माधव अधिकारी,पाल्पा
कोरोना अर्थात कोभिड–१९ बाट हेर्दाहेर्दै दुनियाँ भरमा संक्रमितहरुको संख्या छब्बिस लाख र मर्नेहरुको संख्या १ लाख असी हजार नाघेको छ । यीमध्ये एक लाख भन्दा धेरै मानिसहरु युरोपका छन् । यसकारण युरोपका देशहरुबाट कोभिड–१९ को संक्रमण चीनको कारणले फैलिएको हो भन्ने तथ्यहीन आवाज आउन थालेको छ । विभिन्न घोषित, अघोषित संस्थाहरुले यसप्रकारका झुटा खबरहरु फैलाइरहेका छन् र आफ्नो अज्ञानता दर्शाइरहेका छन् । जर्मनीकी चान्सलर एन्जेला मर्केलले चीनको भुमिकाको बारेमा केही पनि भनेकी छैनन् । तर, त्यहाँ झुटको खेती गर्ने पत्रिकाले जर्मनीलाई १५ लाख करोडभन्दा धेरैको नोक्सान भएको र त्यसको भर्पाइ चीनले गर्नुपर्ने एउटा खबर छाप्यो । त्यसले आफ्नो तर्फबाट जोड–घटाउ पनि ग¥र्यो । अब यस्ता समाचारहरुलाई के संज्ञा दिने ? नेपालमा पनि यस्तै खबरहरु भेटिएमा बुझ्नुहोला यससमय खबरको अनिकाल छ । त्यससँगै सरकारको जवाफदेहीताको सामुन्ने पर्दा लगाउन यस्ता मनगढन्ते समाचारहरुलाई अगाडी ल्याइएको हो । यही सोचमा चीनलाई एउटा नयाँ दुश्मन बनाइएको छ र आफ्नो गल्तीलाई चोख्याइदै छ । धेरै देशहरु चीनलाई आरोप लगाउदै बोलेका छन् ।
भाइरस कसरी शुरु भयो र फैलियो यसको जाँचको लागि अन्तरराष्ट्रीय टिमको गठन होस्, यस मामिलामा स्वतन्त्र समिक्षा होस् भनि अस्ट्रलियाकी विदेशमन्त्रीले भनिन् । अमेरिकी राष्ट्रपति यो पंक्तीमा सबैभन्दा अगाडी हुने नै भए । उनी त यस्ता बकवासमा विद्यावारिधी गरेरै राजनीतिमा सफलता हासिल गरेका मान्छे परे । उनले पनि चीनसँग सम्बन्धित यस खबरमा हावा भर्ने काम गरे र गरिरहेका छन् । आफुले भनेजस्तो नगरेको झोँकमा ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको फंडिंगमा रोक लगाए । पहिला उनले कोभिड–१९ लाई उहान वा चाइना भाइरस भन्ने गर्थे, तर आजभोली भन्न छोडेका छन् । वासिंटन पोष्टको खबरअनुसार जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा अमेरिकाको सि.डि.सि (सेन्टर फर डिजिज कन्ट्रोल) का दर्जनौँ वैज्ञानिक, रिसर्चर, डाक्टरहरुले कोभिड–१९ माथि रिसर्च गरिरहेका थिए र ट्रम्पलाई तुरुन्ता तुरुन्तै जानकारी दिइरहेका थिए । त्यति हुँदाहँदै पनि ट्रम्पले यसलाइै चानुचुने ठानेर मजाक उडाइरहेका थिए । उता जापानका उप प्रधानमन्त्री तारो आसोले विश्व स्वास्थ्य संगठनको नाम बदलेर चिनिया स्वास्थ्य संगठन बनाउनुपर्छ भनेर चीनमाथि विषवमन गरे । विश्व स्वास्थ्य संगठनले महामारीको आँकलन सही रुपमा नगरेको उनको तर्क छ । जापानले चीनमा रहेका आफ्ना कम्पनीका विभिन्न फ्याक्ट्रीहरुलाई त्यहाँबाट हटाउन २ अरब डलरभन्दा धेरैको प्याकेज घोषणा गरेको छ ।
