ नामका चलचित्र पनि धेरै पछि हेर्ने अवसर जु¥यो । भारतिय फिल्मी टेलिभिजन च्यानलमार्फत । तर बिच–बिचमा सित्तैमा पाइने बेतुकका विज्ञापनहरुले पात्रको मनोविज्ञानलाई राम्रोसँग बुझ्ने कोसिसमा जहिल्यै भाँजो हाल्थे । समयको, समयको सत्यानाश । बसिबियालो गर्न चाहनेहरुलाई त गजबै लाग्दो हो तर गाउँको घरायसी कामलाई पन्छाएर च्यानलमा २ घण्टाको चलचित्रलाई छेउ न टुप्पाका विज्ञापनले गर्दा ३–४ घण्टा लगाएर हेर्नुपर्दा बाउआमाको गाली बोनसमा पाइन्थ्यो । यसकारणले एकै बसाइमा फिल्म सिध्याउने सौभाग्य कहिल्यै जुरेन । कहानी प्रस्टसँग बुझ्न नपाएपनि उक्त फिल्मको एउटा संवाद धेरैलाई बन्दुुक बोकेको नक्कल गर्दै भन्दै हिडियो, “बिहड मे तो बागी होते है, डकैत तो पार्लियामेन्ट मै मिलते है ।” गाउँघरमा साथिहरु बट्याएर चोर पुलिस खेल्दा सबैको मुखमा झुण्डिने डाइलग थियो यो । गाउँबाट पढ्नका लागि सहर पसेर रातदिन लगाएर अर्काको वाइफाइ ह्याक गरिगरि इन्टरनेटको पहुँचमा पुगेपछि इरफानका भेटिएसम्मका अभिनयको अन्तरकुन्तरमा पुगियो । त्यसपछि मलाई पनि इरफानको कलाले खास्सा ‘फ्यान’ बनायो ।
अनि यो इरफानी खास्सा फ्यान उनको जीवनको विगत नियाल्न पुग्यो । त्यसपछि सुरु भयो मदारी, तलवार, पिकु, लाइफ अफ पाइ, द लन्चबक्स, डि–डे, बिल्लु, स्लम डग मिलिनेयर, सन्डे, एक डाक्टर कि मौत, सलाम बम्बे लगायतका चलचित्र हेर्ने सिलासिला । उनले टेलिभिजनमा पनि धेरै काम गरेका रहेछन्, तिनीपनि भेटेसम्म हेरियो । भारतिय चर्चित लेखक, निर्देशक गुलजारको किरदार श्रृङखलाका ‘हिसाब किताब’ र ‘खुदा हफिज’ जस्ता लघुनाटकले उनको प्रारम्भिक कामलाई प्रस्ट्याए । त्यस्तै फिल्मीजगतमा उनको अभिनय साथै फिल्म चयनको कलाले उनले मजस्ता करोडौँलाई कायल पारे ।
दर्शकलाई उनको सबैभन्दा मनपर्ने कुरा उनको अभिनय शैली हो । उनको काम हेर्दा उनले कुनैपनि ठाउँमा अभिनय गरेका भान हुदैन । हरेक कहानीलाई जीवन्त बनाउन सक्ने उनको अकाट्य विशेषता हो । उनको आंगिक अभिनय कलाले पनि सबैलाई मन्त्रमुग्घ पार्छ । कतिपय समिक्षहरुले भन्छन्, इरफानले ४० प्रतिशत अभिनय त आफ्नो आँखाबाटै गर्छन । तर हामीलाई त सानोमा उनको आँखा हेर्दा डर लाग्थ्यो । त्यसैले साथिहरु जम्मा भइ खेल्दा “त्यो ‘बलढ्याङग्र आँखे हिरो’ को डाइलग के हो रे ?” भन्दै एक अर्कालाई सोध्थ्यौँ । खैर, सायद यसैकारणले पनि दर्शकहरुले उनले भन्न चाहेको कुरा सजिलै बुझ्छन् र उनीद्धारा अभिनित पात्रसँग अनायासै जोडिन्छन् । फिल्म नभ्याइँदासम्म पात्रको जीवन जीउन बाध्य हुन्छन् ।
उनले हिन्दी च्यानल र बलिउड सिनेमामा मात्र काम गरेनन । उनले त तेलुगु भाषा (टलिउड) को सैनिकुडु (अब हमसे ना टकराना) जस्ता फिल्ममा पनि आफ्नो अभिनयको जादु छरे । त्यस्तै दर्जनौँ हलिउड फिल्म तथा केही श्रृङखलाहरुमा काम गरेर हलिउडमा अन्य बलिउडी कलाकारहरुको मार्गप्रशस्त गरे । उनले आर्थिक अभावको कारण ‘जुरासिक पार्क’ सिनेमाघरमा हेर्न नपाएको भनि एक अन्तरवार्तामा भनेका थिए । तर त्यसैको पछिल्लो संस्करण ‘जुरासिक वल्र्ड’ मा अभिनय गरेर सबैलाई चकित पारे ।