चीनका विदेशमन्त्रालयका प्रवक्ताले पनि यी देशहरुलाई गतिलो जवाफ दिएका छन् । २० अप्रिलको आफ्नो बयानमा उनले भनेका थिए– २००९ मा ल्ज्ञज्ज्ञ फ्लु अमेरिकाबाट दुनियाँका २१४ देशमा फैलियो र यसबाट विश्वभरिमा २ लाख मानिसहरु मरेका थिए, के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? एड्स अमेरिकाबाट दुनियाँमा फैलियो के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? २००८ मा लेहमन ब्रदर्शहरु बर्बाद भएको कारणले आर्थिक मन्दी आयो, त्यसको चपेटामा परि सारा विश्वले आर्थिक क्षति बेहो¥यो , के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? कसैले नाई ।
चीनको पक्षमा यस्ता धेरै कुराहरु छन् जसलाई यस विवादको सन्दर्भमा हामीले ध्यान दिनुपर्छ । जस्तै ३१ डिसेम्बर २०१९ मा नै चीनले तीब्र गतिमा फैलिरहेको कुनै विषाणु छ, र महामारी बन्ने खतरा छ भनि विश्व स्वास्थ्य संगठनलाई भनेको थियो । ८ जनवरी २०२० मा चिनिया अखबार पिपुल्स डेलीले नयाँ भाइरस आएको र त्यो एकदमै खतरनाक भएको समाचार छाप्यो । १९ जनवरीमा वुहानमा बन्दाबन्दी गरियो । दुनियाँभरका धेरैजसो अखबार र टि.भि च्यानलहरुमा वुहानको समाचार लेखिएको थियो, देखाइएको थियो ।
२४ जनवरीमा विश्वकै सबैभन्दा प्रतिष्ठित दुईवटा मेडिकल जर्नल, (लांसेट र न्यू इंग्ल्याण्ड मेडिकल जर्नल) मा चीनका वैज्ञानिकहरु र डाक्टरहरुको एउटा रिसर्च पेपर छापियो । यस रिसर्च पेपरमा रोगी र लक्षणहरुको व्यापक जानकारी थियो । भाइरसमा के–के कुराहरु पुराना भाइरसहरुसँग मिल्दाजुल्दा छन् त्यसको पनि जानकारी खुलस्त दिइएको थियो । के दुनियाँभरका सरकारका मेडिकल एडभाइजरहरुलाई लांसेट र न्यू इंग्ल्याण्ड मेडिकल जर्नलमा छापिएको चीनका वैज्ञानिकहरुको लेखको कुनै खबर थिएन ? त्यसोभा तिनी के कामका सल्लाकारहरु ? जब ब्रिटेनको हालत बिग्रिदै गयो तब मार्चको महिनामा मेडिकल जर्नल लांसेटका सम्पादक रिचर्ड हर्टनले गार्डियन अखबारमा क्रोधित हुँदै दुनियाँले चीनका वैज्ञानिकहरुको आभारी हुनुपर्छ भनि अर्थपूर्ण लेख लेखे । उनले अगाडी लेखे– उनीहरुले महामारीजस्तो खतरनाक स्थितिमा पनि आफ्नो समय निकालेर विदेशी भाषामा रिसर्च पेपर लेखेर छाप्नको लागि हजारौँ मिल टाढा पठाए, ताकि दुनियाँका वैज्ञानिकहरुलाई थाहा होस र पूर्वसतर्कता अपनाइयोस् । यसपछि पनि दुनियाँका सरकार कानमा तेल हालेर सुतिरहे । अनि चीनलाई गाली किन ?