इरफान सामाजिक विषयहरुमा निर्धक्क भइ बोल्ने कलाकार हुन् । बलिउडमा कलाकारहरु यसरी कमै मात्र बोल्छन् । मै हुम भन्ने खान, बच्चनहरुपनि सामाजिक–राजनीतिक मुद्दामा बोल्न भनेपछि मुख बाँध्छन् । इरफानले भने हरेक नकारात्मक कुराको आलोचना गर्नुपर्ने दरो तर्क दिन्थे । उनको सशक्त सामाजिक–राजनीतिक फिल्म ‘मदारी’ को प्रचारप्रसारको क्रममा उनले इस्लाम धर्ममा हुने हिँसाको विरोध गरे । उनले भने – तपाईहरुले कुर्बानीको नाममा बजारबाट केही पैसा खर्च गरी बाख्रा किनेर ल्याएर त्यसको हत्या गर्नुहुन्छ, त्यसबाट कुन अल्लाह खुशी हुन्छ ? कति खुशी हुन्छ ? उनको यस बयानपछि धेरैजसो भारतिय च्यानलका चटके उद्घोषकहरुले उनलाई त्यहाँका कथित धर्मका रक्षकहरुसँग भिडाउने कोसिस गरे । यसरी तिनीहरुले हामीलाई उनको व्यक्तिगत विचारबाट पनि परिचित गराउने सुअवसर प्रदान गरे ।
तर इरफानका कतिपय कामले उनका फ्यानलाई नमज्जा पनि दिन्छ । यो नमज्जा उनको अभिनयले होइन । उनले जुन अभिनय गरेपनि त्यसमा जीवन्तता भरिदिनेमा दुईमत छैन । यो नमज्जा दिन्छन उनको कतिपय फिल्म छनोटले । हुन त उनी स्वयंले नै आर्थिक जोहो गर्न त्यस्तो काम गरेको तर्क दिन्थे । तर पनि यस्तो छनोटले उनको व्यक्तित्वको उचाइलाई केही खस्काउँछ ।
पद्य्म श्रीले सम्मान गरिएका उनलाई ‘पान सिङ तोमर’ फिल्मले नेशनल अवार्ड दिलायो । त्यस्तै अन्य विभिन्न फिल्महरुले उनलाई दर्जनौँ अवार्ड थमाए । भारतिय सिनेमामा मुख्य धारलाई छोडेर फरक धारबाट अभिनय गरि त्यहाँका ठुलाबडा अभिनेताहरुलाई लोभ्याउने कलाकार हुन इरफान । तर उनको यस कलाले समग्र सिने जगतलाई महत्वपूर्ण पाठ सिकायो । धेरै मानिसहरुलाई सिनेमाको सहि अर्थ सिकायो । धेरैको सिनेमाप्रतिको दृष्टीकोण बदल्यो । बलिउडका मै हुम भन्ने कलाकारले पनि उनको कामको प्रशसा नगरिरहन सकेनन् ।
उनको अनवरत लगन र कलाको लगावले उनलाई सफलता चुमायो । कताकति दुःख लाग्छ, बलिउडी मुख्य धारले इरफानको कलाको दोहन गर्न सकेन, उपयोग गर्न सकेन । त्यसैकारणले पनि उनी हलिउडका चलचित्रहरुमा आकृष्ट भएको हुनसक्छ । अब बलिउडका ठुलाबडा लेखक, निर्देशकहरुले उनी छिट्टै अस्ताए, अझै काम गर्नुपथ्र्यो भन्नुको कुनै तुक छैन । उनको अभिनय जीवन उत्कर्षमा पुग्दै गर्दा उनको भौतिक शरिर धरासायी भयो । चलचित्रलाई आम मानिसहरुको जीवनसँग जोड्ने खुबी भएका तिनै इरफान अल्पायुमै धर्ती छोडेर जान बाध्य भए । भनिन्छ, मानिसको जीवन लामो होइन, ठुलो हुनुपर्छ । यसै भनाइलाई चरितार्थ गर्न उनी अलिकति पनि चुकेनन् ।
विश्वभर कोरोना भाइरसको बन्दाबन्दीको कारणले सबैजना घरभित्रै थुनिएका छन् । तर इरफानका आत्मा भने कहिल्यै शरिरमा नफर्किने गरेर सयर गर्न निस्केको छ । चारदिन अघिमात्र आफ्नी ममतामयी आमाको निधनको दुखद खबर सुनेका थिए इरफानले । बन्दाबन्दीको कारणले उनको अन्तिम विदाई भिडियो कलमार्फत गरेर मनमा तितो सँगालेका इरफानको मन सधैँको लागि मुक्त भएको छ । उनको अन्तिम सँस्कारमा जान नपाउनुले उनका प्रशंसकहरुमा अझै पिर बढाएको छ । उनले संसारबाट बिदा लिएपनि आफ्नो पछाडि महान विरासत छोडेर गएका छन् । हाम्रो समयका प्रभावशाली कलाकार इरफान खानलाई भावपूर्ण श्रद्धान्जली ।