जब इटालीबाट पनि रोगले आतंक मच्चाइरहेको खबर आउन थालेको थियो, तब त्यहाँका वैज्ञानिकहरुले पनि खतराको जानकारी दिन शुरु गरेका थिए । २९ जनवरीमा ट्रम्पका व्यापारिक सल्लाहकारले कोरोनाको कारणले लाखौँ मानिसहरुको जनधनको क्षति हुन सक्छन् भनि सार्वजनिक रुपमै बोलेकै थिए । यता अमेरिकी राष्ट्रपति फेब्रुअरीमा भारतको अहमदाबादमा थिए, तर उनको भाषण वा हाउभाउमा कोभिड–१९ को खतरालाई लिएर कुनै सतर्कता थिएन । के उनका व्यापारिक सल्लाहकारले बुझेको कुरा उनले बुझ्न सकेका थिएनन् ? फेब्रुअरीमा ह्वाइट हाउसका प्रवक्ताले भाइरसको कारण अमेरिकालाई कुनै हानी नहुने बताएका थिए । यो त लापरवाहीको पराकाष्टा थियो । घमण्डले पनि घमण्ड गर्न छोड्ने घमण्ड थियो । घमण्ड कोरोनाबाट पराजित भएर जब उनीहरुले आफ्नो सही अवस्थालाई नियाले, तब उनीहरुको दोषारोपणको नाङ्गो नाच शुरु भयो । अब नाच्नेलाई भन्दा हेर्नेलाई लाज हुदैछ । जब अर्थव्यवस्था तहसनहस भएर करोडौँ मानिसहरुको भोकमरी र बेरोजगारीको सीमा नाघ्यो, करिब पौने दुई लाख भन्दा धेरै मृत्युको मुखमा पुगिसके, तब बल्ल आएर तिनको घैँटामा घाम लागेको छ । अब बल्ल आएर सरकारहरु सचेत भएका छन् । तर यिनीहरुको दिमागमा घाम कहिले लाग्ने हो, अत्तोपत्तो छैन् ।
अब उनीहरुलाई अर्को समस्याको सामना गर्दा दाँतबाट पसिना आउने डर छ । त्यो हो जनताको प्रश्नका सामना गर्नुपर्ने समस्या । उनीहरुलाई जनताले जनवरी, फेब्रुअरी र आधा मार्चसम्म के गरिरहेका थियौ भनी सोध्लान भन्ने डर छ । यसै जवाफदेहीका सवालहरुबाट उम्किनका लागि धेरैजसो देशहरुको साझा दुश्मन अचानक, अनायास चीन बनेको छ । तर फरकफरक देशका फरफरक दुश्मन पनि छन् कतै श्वेत दुश्मन छन् त कतै अश्वेत दुश्मन छन्, कतै हिन्दु दुश्मन छन् त कतै मुसलमान दुश्मन छन्, तिनका स्वघोषित दुश्मनहरुको एउटा मात्रै काम हो, उनीहरुलाई जवाफदेहीको सवाललाई पन्छाउन भरसक मद्दत गर्ने ।
कोरोना भाइरसलाई आधार बनाएर चीनलाई हमला गरिरहेका अमेरिकी ट्रम्प र युरोपका केही नेताका बयानलाई मात्र एक आधारमा बुझ्न सकिन्छ । महामारीको विरुद्ध लड्नमा जुन उनीहरुको असफलता दुनियाँको सामुन्ने आएको छ, आफ्ना जनताहरुको सामुन्ने आएको छ, त्यसलाई लुकाउनको लागि चीनलाई कठघरामा उभ्याउने । यसरी उनीहरुले आफैमाथि सुनपानी छर्किन चाहन्छन् । आफ्नो कुकर्मलाई चोख्याउन चाहन्छन् ।
एकै छिनलाई मानौँ कोरोनाको जानकारी दिन चीनले बिलम्ब ग¥यो । त्यसोभा, जब जानकारी भयो, त्यसपछि तयारी कस्तो गरे ? यसको जवाफ कसले दिन्छ ? उनका जनताले यसको जवाफ त माग्नेछन्, त्यही भएर उनीहरुले एउटा बलिको बोको खोजीरहेका छन् । यो बलिको बोका विश्व स्वास्थ्य संगठन हुनसक्छ वा यो बलिको बोका चीन हुनुसक्छ । र अब जब यो महामारी फैलिइसकेको छ र यसलाई रोक्नको लागि बन्दाबन्दी, क्वारेन्टिन, भौतिक दुरी यस्ता उपायहरु अपनाइएको छ, यी उपायलाई ट्रम्पले स्वयं किन स्वीकारिरहेका छैनन् ? उनले त ट्वीट गरि–गरि लकडाउनको आदेश पालना गर्नुपर्दैन भनि ज्ञान बाडिरहेका छन् । जुन ज्ञानले उनैलाई अज्ञानी भनेर उपहास गरिरहेको छ । यसको मतलब यही हुन्छ, जब उनलाई समस्याको जानकारी थियो, उनले तयारी गरेनन्, जब तयारी गर्न खोजे ढिला भैसकेको थियो र महामारीले नाकको भरमा पछा¥यो । सँगसँगै असफलताको तीतो स्वाद पनि चटायो । त्यही तितो स्वाद उनको जिब्रोमा बसेको छ, दिमागमा पुगेको छ । अब गरुन पनि के ? अमेरिकी राष्ट्रपतिले त अझै अब हुनैलागेको चुनावी मैदानमा पनि जवाफ दिनपर्छ । चीनसँग त यिनीहरुको धक्कामुक्का पहिलेदेखी नै छ, त्यसैको फाइदा उठाएर आफ्नो साख जोगाउने ट्रम्पको असफल प्रयासले उनलाई झन गहिरो खाल्टोमा फसाउने पक्का देखिन्छ ।